s

रोजगारीकै चिन्ता

गाउँमा चुनावको चहलपहल निकै बढेको छ । राजनीतिक दलका नेता कार्यकर्ता मत माग्दै दिनहुँ सभासमारोह र घरदैलो गरिरहेका छन् । चुनाव नजिकिँदै गर्दा चहलपहल झनै बढेको छ । चुनावी रौनक बढे पनि मुगुको सोरु गाउँपालिका ११ धैनका रंग रोकायालाई यसले खासै छोएन । उनलाई मतदानभन्दा पनि जतिसक्दो चाँडो सिमला पुगेर काम पाउने हतारो छ ।
 
‘चुनाव हुँदासम्म यतै बसे त उता कामै नपाइने अवस्था आउँछ,’ मंगलबार गड्डाचौकी नाका हुँदै भारतको सिमला हिँडेका रंगले भने, ‘गाउँमा खेतीपातीको काम सकियो, अब खाली बसेर परिवारको गुजारा कसरी चलाउने ?’ दसैंका लागि घर आएका उनी गहुँ छर्ने र खेतीपातीको काम सकेर रोजगारीका लागि हिँडेका हुन् ।
 
रंगसँगै ८ जनाको समूह सिमलातिर लागेको हो । उनीहरूमध्ये एक/दुई जनाबाहेक सबै १८/२० वर्षभन्दा पाका छन् । तर सबैको नाम मतदाता नामावलीमा समावेश छैन । मतदाता नामावली संकलनका बेला भारतततिरै हुने भएका कारण पनि उनीहरू मतदानबाट वञ्चित हुने गरेका हुन् । ‘हामीहरूमध्ये ५ जनाको मात्रै मतदाता परिचयपत्र बनेको छ,’ धैनकै श्रीचन्द्र रोकायाले भने ।
 
घरबाट भारतका लागि हिँडदा उनीहरूलाई स्थानीय नेता कार्यकर्ताले मतदान गरेर जान आग्रह गरेका थिए । तर उनीहरूले ढिला गएपछि मजदुरीको काम पनि नपाइने हो कि भन्ने डरले स्थानीय नेता कार्यकर्ताको आग्रह नसुनेका हुन् । ‘जति नेता फेरिए पनि हाम्रो अवस्था उस्तै हो,’ रंगले भने, ‘भोट माग्न अनेक आश्वासन दिन्छन्, जितेपछि देख्नै मुस्किल हुन्छ ।’ 
 
उनले गाउँमा विकास निर्माणका काम मात्रै सुरु भए पनि रोजगारी खोज्दै भारततिर भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने बताए । गाउमै मजदुरी पाइए भारत जानेको संख्या निकै घट्ने उनले बताए । भारतमा पनि हिमाचल र उत्तराखण्डका विभिन्न ठाउँमा नेपाली कामदारले सडक खन्ने, घर निर्माण तथा होटेल र पसलमा काम गर्दै आएका छन् । ‘हाम्रो पनि बिमा र लगत राख्ने व्यवस्था भइदिए निकै राम्रो हुन्थ्यो,’ काम खोज्दै भारत पस्ने अधिकांश नेपाली कामदार भन्छन्, ‘तर यस विषयमा कसैको चासो नै छैन ।’ जोखिमपूर्ण ठाउँमा सडक निर्माणको काममा नेपालीहरू नै बढी खटिने भएकाले बेला बेला पहिरो खसेर र चट्टान खसेर धेरैले ज्यान गुमाउनुपरेको छ । कामदारको बिमासमेत नगरेरै जोखिमपूर्ण काममा लगाइने गरेका कारण मृतकका आफन्तले कुनै पनि राहत तथा क्षतिपूर्ति समेत पाउँदैनन् । गत वर्ष कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ युवाको हिमाञ्चलमै सडक खन्ने क्रममा चट्टान खसेर मृत्यु भएको थियो । 
 
Published on: 15 November 2017 | Kantipur

Back to list

;