s

‘रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर बनाउन श्रमिक ऐन लागू’

तुलसी सुवेदी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर बनाउन श्रमिक ऐन लागू गरिएको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०७६ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बारेमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले स्वदेशमै युवालाई रोजगारी प्रदान गरिने बताए। उनले आउँदो आर्थिक वर्षमा पाँच लाखलाई स्वदेशमै रोजगारी दिइने बताए । चालू आर्थिक वर्षमा १ लाखले रोजगारी पाएको उनको भनाइ छ ।

७१ वटा नयाँ निर्णय र कामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको बताउँदै मन्त्री विष्टले निष्पक्ष ढङ्गबाट रोजगार संयोजकको छनौट गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

उनले आन्तरिक रोजगारको पूर्ण रुपमा व्यवस्था नभएसम्म वैदेशिक रोजगारी अपरिहार्य भएको बताए । वैदेशिक रोजगारलाई व्यवस्थित गर्न रोजगारदाता देशसँग छलफल र श्रम समझदारी गरेको विष्टले बताए । ‘वैदेशिक रोजगारको परनिर्भरता नघटेसम्म सुविधा सम्पन्न मुलुकको खोजी सरकारले गर्छ’ उनले भने 'मलेसिया र जापानतर्फ जाने नेपाली कामदारलाई छिटोभन्दा छिटो पठाउन गृहकार्य भइरहेको छ ।

विष्टले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे। वैदेशिक रोजगारीमा जाने कामदारलाई अधिकतम सुविधा तथा हितका लागि सरकारले अडान लिदैं आएको छ, मन्त्री विष्टले भने 'कामदारले बढी भन्दा बढी लाभ पाउनेगरी श्रम सम्झौता गरेर युवालाई वैदेशिक रोजगारीमा पठाइन्छ।'सदनमा सांसद मुक्तकुमारी यादवले रामलखन चमार, प्रकाश पन्त र बद्रीप्रसाद पाण्डेले वैदेशिक रोजगारी र आन्तरिक रोजगारीबारे मन्त्रीलाई जिज्ञासा राखेका थिए ।

Published on: 7 July 2019 | Annapurna Post

Back to list

;