s

रोजगार योजना : नाला सफाइमा युवा

डम्बरसिं राई

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका १ हजार ७ सय ९६ जनाले रोजगारी पाएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १५ वडाका १ सय ८० युवाले रोजगार पाएका छन् । बेरोजगार र अति विपन्न परिवारका नागरिकलाई रोजगारको अवसर दिइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । छानिएका युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय रङ्गरोगन, विद्यालय वरपर बगैंचा निर्माण, फलफूलका बिरुवा रोप्नेलगायत काममा खटाइएको रिजालले जनाए ।

त्यसैगरी हलेसी तुवाचुङ नगरपालिकामा १ सय ६१ जनाले रोजगारी पाएका छन् । उनीहरूलाई सडक मर्मत, हाटबजार व्यवस्थापनको काम जिम्मा लगाइएको कार्यक्रम संयोजक शान्ता अधिकारीले बताइन् । रोजगार पाउने युवालाई प्रतिव्यक्ति ६ सय ५० रुपैयाँका दरले ज्याला दिइएको अधिकारीले सुनाइन् ।

केपिलासगढी गाउँपालिकाका २ सय युवाले रोजगारी पाएका छन् । उनीहरूले सडक मर्मत, सोलिङ, नाली, विद्यालय घेराबारा लगायतको काम जिम्मा दिइएको छ । यसवापत प्रतिव्यक्ति ५ सय १७ रुपैयाँ दिइएको कार्यक्रम संयोजक आस्मिका राईले सुनाइन् ।ऐसेलुखर्क गाउँपालिकामा १ सय ११ जनाले रोजगारी पाएका छन् । प्रतिव्यक्ति ५ सय १७ रुपैयाँका दरले उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । निरौलाका अनुसार सडकको नाली काट्ने, खाल्डा खुल्डी मर्मत गर्ने लगायतको काममा लगाइएको छ ।

रावाबेसी गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । यहाँका १ सय सात जनाले रोजगार पाएका छन् । उनीहरूले दैनिक ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउने गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

रोजगार पाउने युवालाई कुभिण्डेमा, नुनथला–कुभिण्डे सडकको नाली काट्ने, खार्पा–महुरे–झिगटीघर सडकको नाली काट्ने, बिजुले–लामिडाडाँ भन्ज्याङसम्म सडकको नाली काट्ने, खाल्डाखुल्डी सोलिङ गर्ने, छोटो दूरीका पुराना पैदल हिंड्ने बाटोमा सिढी लगाउने लगायतका काममा खटाइएको अध्यक्ष निरौलाले सुनाए । साकेला गाउँपालिकामा ७ सय ५३ जनाले रोजगारी पाएका छन् । सामुदायिक भवन मर्मत, सडक तथा बाटो मर्मत, सिंचाइ कुलो मर्मत लगायत काम खटाइएवापत प्रतिव्यक्ति प्रतिदिन ६ सय रुपैयाँका दरले ज्याला दिइएको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खडकाले सुनाए ।

जन्तेढुङ्गा गाउँपालिकामा १ सय ८० जनाले रोजगारी पाएका छन् । सडक मर्मत, नाली तथा खाल्डाखुल्डी पुर्ने काम लगाइएको जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष शंकर राईले बताए । बराहापोखरी गाउँपालिकामा १ सय चार जनाले रोजगारी पाएका छन् ।

Published on: 3 July 2019 | Kantipur

Back to list

;