s

रोजगार व्यवसायीद्वारा मलेसिया दूतावास घेराउ

वैदेशिक रोजगार व्यवसायी संघले भिसा शुल्क नबढाउन, बायो मेडिकल प्रणाली रोक्न र फोसा नामक राहदानी संकलन केन्द्र बन्द गर्न माग गर्दै ललितपुरको पुल्चोकस्थित मलेसियाली दूतावास घेराउ गरेको छ ।
 
माग पूरा नभए अनिश्चित कालका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको राहदानीमा भिसा नलगाउनेसम्मको आन्दोलन गर्ने संघको चेतावनी छ । घेराउ गर्न वैदेशिक रोजगार व्यवसायीको करिब १ सय ५० जनाको समूह र्‍यालीसहित दूतावास पुगेको थियो । समूहले त्यहाँ करिब १ घन्टा प्रदर्शन र कोणसभा गरेको थियो । 'भिसा शुल्क वृद्धि, बायो मेडिकल प्रणाली र फोसा पासपोर्ट कलेक्सन सेन्टरका लागि थप शुल्क लाग्ने भएकाले त्यसको मार बेरोजगार गरिब नेपाली युवाको थाप्लोमा पर्ने गर्छ,' संघका महासचिव रोहन गुरुङले भने, 'हामीले ती गरिब बेरोजगार युवाहरूको आवाज मुखरित गरेका हौं ।' 
 
मलेसिया दूतावासले गत कात्तिक १५ देखि भिसा शुल्क ७ सयबाट बढाएर ३९ सय पुर्‍याएको दाबी गरेको छ । तर जारी भिसा र बिलमा भिसा शुल्क ७ सय रुपैयाँ मात्र उल्लेख हुने गरेको छ । भिसा शुल्कबापतको ३ हजार ९ सय रुपैयाँको बिल भने मलेसिया भीएलएन प्रालि नामक कम्पनीले जारी गर्छ । 
 
त्यसमा भिसा शुल्क ७ सय रुपैयाँ र भिसा प्रोसेसिङ शुल्क ३ हजार २ सय रुपैयाँ उल्लेख हुन्छ । संघले मलेसिया भीएलएन नामक एजेन्सी खडा गरी भिसा प्रोसिसिङ शुल्कबापतको ३ हजार २ सय रुपैयाँमा चलखेल गरेको आरोप लगाउँदै आएको छ । 
 
आप्रवासी कामदार गैरकानुनी रूपमा मलेसियामा बस्ने तथा उनीहरूबाट संक्रामक रोगको खतरा हुने अवस्था नियन्त्रण गर्न मलेसियाले बायो मेडिकल प्रणाली लागू गर्न खोजेको हो । मलेसियाले उक्त प्रणाली गत कात्तिक १५ बाटै लागू गर्ने घोषणा गरे पनि हालसम्म लागू हुन सकेको छैन । बायोमेटि्रक प्रणालीका लागि मलेसियाले बेस्टिनेट एसडीएन बीएचडी नामक निजी कम्पनीलाई जिम्मेवारी दिएको छ । 
 
नेपाल स्वास्थ्य व्यवसायी महासंघका अनुसार बायोमेटि्रक प्रणालीका लागि हरेक मेडिकल सेन्टरले करिब ८ लाख रुपैयाँ खर्चिनुपर्छ । त्यसबाहेक प्रतिकामदार स्वास्थ्य परीक्षणबापत बेस्टिनेटलाई करिब १ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । 
 
बेस्टिनेटको वेबसाइट मलेसियाको अध्यागमन, परराष्ट्र तथा गृह मन्त्रालयसँग नजोडिएको र मलेसियाको परराष्ट्रले राहदानी दर्ता नम्बर उपलब्ध नगराउने भन्दै संघले बायोमेटि्रक प्रणाली झुटको खेती भएको दाबी गरेको छ । यसले क्लिनिकको स्तरोन्नति नगर्ने र नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र बन्ने रोक्ने सुनिश्चितता नहुने संघको दाबी छ । 
 
मलेसिया जाने कामदारको राहदानीमा भिसा लगाउन राहदानी संकलन गर्नका लागि 'फोसा' नामक संस्थाको काउन्टर खोलिन लागेको भन्दै संघले त्यसको पनि विरोध गरेको छ । 
 
त्यसले राहदानी संकलनका नाममा थप शुल्क लिएर गरिब नेपालीको थाप्लोमा आर्थिक भार बढाउने संघको दाबी छ । घेराउ कार्यक्रम चलिरहेका बेला सुरक्षामा खटिएका प्रहरी अधिकृतले दूतावासको तर्फबाट छलफलका लागि सूचना पठाइएको महासचिव गुरुङले बताए । 'हामीले यसअघि नै ज्ञापनपत्र बुझाएको र त्यसको कुनै सम्बोधन नभएकाले प्रहरीबाट आएको प्रस्ताव अस्वीकार गर्‍यौर्ं,' उनले भने, 'वार्तामा नेपाल सरकारको प्रतिनिधिसमेत हुनुपर्छ भन्ने हाम्रो माग हो ।'
 
Published on: 24 December 2013 | Kantipur

Back to list

;