s

रोजगार व्यवसायी संघको विवाद झन् चुलियो

वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट पक्षले सोमबार निर्वाचन गरी नयाँ कार्यसमिति घोषणा गरेको छ। निर्वाचनमा कांग्रेस निकट रोजगार व्यवसायी हंशराज वाग्ले अध्यक्षमा निर्विरोध निर्वाचित भएको जनाइएको छ।

यसअघि एमाले निकट अध्यक्ष बलबहादुर तामाङले व्यवसायीविरुद्ध बोलेको आरोप लगाउँदै असन्तुष्ट पक्षले ४ महिनाअघि अविश्वासको प्रस्ताव ल्याउँदै गत ११ गते तामाङलाई हटाएको दाबी गरेका थिए। अध्यक्षबाट तामाङलाई हटाएर पूर्वअध्यक्ष सोमलाल बाटाजुको संयोजकत्वमा नयाँ समिति चयन भएको असन्तुष्टको दाबी छ। बाटाजुकै संयोजकत्वमा सोमबार निर्वाचन भएको हो। अहिले निर्वाचित वाग्ले डेढ वर्षअघि तामाङसँग निर्वाचनमा पराजित भएका थिए। 

संघको प्रथम उपाध्यक्षमा ज्ञानप्रसाद गैरे, द्वितीय उपाध्यक्षमा कुमुद खनाल, तृतीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, महासचिवमा कमल तामाङ, सचिवमा विनोदजंग केसी, कोषाध्यक्षमा शारदा न्यौपाने, र सदस्यहरुमा चिरमणि पौडेल, यमुण्डा गिरी, माधुरी पौडेल, दुर्गाबहादुर लिम्बु, टेकराज ज्ञवाली, दिपक सिञ्जाली, यादव लामिछाने, रामराजा अधिकारी, राजेशशंकर बिक र मोहनकुमार दुंगेल निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको दाबी छ। ७ सय ५८ जना सदस्य रहेको संघमा सोमबार ३ सयजनाको उपस्थितिमा निर्वाचन गरिएको थियो। 

पटकपटक व्यवसायीका हकहितमा बोल्न र सहयोग गर्न आग्रह गर्दा उल्टै व्यवसायीविरुद्ध बोल्दै हिँड्न थालेपछि तामाङलाई हटाएर निर्वाचन गरेको वाग्लेले बताए। 'अब नयाँ कार्यसमितिले व्यवसायीका समस्याको गहन अध्ययन गरेर अघि बढ्छ,' उनले भने। व्यवसायीले सरकारसामु राखेका १८ बुँदे माग कार्यान्वयनमा ल्याउन पहल गर्ने वाग्लेको भनाइ छ। 

संघका अध्यक्ष तामाङले निर्वाचनलाई जनयुद्धमा विद्रोहीले घोषणा गरेको जनसरकार जस्तै भएको बताएका छन्। 'त्यतिखेर सरकार वैधानिक रुपमा चल्दा विद्रोहीले जनसरकार बनाएका थिए। यो निर्वाचन र कार्यसमिति पनि त्यस्तै हो,' उनले भने। 'यो कामले झन द्वन्द्व निम्ताएको छ, अब संघ कि फुट्छ कि द्वन्द्व हुन्छ,' उनले भने। 

असन्तुष्ट पक्षले संघको कार्यालय तेजभवनमा निर्वाचन गरेको थियो। तर तामाङले आफू मंगलबारबाटै संघमा जाने बताए। 'कसैले एक दिन अध्यक्ष हुन्छु भन्छ भने होस् तर वैधानिक कार्यसमिति भंग गर्ने वैधानिक बाटो चाहिन्छ,' उनले भने। 

असन्तुष्ट पक्षले अविश्वास प्रस्ताव बहुमत सदस्यले दर्ता गरेको र अध्यक्षले विशेष साधारण सभा पनि नबोलाएकोले जिल्ला प्रसासनको पत्रमार्फत आफूहरुले नयाँ समितिमार्फत निर्वाचन गरेको जनाएको छ। पूर्वअध्यक्षसमेत रहेका सोमलाल बाटाजुले भने, 'पहिले २ सय ९३ जनाले विशेष साधारण सभा माग गर्दा भएन त्यसपछि व्यवसायीकै विरोधमा बोल्न थालेपछि बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरी हटाएको हो।' 

अविश्वासको प्रस्ताव दर्ता गर्नेमा वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष विमल ढकालसहित पूर्वअध्यक्ष बाटाजु, तिलक रानाभाट र प्रेम कटवाललगायत थिए। 

चार महिनाअघि अध्यक्ष तामाङले व्यवसायीविरुद्ध काम गरेको भन्दै प्रथम उपाध्यक्षसहित ११ जना कार्यसमिति सदस्यले राजीनामा दिएका थिए। फोरमले अध्यक्ष तामाङविरुद्ध संघमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। तर संघले नक्कली हस्ताक्षर रहेको भन्दै छानबिन गरिरहेको छ। असन्तुष्टले गत कात्तिकमा समेत अध्यक्षको राजीनामा र विशेष साधारण सभा मागेका थिए थिए। तामाङले कसैले पनि प्रमाणित नगरेको हस्ताक्षरलाई मानेर अघि बढेको भन्दै असन्तुष्टको कदम अवैधानिक रहेको बताएका छन्।

 Published on: 8 October 2013 | Nagarik

Back to list

;