s

रोजगार व्यवसायीको आन्दोलनले ४० प्रतिशत उडान घट्यो

भूकम्प पछिको प्रभाव र वैदेशिक रोजगार व्यवसायीको आन्दोलनको असर अन्तर्राष्ट्रिय उडानमा परेको छ।

विमान कम्पनीका अनुसार भूकम्पको असर र वैदेशिक रोजगार व्यवसायीको आन्दोलनले कमदार उड्न नपाउँदा कम्तीमा ४० प्रतिशत उडान कटौती भएका छन्। अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सका प्रतिनिधिहरूको संस्था ‘बोर्ड अफ एयरलायन्स रिप्रिजेन्टेटिभ इन नेपाल (बीएआरएन) का अध्यक्ष सरोजकुमार कसजुका अनुसार उडानमध्ये कामदार गतव्य मुलुकमा यात्रु चाप घटेको छ।

‘उताबाट विमान पूरा यात्रु बोकेर आइरहेका छन्,’ उनले भने, ‘यताबाट ४०/५० प्रतिशत मात्र यात्रु बोकेर जान्छन्।’ त्यसैगरी ठूलो विमान ल्याइरहेका एयरलायन्सले सानो जहाज ल्याउन थालेको, दुइ उडान भर्नेले एकमा झारेका छन्।

बीएआरएनले विज्ञप्ति जारी गरी आन्दोलनका कारण अन्तर्राष्ट्रिय उडानतालिका समीक्षा गर्नुपरेको जनाएको छ। यसले दीर्घकालीन असर रेमिट्यान्स र अर्थतन्त्रमा पर्ने भएकाले सरकारलाई सकारात्मक पहलका लागि अनुरोध गरेको छ। अहिले दैनिक ५८ हाराहारी उडान भइरहेका छन्। पिक सिजनमा यो संख्या ८० भन्दा बढी पुग्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मनसुनमा धेरै एयरलायन्सले उडान कटौती गर्ने भए पनि यस्तो गिरावट कहिल्यै भएको थिएन। ‘भूकम्प, मनसुन, व्यवसायीको आन्दोलनले धेरै उडान घटेका छन्,’ एक अधिकारीले भने। नेपाल वायु सेवा निगमका अनुसार प्रतिसाता २ सय बढी जहाजको ग्राउन्ड ह्यान्डलिङ हुने गथ्र्यो। तर बितेको साता १ सय २० मात्रै भयो। निगमले वार्षिक पौने ३ अर्ब रुपैयाँ हाराहारी ग्राउन्ड ह्यान्डलिङबाट आर्जन गर्नेमा करिब ४० प्रतिशत असर परेको जनाएको छ। विमानस्थलका अनुसार भूकम्पपछि दैनिक दुई उडान भर्ने चार वटा चिनियाँ कम्पनीले भारी उडान कटौती गरेका छन्।

‘चिनियाँ जहाजले दैनिक दुई उडान भर्थे,’ विमानस्थल अधिकारीले भने, ‘अहिले सातामा दुइटा मात्रै गरिरहेका छन्।’ उनका अनुसार भूकम्पछि सातामा सात वटा उडान भर्ने थाईले ५ मा, दैनिक ३ उडान भर्ने कतारले २ मा, दैनिक ३ उडान भर्ने फ्लाई दुबईले २ मा झारेका छन्। दैनिक ६ उडान भर्ने निगमले कहिले चार वटा त कहिले दुई मात्रै उडान भरिरहेको छ।


Published on: 14 July 2015 | Kantipur
 

Back to list

;