s

रोजगारीका लागि मलेसिया जान वञ्चित भएकोमा कांग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

प्रमुख प्रतिपक्षी दल कांग्रेसले लाखौँ नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्न छलफल हुनुपर्ने कारण देखाउँदै सङ्घीय संसद् सचिवालयलमा श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित सो प्रस्ताव दर्ता गराएको हो ।

कांग्रेस सांसदहरु डिला सङ्ग्रौला पन्त प्रस्तावक एवं रामबहादुर विष्ट र देवप्रसाद तिमिल्सिना समर्थक रहेको उक्त प्रस्तावमा मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखीकरण, मागपत्र प्रमाणीकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको उल्लेख छ । श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै गइरहेको प्रस्तावमा जनाइएको छ । साथै वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्ष विभिन्न मुलुकमा ८२१ कामदारको मृत्यु भएको उल्लेख गर्दै नेपालीलाई विदेश जानु अघि सुरक्षाको विषयमा व्यावहारिक जानकारी दिने व्यवस्था गर्न माग गरिएको छ ।

दूतावासलाई परिचालन गरी सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनसमेत प्रस्तावमा उल्लेख छ । झण्डै पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र वर्षेनी दशौँ अर्ब रुपैयाँ विप्रेशण भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि त्यहाँ नेपालीका लागि रोजगारीको अवसर खुम्चँदै गएको र मलेसियाली रोजगारदाताले विकल्प खोज्न थालेका छन् । गत वर्ष १२ कात्तिकमा दुई देशबीच पहिलो पटक श्रम सम्झौता भए पनि सरकारले अहिलेसम्म औपचारिक रुपमा नेपाली कामदार पठाउने काम शुरु गर्न सकेको छैन । हजारौँ मजदूरलाई ठगी गर्ने कम्पनीविरुद्ध कुनै कारवाही नभएको कांग्रेसले जनाएको छ ।

Published on: 5 June 2019 | Nayapatrika

Back to list

;