s

रोजगार रोस्टरका लागि पुनः मेडिकल

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने कामदारले फेरि रोस्टरमा आफूलाई समावेश गर्न पुनः स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ । स्वास्थ्य परीक्षणको अवधि एक वर्षको हुने भएकाले त्यो अवधिमा रोजगारी का लागि छनोट नभएका कामदारलाई पुनः स्वास्थ्य परीक्षण परेको हो ।

एचआरडी कोरियाले स्वास्थ्य रोस्टरबाट हटेका व्यक्तिको नामावली पठाएपछि पुनः स्वास्थ्य परीक्षण गरी रोस्टरमा दर्ता गर्ने नेपालस्थित शाखाले जनाएको छ । 'रोस्टरमा नाम समावेश गर्न चाहनेहरूले पुनः स्वास्थ्य परीक्षण गरेर उत्तीर्ण भएपछि रोजगार आवेदन फाराम भरेर रोस्टरमा रहन सक्छन्,' ईपीएस कोरिया शाखाका अधिकृत ज्ञाननाथ ढकालले कान्तिपुरलाई भने ।

२०११ मा कोरियन भाषा उत्तीर्ण गरेकामध्ये श्रम सम्झौता नगरेका कामदारहरूको स्वास्थ्य परीक्षणको अवधि एक वर्ष पूरा भएअनुसार रोस्टरबाट नाम हटेको छ । तिनै नामहरूलाई पुनः रोस्टरमा समावेश गरेपछि रोजगारदाताहरूले २०१३ का लागि कामदार छनोट गर्न सक्छन् । कोरियन भाषा परीक्षाको अवधि दुई वर्षको हुन्छ ।

ईपीएस शाखाले पुनः स्वास्थ्य परीक्षण मंसिर दोस्रो साताबाट सुरु हुने जनाएको छ । श्रम मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकअनुसार स्वास्थ्य परीक्षणका लागि शाखाले निजामती, शिक्षण, वीर, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोगर र राष्ट्रिय जनस्वास्थ्य शाखालाई सूचीकृत गरेको छ । पुनः स्वास्थ्य परीक्षणका लागि २ हजार २ सय रुपैयाँ र रोजगार फाराम दर्ताका लागि ५ डलर (करिब ४ सय ५० रुपैयाँ) लाग्ने शाखाले जनाएको छ । २००८ देखि सुरु ईपीएसअनुसार कोरियामा हालसम्म  १५ हजारभन्दा बढी नेपाली कामदार गइसकेका छन् । रोस्टरमा अब करिब १० हजार कामदार छन् ।

Published on: 12 November 2012 | Kantipur

Back to list

;