s

'रोगभन्दा भोक प्यारो'

प्रदीपचन्द्र राई

 

भोजपुर : सर्लाही ईश्वरपुरका रोशन साह लकडाउनले घर फर्कन पाएनन्। भोजपुर सदरमुकाम आसपासमा चटपटे बेचेर श्रीमती र दुई बच्चाको जिविका चल्थ्यो। तर, लकडाउनले पेशा नै बन्द भएपछि महंगो कोठा भाडा तिरेर बस्न बाध्य छन्। लकडाउन लम्बिएपछि जोहो गरेको पैसाले कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ता उनलाई थपिएको छ।

राहतमा पाएको चामलले केही दिन गुजारा चलेपनि त्यो सकिन थालेको छ। पैसा र अन्य रासन पनि सिद्धिन थालेको छ। कोरोना जोखिमको डरले घर जान नसकेका साह र उनको परिवारलाई रोग भन्दा पनि भोक टाल्ने चिन्ता बढेको छ। ‘रोगको डरले घर पनि जान पाइएन, सबै खानेकुरा सिद्धिन लाग्यो, अब के गर्ने’, साह भन्छन्, ‘रोगले भन्दा भोकले मरिएला भन्ने पीर छ।’ रोशन जस्ता साना व्यापार व्यावसाय र मजदुर गर्ने निमुखाका लागि लम्बिएको लकडाउनले छाक टानै धौधौ भएको छ। बढ्दो संक्रमणसँगै सरकारले बढाएको लकडाउनले उनीहरुको रोजीरोटी खोसिएको छ।

खोटाङको मझुवागढी गाउँपालिका लामाखुका ६१ वर्षीय जीतबहादुर राईको पनि उस्तै छ व्यथा। गिटी कुट्नु, सामान ओसारपसार गर्नु, मजदुरीका लागि भौतिरिनु उनी र उनकी श्रीमतीको दैनिकी हो। राई दम्पत्ति बिहानदेखि बेलुकी अबेरसम्म गिटी कुटेर आएको ज्यालाले छाक टार्छन्। तर, लम्बिएको लकडाउनले उनीहरुको पनि रोजीरोटी खोसिएको छ। नुनतेलसमेत किन्ने पैसा नभएका बेला कोठाभाडा तिर्नुपर्ने सास्ती थपिएको छ। ‘छाक टार्न गाह्रो भएको बेला यो लकडाउन झन् समस्या थपिदियो, हातमुख जोड्न मात्रै हैन कोठाभाडा कसरी तिर्ने भईसक्यो’, जितबहादुरले भने।

अरु बेला मालिङ्गोको चोयाबाट घरेलु नाङ्लो, डालो र डोका बनाएर बेच्ने उनी लकडाउनले बजार ठप्प बनेपछि व्यापार पनि चौपट भएको गुनासो गर्छन्। ज्याला मजदुरीको शिलशिलामा भोजपुर छिरेका ४० बर्षिय सन्तोष राईलाई पनि परिवारलाई के खुवाउने भन्ने चिन्ता छ। भन्छन्, ‘लकडाउनले हैरान थपिदियो, न काम छ न छाक टार्ने केही विकल्प, अलिअलि काम गरेर आएको पैसाले जेनतेन चलेको थियो, अब सबै सिद्धियो।’ स्थानीय निकाय र प्रशासनबाट आफूले कुनै पनि राहात नपाएको राईले गुनासो गरे।

लकडाउनले मजदुरी र सानोतिनो व्यापार व्यवसाय गर्नेहरुको दैनिक जिवनयापनमा नराम्ररी धक्का दिएको छ। ९ वर्षअघि संखुवासभाको चेपुवाबाट जडिबुटी बेच्दै आएकी पिम्बा शेर्पा पनि लकडाउनले घर फर्किन पाईनन्। सदरमुकामको हटिया र शहीद पार्कको फुटपाथमा जडिबुटी बेच्दै आएकी उनलाई बन्दले न व्यापार गर्न दियो न घरपरिवारसँग भेट्न नै। अहिले कोठाभाडा तिरेरै बस्नु परेको शेर्पाले सुनाईन्।

लम्बिएको लकडाउनले भोजपुर सदरमुकाम लगायत बजारक्षेत्रमा कोठा भाडा गरी बस्ने साना व्यापारीलाई समस्या गराएको छ। व्यापार व्यवसाय ठप्प बनेपछि परिवारसहित कोठा, घरभाडा तिर्नेसमेत कुनै विकल्प नबनेको होटल व्यवसायी विष्णु राई बताउँछिन्।

Published on: 11 June 2020 | Annapurna Post

Link

Back to list

;