s

'रिटर्नी' श्रमिक किन परेनन् कोरियाली रोजगारदाताको प्राथमिकतामा?

कोरिया रोजगारीबाट फर्केर फेरि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका 'रिटर्नी'हरू लामो समयसम्म कोरिया रोजगारीका लागि छनोट हुन सकेका छैनन्।

दुई वर्षभन्दा लामो समयदेखि आफूहरू रोस्टरमा रहेर पनि छनोटमा नपरेको भन्दै उनीहरू गुनासो गरिरहेका छन्।

त्यहाँका रोजगारदाताले नयाँ श्रमिक लगिरहँदा आफूहरू प्राथमिकतामा नपरेको भन्दै उनीहरूले आन्दोलन समेत गरे।

इपिएस शाखाका अनुसार दुई हजार पाँच सयभन्दा बढी रिटर्नीहरू भाषा परीक्षा (सिबिटी) उत्तीर्ण गरेर बसेका छन्। लामो समयदेखि उनीहरूको नाम रोस्टरमा सूचीकृत छ। तर कोरियाली रोजगारदाताको रोजाइमा परेका छैनन्।

सिबिटी परीक्षा उत्तीर्ण गरेपछि उनीहरूको नाम रोस्टरमा सूचीकृत गरिन्छ। रोस्टरमा रहेकाबाट रोजगारदाताले सबै विवरण हेरेर आफूलाई मनपर्ने श्रमिक छनोट गर्छन्।

यसरी रोजगारदाताको रोजाइमा परेका श्रमिकलाई त्यहाँबाट भिसा आउँछ। भिसा पाएपछि श्रम स्वीकृति लिएर उनीहरू कोरिया रोजगारीमा जान पाउँछन्।

इपिएस शाखाका निवर्तमान प्रमुख पुष्पराज कटुवालले पछिल्लो समय रोजगारदाताले रिटर्नीभन्दा नयाँ श्रमिकहरू नै रूचाएको बताए।

नेपालबाट औद्योगिक तथा कृषि क्षेत्रका विभिन्न कामका लागि युवाहरू कोरिया जान्छन्। कोरिया जान छुट्टै सीप भने चाहिँदैन।

'सीपयुक्त श्रमिक लैजाने भएको भए रिटर्नीहरू अनुभवका आधारमा रोजाइमा पर्न सक्थे। तर सबैतिर एकै प्रकृतिको काम हुँदैन। जसले रोजगारदाताको छनोटमा नयाँ श्रमिक नै परिरहेका छन्,' उनले भने।

उमेरका कारण पनि पुरानाभन्दा नयाँ श्रमिक रोजगारदाताको रोजाइमा परेको उनको भनाइ छ।

'पाँच देखि १० वर्ष काम गरेर फर्केका रिटर्नीको उमेर नयाँको तुलनामा बढी नै हुने भयो,' उनले भने।

हुन त रिटर्नीहरूका लागि सिबिटी परीक्षा सञ्चालन गर्ने क्रममै उमेर हद तोकिएको हुन्छ। १८ वर्ष उमेर पूरा भई ३९ वर्ष ननाघेकाहरूको मात्रै आवेदन लिइन्छ। तर पनि किन रोजगारदाताको रोजाइमा पर्दैनन् त?

रिटर्नी श्रमिक लैजाँदा उनीहरूको पहिल्यै देखिको चिनजान सर्कलका कारण रोजगारदाता परिवर्तन गरिहाल्ने अवस्था रहने हुँदा पनि रोजगारदाताले नयाँ नै रोज्ने गरेको कटुवालको तर्क छ।

'फेरि नयाँ श्रमिक लैजाँदा दुई कार्यकाल काम लगाउन पाइने भयो। अनि किन पुराना लैजानु भन्ने पनि होला,' उनले भने।

पछिल्लो समय कोरिया सरकारले इपिएसमार्फत् गएका श्रमिकहरूलाई १० वर्षसम्म निरन्तर काम गर्न पाउने व्यवस्था गरेको छ। सुरूमा काम गर्न गएको कम्पनीमा लगातार एक वर्ष काम गरेपछि १० वर्षसम्म काम गर्न पाउने व्यवस्था गरिएको कटुवालले बताए।

यसअघि पाँच वर्षको कार्यकाल थियो। पाँच वर्षसम्म कम्पनी परिवर्तन नगरी काम गरेपछि भने कमिटेड भएर फेरि जान पाउने व्यवस्था थियो।

इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदी भने रिटर्नी श्रमिकहरू केही समय रोजगारदाताको प्राथमिकतामा कम परे पनि विस्तारै उनीहरूले पनि अवसर पाउन सक्ने बताउँछन्।

'कोही मान्छे एक जनालाई मन परेन भन्दैमा सबैलाई मन नपर्ने हुँदैन। रिटर्नीहरू पनि केही रोजगारदाताको नजरमा पर्न सक्नुहुन्छ। पछिल्लो समयचाहिँ उहाँहरूको मागमा कमी आएको मात्रै हो,' सुवेदीले भने।

पछिल्लो समय इपिएसअन्तर्गत कोरिया रोजगारीमा नेपालीको आकर्षण बढ्दै गएको छ। इपिएस प्रणाली अन्तर्गत हरेक वर्ष कोरियाले नेपाली श्रमिकहरू लैजाँदै आएको छ।

आर्थिक वर्ष २०७९/२०८० मा झण्डै २३ हजार श्रमिक कोरिया पुगेका छन्। जसमा नयाँसँगै केही संख्यामा रिटर्नी पनि रहेको शाखाले जनाएको छ।

Published on: 1 August 2023 | Setopati

Link

Back to list

;