s

रेसुङ्गा इन्टरनेशनलका सञ्चालक लोहनी पक्राउ

आकर्षक तलवमा वैदेशिक रोजगारीका लागि सिंगापुर, पोर्चुगल, फ्रान्स तथा माल्टा पठाइदिन्छु भन्दै लाखौं रकम उठाएर ठग्दै आएको आरोपमा प्रहरीले पारस लोहनीलाई पक्राउ गरेको छ ।
 
बुधबार महानगरीय अपराध महाशाखाको टोलीले लोहनीलाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । नुवाकोट थानापति गाउँपालिका–९  स्थायी घर भएका लोहनी पूर्व म्यानपावर व्यवसायी पनि हुन् । उनले ईजाजत पत्र नं. ६२१÷०६२÷०६३ भएको रेसुङ्गा इन्टरनेशनल म्यानपावर सञ्चालन गरेका थिए । शंखमुलमा रहेको उक्त म्यानपावर कम्पनीलाई लोहनीले कहिले सितापाइला त कहिले महालक्ष्मीस्थान (ललितपु) सार्दै आएका थिए ।
 
महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले पीडितहरुको उजुरी परेसँगै लोहनीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको र वैदेशिक रोजगारी लगायतका ठगीमा उनको संलग्नता देखिएको बताए ।
 
अपराध महाशाखाका अनुसार लोहनीले बुद्धिराज गुरुङ समेत ९ जनाको ४८ लाख, युवराज भट्टराईबाट ११ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोप छ । भट्टराईसँग भने उनले श्रमको कागज गरी दिएका छन् । त्यस्तै, हेम्जोङ गुरुङबाट १२ लाख ५० हजार तथा महेन्द्र शेरचनबाट १४ लाख ठगेको महाशाखाले जनाएको छ । पीडित शेरचनलाई उनले दिएको १४ लाखको चेक बाउन्स भएको छ ।
 
हाल ललितपुर–१४ महालक्ष्मीस्थान बस्दै आएका ३९ वर्षीय लोहनी लामो समयदेखि ठगी धन्दामा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको दाबी छ । उनले सिंगापुर, पोर्चुगल फ्रान्स तथा माल्टाजस्ता मुलुकमा पठाउने भन्दै आईएमई मार्फत पैसा लिई राहदानी संकलन गर्ने गरेको अभियोग छ । लोहनीले धेरैको राहदानी लिएको र त्यसमध्ये केहीको मात्र फिर्ता गरेको प्रहरीले बताएको छ।
 
Published on: 18 January 2018 | Madhyanha

Back to list

;