s

रेमिट्यान्समा महिलाको योगदान

समयको परिवर्तनसँगै वैदेशिक रोजगारीमा जाने नेपाली महिलाको संख्या बढेको देखिन्छ । कुनै वेला चुलोचौकामा सीमित महिलाको श्रम र सीप अहिले विश्वबजारमा बिक्न थालेको छ । आफ्नो परिवारको वृत्तिविकासमा महिलाको यस्तो योगदान सराहनीय रहेको छ । उनीहरूले पनि आफूलाई पुरुषजत्तिकै वैदेशिक रोजगारीको क्षेत्रमा अब्बल साबित गर्दै लगेका छन् । नेपाल भित्रने कुलमध्ये ११ प्रतिशत रेमिट्यान्समा महिलाको योगदान रहेको छ । समाजमा अझै पनि महिला र पुरुषबीच लैंगिक विभेद कायम भए पनि आर्थिक वृत्तिविकासमा महिलाको स्थितिलाई भने कम आँक्न मिल्दैन । 

वैदेशिक रोजगारीमा गएका महिला आफ्नो परिवारको आर्थिक अवस्था सुदृढ पार्न सफल भएका छन् । उनीहरूले विदेशमा कमाएको रकमबाट परिवारको शिक्षा, स्वास्थ्य तथा आर्थिकस्तर वृद्धिमा समेत योगदान पुगेको छ । घरेलु उद्योग खोलेर आफ्नो परिवार तथा समाजमा केही योगदान दिने काममा समेत महिलाको वैदेशिक रोजगारीले सघाएको छ ।

भूगोलको कुनै पनि कुनामा गएर नेपाली महिलाले आफ्नो श्रम र सीपलाई विदेशी भूमिमा खर्चिरहेका छन् । विगतका पाँच वर्षयता वैदेशिक रोजगारीका लागि बिदेसिने महिलाको संख्या बढिरहेको छ । तर, वैदेशिक रोजगारीमा जाने महिलाको आवश्यक दक्षता, अनुभव र सीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारीमा थप चुनौती र सकस बढेको पनि देखिन्छ । त्यसैले उनीहरूले आफ्नो सीप अभिवृद्धि गर्नुपर्ने देखिन्छ । वैदेशिक रोजगारीमा जाने कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत त कुनै सीपविनै विदेश गएको तथ्यांकले देखाउँछ । जसमा उच्च दक्षता भएका महिलाको संख्या ०.०६ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष ०७५÷७६ को प्रगति प्रतिवेदनअनुसार गत वर्ष सबैभन्दा धेरै महिला कामका लागि कुुवेत गएको देखिन्छ भने त्यसपछिका प्रमुख गन्तव्यमा जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, र इजरायल रहेका छन् । 

प्रतिवेदनअनुसार व्यक्तिगत श्रम स्वीकृति लिने कुल एक लाख १५ हजार तीन सय ९८ मध्ये २७ दशमलव ६ प्रतिशत अर्थात् ३१ हजार आठ सय २० महिला छन् भने पुनः श्रम स्वीकृति लिनेमा महिलाको संख्या कुल श्रम स्वीकृति लिनेकै हाराहारीमा अर्थात् ४५ प्रतिशत देखिन्छ । कुल १५ लाख ८७ हजार ६ सय ५४ पटक पुनः श्रम स्वीकृति लिएकामा महिलाको संख्या ६४ हजार पाँच सय सात रहेको छ । कुवेतमा हालसम्म संस्थागत रूपमा श्रम स्वीकृतिमा पाँच हजार ४१ महिला गएको देखिन्छ भने व्यक्तिगत रूपमा जानेको संख्या २० हजार दुई सय ७८ देखिन्छ । भारतसहित ६५ भन्दा बढी देशमा एक लाख ५० हजारभन्दा बढी महिला वैदेशिक रोजगारमा आबद्ध छन् । प्रायः नेपाली महिला विदेशमा घरेलु कामदारका रूपमा त्यहाँ जाने गरेको पाइन्छ । वैदेशिक रोजगारीको जिल्लागत विवरण हेर्दा झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक श्रम स्वीकृति लिनेमा अगाडि छन् । वैदेशिक रोजगारीमा जाने महिलाको कुल संख्या विश्लेषण गर्दा बागमती प्रदेशअन्तर्गतका जिल्लाका महिलाको नै बाहुल्य पाइन्छ । 

नेपाली महिलाका तुलनामा अन्य देशका महिला श्रमिक तालिम प्राप्त, अनुभवी र सीपयुक्त देखिन्छन् । सीप नभएका कारण एउटा कामका लागि स्वीकृति लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ । जसका कारण महिलाहरू बढी हिंसामा पर्ने गरेको पनि देखिन्छ । त्यसो त जोखिमपूर्ण मानिएका देशमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने महिलाको संख्या ज्यादा रहेको छ । गत वर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा समेत सबैभन्दा बढी महिलाको मृत्यु हुने देश कुवेत र युएई देखिन्छ । त्यहाँ महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएको पाइन्छ । रातदिन काम गरेर पनि उनीहरूले तलब पाउन सकेको देखिन्न । वैदेशिक रोजगारमा जाने महिलाहरू म्यानपावर कम्पनीबाट बढी ठगिएको घटना सार्वजनिक भएका छन् 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारका क्रममा अंगभंग भएका, मृत्यु भएका र गम्भीर प्रकृतिका बिरामी भएका परिवारका एक सदस्यलाई निःशुल्क प्राविधिक शिक्षा वा तालिम दिने व्यवस्था गरेको छ । यसबाट वैदेशिक रोजगारीमा जानेका परिवारलाई केही भए पनि राहत पुग्ने देखिन्छ । वैदेशिक रोजगारमा जानुपूर्व विभिन्न तयारी गरेर जाने गर्दा वा सम्बन्धित म्यानपावरबाट सबै कुरा बुझेर जाने हो भने पनि केही हदसम्म महिला श्रमिकले पाउने पीडा न्यून हुन पुग्छ । त्यसैले आगामी दिनमा वैदेशिक रोजगारीमा जाँदा महिलाले तालिम, भाषालगायतका अनिवार्य विषयमा दक्षता प्राप्त गरेर मात्र कदम चाल्नु उपयुक्त हुन्छ ।

Published on: 15 December 2021 | Nayapatrika

Link

Back to list

;