s

रेमिट्यान्समा गिरावट : एक वर्षमा आठ खर्ब ७५ अर्ब मात्रै भित्रियो

काठमाडौं : कोरोना कहरका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विप्रेषण (रेमिट्यान्स) आयमा चार अर्ब २४ करोड रुपैयाँले गिरावट आएको छ। आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रहेको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आएर आठ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ। 

आव २०७५/७६ को तुलनामा २०७६/७७ मा मात्रै चार अर्ब २४ करोड रुपैयाँले घटेको हो। वैदेशिक रोजगारीका लागि नेपाली कामदार पुगेका विभिन्न श्रम गन्तव्य लामो समयदेखि बन्द हुँदा समेत विप्रेषण आयमा खासै प्रभाव नपरेको पाइएको हो।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०७६/७७ को वार्षिक विवरण अनुसार विप्रेषण आयमा खासै प्रभाव नपरेको पाइएको हो। आव २०७६/७७ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो। आव २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ।

अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या ५.४ प्रतिशतले बढेको थियो। आव  २०७६/७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई रु नौ खर्ब ८२ अर्ब २२ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आय १५.० प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो।

Published on: 24 August 2020 | Annapurna Post

Link

Back to list

;