s

रेमिटयान्सले थेगेन व्यापार घाटा

यज्ञ बञ्जाडे

गएको नौ महिनामा मुलुक भित्रिएको रेमिटयान्सभन्दा व्यापार घाटा करिब ३ खर्ब रुपैयाँले बढी छ । घट्दो रेमिटयान्स वृद्धिदर र तीव्र रूपमा बढ्दो आयातले व्यापार घाटा फराकिलो बन्दै गएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार नौ महिनामा रेमिटयान्समार्फत ५ खर्ब ४० अर्ब रुपैयाँ मुलुक भित्रिएको छ । सोही अवधिमा व्यापार घाटा ८ खर्ब १६ अर्ब रुपैयाँ छ । यसका आधारमा हेर्दा रेमिटयान्स आप्रवाहभन्दा व्यापार घाटा २ खर्ब ७६ अर्ब रुपैयाँले बढी छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चैत महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा यस्तो उल्लेख छ ।
 
अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर फराकिलो बन्दै गएकाले अवस्था चुनौतीपूर्ण बन्दै गएको अर्थविद्हरूले जनाएका छन् ।
 
चालु आर्थिक वर्षको नौ महिनामा रेमिटयान्समार्फत ५ खर्ब ४० अर्ब ३८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ५.६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स वृद्धिदर ६.३ प्रतिशतले बढेको थियो । यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर आय ६ खर्ब २१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.९ प्रतिशतले बढेको थियो । यद्यपि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुन: श्रम स्वीकृतिबाहेक) गएको नौ महिनामा ६.८ प्रतिशतले घटेको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.२ प्रतिशतले घटेको थियो ।
 
यसैगरी चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो व्यापार घाटा करिब २२ प्रतिशतले बढी हो । सोही अवधिमा आयात निर्यात अनुपात ६.८ प्रतिशत कायम छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ७.६ प्रतिशत थियो ।
 
गएको नौ महिनामा ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा निर्यात ८.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.१ प्रतिशतले बढेको थियो । वस्तुगत आधारमा अलैंची, धागो, पोलिस्टर यार्न, अदुवा, तारलगायत वस्तुको निर्यात बढेको छ । तर, जुस, जीआई पाइप, ऊनी गलैंचा, पस्मिनालगायत वस्तुको निर्यात घटेको छ ।
 
भारततर्फको निर्यात ६.९ प्रतिशत, चीनतर्फको ५८.९ प्रतिशत र अन्य मुलुकतर्फको ७.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
 
गत चैतसम्म ८ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २०.६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९.७ प्रतिशतले बढेको थियो । उक्त अवधिमा भारतबाट भएको आयात २१.९ प्रतिशत, चीनबाट भएको आयात २२.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १५.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट, हटरोल सिटइन क्वाइललगायत वस्तुको आयात बढेको देखिन्छ । तर, कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरी वेयर्स, सानो अलैंची, जिंक इनगोटलगायत वस्तुको आयात घटेको जनाइएको छ ।
 
शोधनान्तर घाटा १४ अर्ब ६० करोड
 
फागुन महिनाको तुलनामा चैतमा मुलुकको शोधनान्तर अवस्थामा केही सुधार भएको देखिन्छ । यद्यपि अघिल्ला पाँच महिनादेखि मुलुकले व्यहोर्दै आएको शोधनान्तर घाटाले चैतमा पनि निरन्तरता पाएको छ । राष्ट्र बैंकका अनुसार गत चैतमा शोधनान्तर घाटा १४ अर्ब ६० करोड रुपैयाँ छ ।
 
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर ५० अर्ब ६० करोड रुपैयाँले बचतमा थियो । आयातमा भएको उच्च वृद्धि, घटदो रेमिटयान्स आप्रवाह र विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धिलगायत कारण गत फागुनमा शोधनान्तर स्थिति २४ अर्ब ७३ करोड रुपैयाँले शोधनान्तर घाटामा थियो ।
 
‘०७३ पुसदेखि घाटामा रहँदै आएको चालु खाताले बाहय क्षेत्र सन्तुलनमा चुनौती थपेको छ,’ राष्ट्र बैंकले भनेको छ । अघिल्लो वर्षको नौ महिनामा १० अर्ब ३४ करोडले घाटामा रहेको चालु खाता गत चैतमा उल्लेख्य रूपमा बढेर १ खर्ब ७१ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालु खाता उच्च घाटा भएको राष्ट्र बैंकले बताएको छ ।
 
शोधनान्तर र चालु खातामा गत वर्षदेखि नै चाप पर्न थालेको थियो । गत आर्थिक वर्ष पहिलो २ महिना (साउन र भदौ) मा पनि शोधनान्तर ऋणात्मक थियो । त्यसपछिका महिनाहरूमा शोधनान्तरमा सुधार देखिँदै आए पनि चालु खाता ऋणात्मक रहेको थियो । यो आर्थिक वर्षको सुरुका दुई महिनामा पनि पुरानै प्रवृत्ति दोहोरियो र शोधनान्तर ऋणात्मक बन्यो । त्यसपछिका दुई महिना (असोज र कात्तिक) महिनामा शोधनान्तर बचतमा देखिए पनि आकार घट्दै गएको थियो । तर, मसिंर, पुस, माघ, फागुन र चैतमा शोधनान्तर अवस्था लगातार घाटामा छ ।
 
चुलिँदो व्यापार घाटा समग्र अर्थतन्त्रका लागि हानिकारक हुने भएकाले नियन्त्रणका लागि आर्थिक स्थायित्वका परिसूचकमा आउन सक्ने दबाबलाई ध्यानमा राखी राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा समायोजन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
 
बजार भाऊ ५.३ प्रतिशत 
 
गत चैतमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ५.३ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो साढे एक प्रतिशत विन्दुले बढी हो । गएको नौ महिनामा तरकारी तथा अन्य खाद्य पदार्थको मूल्यमा भएको छिटफुट वृद्धिका कारण उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा केही उच्च रहन गएको हो ।
 
०७३ चैतमा यस्तो वृद्धिदर ३.८ प्रतिशत थियो । चालु आर्थिक वर्षको नौ महिनामा औसत मूल्यवृद्धिदर ४.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ‘खासगरी आयातित वस्तु तथा देशभित्र उत्पादन भएको वस्तुमा भएको मूल्य वृद्धिका कारण समग्र मूल्य वृद्धिदर बढ्न गएको हो,’ राष्ट्र बैंकले भनेको छ । यद्यपि चालु आर्थिक वर्ष वार्षिक औसत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) प्रक्षेपणभन्दा कम नै रहने राष्ट्र बैंकले दाबी गरेको छ । चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ७ प्रतिशतभित्रै राख्ने राष्ट्र बैंकको प्रक्षेपण छ ।
 
गत वर्षको तुलनामा यो वर्ष तरकारी, फलफूलजन्य वस्तुहरू र दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्य बढेकाले खाद्य पदार्थ समूहको मूल्य वृद्धिदर ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.७ प्रतिशत रहेको थियो । यसैगरी गैर खाद्य पदार्थ समूहको मूल्य वृद्धिदर ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यो समूहको मूल्य वृद्धिदर ६.३ प्रतिशत थियो ।
 
Published on: 18 May 2018 | Kantipur

Back to list

;