s

रेमिट्यान्सको सदुपयोग

विप्रेषण (रेमिट्यान्स) नेपाली अर्थतन्त्रका प्रमुख आधारमध्येको एक हो । रेमिट्यान्स भित्र्याउने विश्वका केही राष्ट्रमध्ये नेपालको नाम पहिलो हारमै आउँछ । अर्थात् विश्वमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने पाँच राष्ट्रमध्ये हामी पनि एक हौं । गत आर्थिक वर्षकै तथ्यांकलाई हेर्ने हो भने पनि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा रेमिट्यान्सको करिब २३ प्रतिशत योगदान थियो । आव २०६९/७० को ११ महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स भित्रियो । हुन्डीलगायतका अनौपचारिक माध्यमबाट पनि त्यत्तिकै हाराहारीमा रकम भित्रिरहेको अनुमान गरिएको छ । तर दुःखद् पक्ष के छ भने यसरी रेमिट्यान्सका रूपमा भित्रिएको ठूलो धनराशिको पर्याप्त सदुपयोग हुन सकेको छैन । विदेशमा काम गर्ने नेपालीले पठाएको धनले धेरै नेपालीको दैनिक घरखर्च चलेको छ, आर्थिक जीवनशैलीमा पनि बदलाव आएको छ तर समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव छोड्ने गरी रेमिट्यान्सको उत्पादनमूलक उपयोग हुन सकेको छैन, जुन ठूलो चिन्ता र चुनौतीको विषय हो ।

मूलतः विदेशबाट भित्रिने रकम बढीजसो दैनिक उपभोगमै खर्च हुने गरेको पाइन्छ । नेपाल जीवनस्तर मापन सर्वेक्षणले देखाउँछ, आम्दानीको ७९ प्रतिशत रकम दैनिक उपभोग, ७ प्रतिशत रेमिट्यान्स कर्जा तिर्न, साढे ४ प्रतिशत घरायसी सम्पत्ति जोड्न र साढे ३ प्रतिशत शिक्षामा खर्च हुने गरेको छ । सर्वेक्षणले ५५ दशमलव ८ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गरेको देखाउँछ भने पुँजी निर्माणमा २ दशमलव ४ प्रतिशत मात्रै प्रयोग भएको रहेछ । रेमिट्यान्सको जुन प्रवाह स्तर छ, त्यस अनुपातमा पुँजी निर्माणमा भएको प्रयोग निकै न्यून हो । निश्चय पनि रेमिट्यान्स भित्रिँदा नेपालीको औसत जीवनशैलीमा परिवर्तन आएको छ । रेडियो, टिभीजस्ता सञ्चार साधन र पोसिलो खाना, शिक्षा आदिमा पनि उनीहरूको पहुँच बढेको देखिन्छ । यो पनि उपलब्धि नै हो । यद्यपि रेमिट्यान्सको प्रवाह उच्च भएकाले त्यसलाई सही ढंगले राष्ट्रिय अर्थतन्त्रको विकासमा सदुपयोग गर्नसके, त्यसले केही परिवारको जीवनशैलीमा मात्रै होइन, समग्र मुलुककै आर्थिक परिसूचकहरूमा परिवर्तन ल्याउन सक्छ भन्ने कुरा सरकारले बिर्सन हुन्न ।

हाम्रो अर्थतन्त्र उत्पादनमुखी नहुँदा व्यापार घाटा बढेको बढ्यै छ । विदेशबाट रेमिट्यान्स मात्रै होइन, अरू सरसामानमा पनि विदेशतिरै निर्भर हुनुपर्ने अवस्थाले विदेशी भूमिका नेपालीहरूले पसिना बगाएर भित्रिएको रकम पुनः विदेशतिरै फर्किएको छ । रोजगारीका लागि बिदेसिने प्रवृत्तिले एकातिर मानिसलाई सहरमुखी बनाइदिएको छ । गाउँमा गरिरहेको कृषि छोडेर धेरै रेमिट्यान्समा निर्भर हुँदै सहरमा बसोबास गर्न थालेका छन् । यसले एकातिर कृषिको उत्पादन घटाएको छ भने अर्कोतर्फ रेमिट्यान्स पनि दैनिक जीवनयापनमै बढी खर्चिनुपर्ने अवस्था छ । सारमा नेपाली अर्थतन्त्र अझै सुदृढ र सबल हुन सकेको छैन । हामीले प्रशस्त रोजगारीको अवसर सिर्जना गर्न सकेका छैनौं किनभने ठूलो धनराशि रेमिट्यान्सका रूपमा भित्रिँदा पनि त्यसको सही ढंगले सदुपयोग गर्न सकिरहेका छैनौं । त्यसकारण मुलुकको अर्थनीति निर्माताहरूले विदेशी सहयोग र ऋणकै मात्रै मुख नताकी रेमिट्यान्स लगायत हामीले आफ्ना स्रोतहरूको परिचालन र सदुपयोग कसरी गर्न सक्छौं भन्नेतर्फ पनि गम्भीरतापूर्वक चिन्तन गर्नु जरुरी छ ।

रेमिट्यान्स भित्र्याउने विश्वका अन्य मुलुकहरू जस्तो श्रीलंका, मेक्सिको, फिलिपिन्स, भारत आदिले यसको सदुपयोग गर्नका लागि एउटा छुट्टै नीति निर्माण गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरेको पाइन्छ । हामीसँग पनि जलविद्युत्लगायतका विभिन्न उर्वर क्षेत्र छन्, जसका लागि हामी विदेशी सहायता र लगानीको खोजी गर्दै हिंड्छौं । यस्ता उर्वर क्षेत्रमा रेमिट्यान्सको लगानी के कसरी गर्ने, विदेशबाट प्रवाहित ठूलो धनराशिलाई यस्तो लगानीमा के कसरी आकषिर्त गर्ने ? सरकारले गम्भीरपूर्वक लिई यससम्बन्धी छुट्टै नीति नै बनाएर बढ्न ढिलो भइसकेको छ ।

Published on: 22 July 2013 | Kantipur

Back to list

;