s

रेमिट्यान्सको हिसाबकिताब मात्रै नखोजौं

नेपालको जनसंख्याको करिब ७ दशमलब २० प्रतिशत हिस्सा मुलुकबाहिर रहेको देखिन्छ । यसको ठूलो हिस्सा वैदेशिक रोजगारीमा छ । स्वदेशमा बढ्दो युवाका अनुपातमा रोजगारीका अवसरको विस्तार हुन नसक्दा अन्तर्राष्ट्रिय बजारमा नेपालीको चाप बढ्दै छ । प्रत्येक वर्ष आन्तरिक श्रमबजारमा प्रवेश गर्ने करिब ४ लाख युवाको पहिलो रोजाइ अन्तर्राष्ट्रिय श्रमबजार बन्न थालेको छ ।

हाल दैनिक सरदर फर्केर जानेसहित १७ सय नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् । गत वर्ष ३ लाख ८४ हजार युवा वैदेशिक रोजगारीमा गए भने एकपटक गएर पुनः जानेको संख्या एक लाख ४६ हजार छ । योसहित जोड्दा गत एक आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेको संख्य ५ लाख ३० हजार पुग्छ ।

आर्थिक वर्ष २०६८/२०६९ सम्म नेपालबाट श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या २४ लाख ६५ हजार पुगेको छ । अध्ययन, पयर्टन, पारिवारिक सम्बन्ध आदिका माध्यमबाट श्रमस्वीकृति नलिई अन्य तवरबाट जानेको संख्या उच्च छ ।

वैदेशिक रोजगारीबाट देशले पाएको मुख्य फाइदामध्ये विप्रेषण हो । व्यक्तिले ससानो आकारमा पठाए पनि धेरैले पठाउने भएकाले कुल परिमाण ठूलो हुन पुग्छ । नेपालमा मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, जापानबाट बढी विप्रेषण आउने गर्छ ।

नेपालको वैदेशिक रोजगारीको प्रवृत्ति र प्रकृतिको आकलन गर्दा यो 'श्रमको पारितोषिकभन्दा बढी नेपाली कामदारको बाध्यताका आँसु, पसिना र रगतको प्रतिफल' हो । यसैले कामदारले भित्र्याएको विप्रेषणलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता छ ।

पाँच वर्ष अघिसम्म विप्रेषणको आकार ठूलो थिएन । आर्थिक वर्ष ०६३/६४ मा एक सय अर्बको हाराहारीमा विप्रेषण आउँथ्यो । गत आर्थिक वर्षमा औपचारिक तवरबाट ३ सय ५९ दशमलब ५५ अर्ब आएको छ । हुन्डीसमेत आकलन गर्दा ४ सय ५० अर्ब नाघेको अनुमान गरिन्छ । यसले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा प्रभाव परेको छ । यसले जीडीपीमा कृषिपछि दोस्रो प्रमुख योगदान पुर्‍याएको छ ।

आर्थिक वर्ष ०६३/६४ मा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको अनुपात १३.८ प्रतिशत थियो, त्यसयता बढिरहेको छ । ०६४/६५ मा १७.५ प्रतिशत, २०६५/६६ मा २१.२ प्रतिशत, २०६६/६७ मा १९.४ प्रतिशत, २०६७/६८ मा १८.५ प्रतिशत र पुनः २०६७/६८ मा ४१.८ प्रतिशत पुग्यो । विप्रेषण आय देशको अर्थतन्त्रको आधार र वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत बनेको छ ।

वैदेशिक रोजगारीका क्रममा नगद विप्रेषण मात्रै पाएको छैन, यसबाट सम्बन्धित मुलुकबाट हासिल गरेको ज्ञान, सीप, प्रविधि र उद्यमशीलता प्राप्त भएको छ । नेपाल श्रमशक्ति सर्भे (२००९) ले क्षेत्रगत वितरणमा धेरै विप्रेषण पश्चिमाञ्चल र एकदम कम सुदूरपश्चिमाञ्चलमा गएको छ । यही विप्रेषणबाट नेपालीको चुलो बलेको छ । शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याएको छ । घरमा विवाह, व्रतबन्धजस्ता सामाजिक संस्कार चलाएको छ, गाउँघरमा ससाना विकासकार्य बढाएको छ । अन्ततः मुलुकको अर्थतन्त्र चलायमान बनाएको छ ।

पछिल्लो तथ्यांकले ५५.८ प्रतिशत घरपरिवारले विप्रेषण प्राप्त गरेको देखाएको छ । वैदेशिक रोजगारीमा अधिकांश पुरुष जाने गरेकाले विप्रेषणले महिलाले पारिवारिक आर्थिक निर्णयमा भूमिका बढाएका छन् । घरायसी विषयमा नेतृत्व लिएका छन् । सम्पत्तिमा महिला स्वामित्वको वृद्धि तथा निर्णयमा महिलाले अग्रसरता हासिल गर्ने वातावरण निर्माण भएको छ । यसले घरायसी आर्थिक कारोबारमा महिलाको भूमिका क्रमशः अभिवृद्धि गराइरहेको छ । ०५२ मा ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेकामा हाल २५.१६ प्रतिशतमा र्झनुमा विप्रेषण नै प्रमुख कारक हो ।

विप्रेषणले गरिबी घटाउने मात्रै होइन, उद्यमशीलताको विकाससमेत गर्छ । द्वन्द र आर्थिक वृद्धि न्यून भएको अवस्थामा विप्रेषण आयले ग्रामीण तहमा लगानी, आर्थिक गतिविधि आदि सुचारु हुन सके । विप्रेषण आयको बढ्दो उपभोगका कारण नेपालीको आय असमानतामा सुधार आएको छ । पछिल्लो जीवनस्तर सर्वेक्षणअनुसार असमानता संकेत गर्ने दर ०.४१ बाट ०.३५ मा झरेको छ ।

देशको विद्यमान कमजोर अर्थतन्त्रको अवस्थामा विप्रेषणले मुलुकलाई आर्थिक रूपमा बचाउन सक्षम भएको सबैले स्विकारेको वास्तविकता हो । कुल वैदेशिक व्यापारमा २० प्रतिशत निकासी र ८० प्रतिशत पैठारीको हिस्सा रहेको अवस्थामा विप्रेषण नै यस्तो रामवाण बनेको छ जसले मुलुकलाई एक वर्षको वस्तु तथा सेवाको आयात गर्न सक्ने गरी वैदेशिक मुद्रा सञ्चितीको अवस्थामा पुर्‍याएको छ ।

यसैगरी  वैदेशिक मुद्रा आर्जन तथा शोधानान्तर बचत गरी बाह्य क्षेत्रको सन्तुलनमा विप्रेषणले ठूलो भूमिका खेलेको छ । वित्तीय विप्रेषणबाहेक वैदेशिक रोजगारले सामाजिक विप्रेषणमा पनि फाइदा पुग्छ । सामाजिक विप्रेषणमा सीप र ज्ञानको विकास, राम्रो बानीव्यवहार, सामाजिक र राजनीतिक सशक्तीकरण, पारिवारिक मूल्य, लैंगिक चेतना आदि पर्छन् । वैदेशिक रोजगारबाट र्फकेकाहरूले यी सामाजिक विप्रेषणलाई प्रयोग गरी समाजमा सकारात्मक सन्देश दिएका छन् ।

हाम्रो सन्दर्भमा विद्यमान आर्थिक राजनीतिक संकट, सशस्त्र द्वन्द्व, निर्यात व्यापारमा मन्दी, बढ्दो व्यापार असन्तुलन, कृषि क्षेत्रको घट्दो योगदान, बेरोजगारी, विकास खर्चमा न्यूनता, औद्योगिक क्षेत्रमा शिथिलता आदिका बाबजुद गरिबी घटेको, मानव विकासको स्थितिमा क्रमिक सुधार, वित्तीय क्षेत्रमा सुधार, भुक्तानी सन्तुलन, विदेशी मुद्राको सञ्चितीमा सुधार आदिको प्रमुख कारण विप्रेषण नै हो । यसैले विदेशमा काम गर्ने नेपालीले पठाएको विप्रेषणले नै देशको अर्थतन्त्र धानेकाले नेपालको अर्थतन्त्रलाई 'रेमिट्यान्स इकोनोमी' भन्ने गरिन्छ ।

यति हुँदाहुँदै पनि विप्रेषणको प्रयोजन त्यति उत्पादनमूलक क्षेत्रमा हुन सकेको छैन । आर्जित विप्रेषणमध्ये ७८.९ प्रतिशत उपभोगमा जान्छ । ऋण तिर्न ७.१ प्रतिशत हाराहारीमा खर्च हुन्छ । शिक्षामा ४.५ प्रतिशत, घरजग्गा सम्पत्ति खरिदमा ४.५ प्रतिशत, पुँजी निर्माणमा २.४ प्रतिशत र स्वास्थ्यलगायत अन्य क्षेत्रमा २.६ प्रतिशत खर्च हुने गरेको छ । 

सरकारले विप्रेषणको उत्पादनमूलक उपयोग तथा अन्य मुलुकहरूबाट सहज र न्यून लागतमा नेपाली कामदारले रेमिट्यान्स पठाउन सहयोग पुगोस् भन्ने उद्देश्यले अर्थ मन्त्रालयमा विप्रेषणसम्बन्धी उच्चस्तरीय कार्यदलले काम गरिरहेको छ । कामदारले आर्जन गरको रकम उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी राष्ट्रिय पुँजी निर्माणका लागि 'वैदेशिक रोजगार बन्ड' जारी हुने व्यवस्था गरिएको छ । यस्तो बन्डमा प्रचलितभन्दा बढी ब्याजदर पाउने र दोस्रो बजारमा समेत कारोबार हुन सक्ने गरी खुकुलो नीति अवलम्बन गरिएको छ ।

सरकारले जारी गरेको वैदेशिक रोजगार नीतिले विप्रेषणलाई मानवीय विकास तथा उत्पादनमूलक क्षेत्रमा अधिकाधिक रूपमा परिचालन गर्ने लक्ष्यसहित वैदेशिक रोजगारमा जाने कामदार तथा निजका परिवारलाई आर्थिक साक्षरता प्रदान गरी विप्रेषणको उपयोग प्रभावकारी बनाउने नीति अख्तियार गरेको छ । विप्रेषणलाई सधैं कुल गार्हस्थ उत्पादन र राष्ट्रिय उत्पादको अनुपातमा हिसाब गर्ने र यसको योगदानको चर्चा गरेर नथाक्ने तर यसको स्रोत नेपाली कामदार र उनीहरूको विषयलाई सधैं ओझेलमा नै रहने विडम्बनापूर्ण अवस्था छ ।

लेखक वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् ।

Published on: 26 September 2012 | Kantipur

Back to list

;