s

रेमिट्यान्सको आय नै घट्यो

कृष्ण रिजाल 

मुलुकमा अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विप्रेषण आप्रवाह (रेमिट्यान्स आय) घटेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा दुई खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १.४ प्रतिशतले कम हो ।
 
विदेशमा जाने नेपाली कामदारको संख्या घट्दै गएपछि रेमिट्यान्स आयमा गिरावट आउन थालेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । समीक्षा अवधिमा नेपालबाट कामका लागि विदेश जानेको संख्या १ प्रतिशतले घटेको छ । ‘तीन वर्षयता कामका लागि बिदेसिने नेपालीको संख्या लगातार घट्दै आएको छ,’ उनले भने, ‘त्यसकै असर अहिले रेमिट्यान्स आयमा देखिन थालेको हो ।’
 
अझै घट्न सक्छ रेमिट्यान्स
 
नेपालमा दसैँ, तिहारलगायत तथा जाडो मौसमका वेला रेमिट्यान्स बढी भित्रिने गरेको थियो । तर, त्यसको ठीकविपरीत अहिले रेमिट्यान्स आय घटेको छ । काम गर्ने जानेको संख्या घट्दै गएकै कारण अझै रेमिट्यान्स आय घट्न सक्ने थापा बताउँछन् ।
 
‘पछिल्ला वर्षहरूमा विदेशमा काम गर्न जानेको संख्या घट्दै जाँदासमेत रेमिट्यान्स वृद्धि हुँदा हामी आफैँ छक्क परेका थियौँ,’ उनले भने, ‘तर, त्यसको असर अब देखिन थालेको छ, तत्काल ठूलो दरमा रेमिट्यान्स नघट्ला, तर बढ्ने सम्भावना देखिँदैन ।’ अब रेमिट्यान्समा भर पर्न नहुने उनको भनाइ छ । खाडीमा देखिएको समस्याका कारण पनि नेपालको रेमिट्यान्स आय घटेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन् ।
 
व्यापार घाटा ११.१ प्रतिशतले बढ्यो
 
निर्यातको तुलनामा आयात वृद्धिदर उच्च भएपछि चालू आवको पहिलो चार महिनामै नेपालले तीन खर्ब सात अर्ब ९६ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११.१ प्रतिशतले बढी हो । समीक्षा अवधिमा निर्यात ७.५ प्रतिशतले घटेर २६ अर्ब ३५ करोड पुगेको छ भने आयात १०.८ प्रतिशतले बढेर तीन खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
 
चालू खाता पौने २६ अर्ब घाटामा
 
व्यापार घाटा उच्चदरमा बढ्नुका साथै विप्रेषण आयसमेत घटेपछि नेपालको चालू खाता घाटामा गएको छ । अघिल्लो वर्षको चार महिनामा एक अर्ब ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा २५ अर्ब ८१ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मुलुकको समग्र सोधानान्तर बचत पनि घटेको छ । अघिल्लो वर्षको चार महिनामा २१ अर्ब ९८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा दुई अर्ब ४० करोडले बचतमा रहेको छ ।
 
आयात न्यूनीकरण र निर्यात वृद्धिमा जोड दिनुपर्छ (डा. युवराज खतिवडा पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग)
 
चार महिनाको तथ्यांकले रेमिट्यान्स घटाएको देखाउँदैमा आत्तिहाल्नुपर्ने आवश्यकता छैन, तर सचेतचाहिँ हुनुपर्छ । बिदेसिने नेपालीको संख्या घटे पनि विदेशमा नेपालीको कमाइ बढेको छ भने औपचारिक माध्यमबाट विप्रेषण आउने प्रवृत्ति पनि बढेको छ । यो सकारात्मक हो । तर, रेमिट्यान्समा भर पर्नेभन्दा पनि आयात न्यूनीकरण र निर्यात वृद्धिमा जोड दिनुपर्छ । अहिले हाम्रो प्रणाली आफैँ धानिएको छ ।
 
विदेशी लगानी धेरै भित्र्याउनुपर्छ (नरबहादुर थापा कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक)
 
एकातिर रेमिट्यान्स घटेको छ भने अर्कातिर व्यापार घाटा उच्चदरमा बढिरहेको छ । मुलुकको अर्थतन्त्रका लागि यो चिन्ताजनक विषय हो । हाम्रो अर्थतन्त्र रेमिट्यान्सले नै धानिरहेको छ । तर, अब रेमिट्यान्समा भर पर्ने अवस्था रहेन, त्यसैले पुँजी र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्छ । यसका लागि धेरैभन्दा धेरै विदेशी लगानी भिœयाउनुपर्छ । साना उद्योग व्यवसायमा पनि विदेशी लगानी खुला गरिनुपर्छ । सेयर बजारमा समेत विदेशी लगानी खुला गरिनुपर्छ । पुँजी र उत्पादकत्व वृद्धिमा ध्यान नदिए अर्थतन्त्रमा समस्या आउनेछ ।
 
पछिल्लो तीन आर्थिक वर्षको पहिलो चार महिनामा भित्रिएको रेमिट्यान्स
आर्थिक वर्ष रेमिट्यान्स आय 
(रु. करोडमा)
०७२/७३                   २१५३८
०७३/७४                  २३२१३
०७४/७५                  २२८९४
 
स्रोत : नेपाल राष्ट्र बैंक
 
पछिल्लो तीन आर्थिक वर्षको पहिलो चार महिनामा कामका लागि बिदेसिने नेपालीको संख्या
आर्थिक वर्ष कामका लागि बिदेसिनेको संख्या
०७२/७३                      १३६५७६
०७३/७४                       १२५७८१
०७४/७५                       १२४५१८
 
स्रोत : नेपाल राष्ट्र बैंक
 
बिदेसिने १ प्रतिशत घटे
 
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) घट्दै गएको छ । समीक्षा अवधिमा कुल एक लाख २४ हजार ५१८ नेपाली कामका लागि बिदेसिएका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १ प्रतिशतले कमी हो ।
 
आव ०७३/७४ मा पनि विदेश जाने कामदारको संख्या ७.९ प्रतिशतले घटेको थियो । मुलुक संघीयतामा गएसँगै तल्लो तहमा समेत आर्थिक गतिविधि बढ्न थालेपछि बिदेसिनेको संख्या घटेको उनको भनाइ छ ।
 
Published: 25 December 2017 | Naya patrika

Back to list

;