s

रेमिट्यान्सबाट आवास बनाउन चाहने परिवारलाई सरकारले प्रोत्साहन गर्ने

काठमाडौं : सरकारले वैदेशिक रोजगारीबाट आर्जित रकमबाट आवास बनाउन चाहने परिवारलाई प्रोत्साहन गर्ने भएको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बर्षमान पुनले वैदेशिक रोजगारीबाट आर्जित रकमबाट आवास बनाउनेलाई व्यवस्थित बस्ती विकास कार्यक्रममा आवद्ध गरिने उल्लेख गरेका हुन्।

उनले भने,‘स्थानीय तहसँग समन्वय गरी विप्रेषणको रकमले घर बनाउन चाहने कम्तीमा १० परिवारलाई एकै स्थानमा एकल वा सामुहिक आवास बनाउन प्रोत्साहित गरिनेछ।’

काठमाडौं उपत्यका र अन्य सम्भाव्य स्थानमा सरकारी र निजी क्षेत्रको सहभागितामा जग्गा विकास गरी विपद् प्रतिरोधी र सुपथ मूल्यका ५० हजार आवास एकाइको विकास गरिने सरकारको योजना छ। पहिलो चरणमा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट प्रस्ताव गरिएका नयाँ शहरमा कार्यक्रम सञ्‍चालन गरिनेछ। पुनले भने, ‘दोस्रो चरणमा संभाव्यताका आधारमा काठमाडौं उपत्यका बाहिर आवास एकाइ विकास गरिनेछ।’

काठमाडौं उपत्यकाको गोदावरी, तारकेश्वर, ललितपुर, नागार्जुन, चाँगुनारायण, भक्तपुर लगायतका नगरपालिकामा जग्गा विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ। पुनले भने, ‘काठमाडौँको उत्तर पूर्व क्षेत्रमा नयाँ नगर निर्माण कार्य अगाडि बढाउन बजेट व्यवस्था गरेको छु। सुर्खेतको भेरी गंगा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक शहर बनाउन गुरुयोजना तर्जुमा गरिनेछ। नख्खु कोरिडर र धोबीखोला कोरिडर निर्माण कार्यलाई निरन्तरता दिइनेछ। डोटीको सिलगढीलाई साँस्कृतिक शहरको रूपमा विकास गरिनेछ। ’

सुरक्षित नागरिक आवास कार्यक्रम सञ्‍चालनबाट आगामी वर्ष ५४ हजार ३ सय ९२ हजार घरको फुस, पराल, खरको छानालाई जस्तापाता वा अन्य स्थायी सामग्रीले प्रतिस्थापन गरिने घोषणा गरेको छ। जनता आवास कार्यक्रम अन्तर्गत गरिब, असहाय तथा सीमान्तकृत समुदाय बसोबास गर्ने अव्यवस्थित तथा झुपडी वस्तीलाई व्यवस्थित वस्तीमा स्तरोन्नति गर्न ८० करोड विनियोजन गरेको छ। शहरी विकास मन्त्रालयतर्फ ९२ अर्ब ६३ करोड विनियोजन भएको छ।

पूर्वाधार विकास, रोजगार सिर्जना र क्षमता विकास गर्न नगरपालिकामा सञ्चालित शहरी शासकीय क्षमता विकास कार्यक्रमका लागि रु १० अर्ब विनियोजन भएको छ।

अरु के छ घोषणा ?

हुलाकी राजमार्ग आसपासका साना तथा नयाँ सहरमा सहरी पूर्वाधार निर्माण गरिनेछ। प्रमुख धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनी र लुम्बिनी कोरिडोरमा रहेका नगरपालिका तथा पोखरा र जनकपुरमा एकीकृत सहरी पूर्वाधार विकास गरिनेछ। एकीकृत सहरी पूर्वाधार विकासका लागि ४ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छु।

प्रादेशिक राजधानीमा मौलिक सहर विकास गर्न सम्भाव्यता अध्ययनका लागि रकम व्यवस्था गरेको छु। नवलपरासी बर्दघाट सुस्ता पूर्व र रुकुम पूर्व जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रको पूर्वाधार निर्माणका लागि रु।१ अर्ब २१ करोड विनियोजन गरेको छु।

बाराको सीम्रौनगढ, पर्साको ठोरी, मुस्ताङको लोमान्थाङ, उपल्लो डोल्पाको धो उपत्यका, हुम्लाको लिमी उपत्यका र कञ्‍चनपुरको चाँदनी दोधारामा नयाँ नमूना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गरिनेछ।

स्थानीय तहसँगको सहकार्यमा काठमाडौं उपत्यकाको धोबिखोला, बागमती र बिष्णुमती कोरिडोरमा स्काई(वे तथा पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइनेछ।

सहरी सौन्दर्य र स्वच्छताका लागि स्थानीय तहसँगको सहकार्यमा सहरका नदी किनारामा हरियाली प्रवर्द्धन र पार्कको निर्माण कार्यलाई अभियानका रूपमा सञ्‍चालन गरिनेछ। घना बस्तीमा खुला क्षेत्रको पहिचान र संरक्षण गर्दै समुदायको सहकार्यमा एक वडा एक पार्क निर्माण गरिनेछ। नगर विकास कोषको पुर्नसंरचना गरी सहलगानीमा सहरी पूर्वाधार निर्माण गरिनेछ।

बागमती नदीमा सुक्खायाममा न्यूनतम बहाव सुनिश्चित गर्न काठमाडौं उपत्यका वरिपरीका क्षेत्रमा जलपुनर्भरण केन्द्र निर्माण र जलाधार संरक्षण गरिनेछ। बागमती नदी प्रणालीको शान, सभ्यताको उत्थान भन्ने सोचका साथ बागमती नदीको सफाइ अभियानलाई निरन्तरता दिइनेछ। बागमती सभ्यता परियोजनाका लागि रु। २ अर्ब ७२ करोड विनियोजन गरेको छु।

Published on: 29 May 2024 | Annapurna Post

Link

Back to list

;