s

रेमिट्यान्स २० प्रतिशत बढी घट्ने

आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतिपूर्ण रहने गभर्नर अधिकारीले बताए।

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा सहभागी भएका गभर्नर अधिकारीले विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शुन्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौति थपिएको बताए।

उनले विप्रेषणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने बताए। यस आर्थिक वर्षको ८ महिनामा गत आर्थिक वर्ष यसै अवधिको तुलनामा १. ८ प्रतिशतले रेमिट्यान्स बढेको छ। साउनदेखि फागुनसम्मको अवधिमा ५ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

‘नेक्स्ट इयरमा हामीलाई विप्रेषण आप्रवाहमा ठूलो प्रेसर पर्दैछ, पर्यटन आय अलमोस्ट हामीले आश गर्न सक्दैनौं, त्यसैगरी वैदेशिक थप लगानी हामी आश गर्न सक्दैनौं, सँगसँगै नेपालबाट बाहिर एक्स्पोर्ट भन्ने कुरा पनि आउने वर्ष एकदमै नोमिनल हुन्छ’ उनले भने।

वैदेशिक मुद्राको संचितिमा केही ठूलो प्रेसरले काम गर्नुपर्ने अनुमान रहेको उनले बताए।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरु पुरा नहुने स्थिति आइसकेको गभर्नर अधिकारीले बताए।

उनले कोभिड सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको बताए। यस्तै अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दवाव पर्ने उनको भनाइ छ।

उनले वित्तीय क्षेत्रको स्थायित्वका लागि अर्थतन्त्रमा आउने संकुचनलाई ध्यान दिएर वित्तीय स्रोतलाई परिचालन गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउने तथा रोजगारी प्रवर्द्धन हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने सम्बन्धमा तयारी थालिएको बताए।

पाँच करोड भन्दा बढी कर्जा लिने ग्राहकहरुको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकहरुलाई निर्देशन दिइएको समेत गभर्नर अधिकारीले बताए। उनले कोभिडका कारण वित्तीय क्षेत्रमा ठूलो असर नपरोस भन्नका लागि क्लोजली मोनिटरिङ गर्ने व्यवस्था गरिएको बताए।

समग्र अर्थतन्त्रमा परेको असर, बैंक तथा वित्तीय क्षेत्रमा परेको असर लगायतका विषयमा छुट्टाछुट्टै अध्ययन गरी राष्ट्र बैंकले दिने सुविधा तयार गर्न खोजिएको गभर्नर अधिकारीको भनाइ छ।

Published on: 5 May 2020 | Setopati

Link

Back to list

;