s

रेमिट्यान्समा सहुलियत थपियो

आगामी वर्षको असारसम्म बिनाखाता ३ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । १ लाख रुपैयाँसम्म मात्र बैंक खाताबिना ल्याउन पाइने व्यवस्थालाई परिवर्तन गर्दै सीमा बढाइएको हो । भूकम्पपछि विदेशमा रहेकाले आफन्तलाई सजिलै रकम पठाउन सहज बनाउँदै यस्तो व्यवस्था गरिएको हो । ‘सकारात्मक असर पर्छ भन्ने सोचेर यस्तो व्यवस्था गरेका हौं,’ राष्ट्र बैंक विदेशी विनिमय विभागका कामु कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने । भूकम्प गएपछि रेमिट्यान्स भित्रिने क्रममा पनि सुधार आएको छ । ‘कति बढेको छ अहिल्यै भन्न सकिँदैन,’ उनले भने, ‘एक महिना भएपछि मात्र तुलना गर्न सकिन्छ ।’ सामान्य अवस्थाभन्दा रेमिट्यान्सको आप्रवाहमा केही सुधार भएको उनले बताए । 

बैंकिङ प्रणालीबाट भित्रिने रकम न्यून हुन थालेपछि राष्ट्र बैंकले कडाइ गर्दै बैंक तथा वित्तीय संस्थालाई खाताभन्दा बाहिरबाट रेमिट्यान्स लिन नपाइने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले सबै क्षेत्रमा शाखा नपुगेको बैंकलाई समस्या भएपछि सुधारको माग भइरहेको थियो । लगत्तै राष्ट्र बैंकले १ लाख रुपैयाँसम्मको रकम बिनाखाता पठाउन मिल्ने व्यवस्था गरेको थियो । पछिल्लो व्यवस्थाले धेरै कामदार रहेको खाडी मुलुकसँगै आकर्षत तलब पाउने जापान, कोरिया, युरोपिय मुलुकमा रहेकालाई फाइदा पुग्ने राष्ट्र बैंकको भनाइ छ ।

‘धेरै तलब हुने मुलुकबाट पनि एकै पटक रकम पठाउन सहज हुने देखेका छौं,’ ढुंगानाले भने । राष्ट्र बैंकले यस्तो व्यवस्था २०७३ असार मसान्तसम्मलाई गरेको छ । त्यपछिको एक वर्ष २ लाख रुपैयाँसम्म खाताबिना पठाउन सकिन्छ । २०७४ साउनदेखि भने १ लाख रुपैयाँ मात्र बैंक खाताभन्दा बाहिरबाट पठाउन सकिनेछ । तोकिएको रकमसम्मको रेमिट्यान्स     बैंक तथा वित्तीय संस्थाले एजेन्टमार्फत नगदमै भुक्तानी गर्न सकिन्छ । बढी रकम भने चेकमार्फत वा खातामा राखेर मात्र झिक्न सकिनेछ । भूकम्पपछि विदेशी मुद्रा भित्रिने क्रममा सुधार आएको छ । रेमिट्यान्ससँगै विदेशी सहयोग र अनुदानको मात्रा बढेको उनले बताए । 

 Published on: 10 May 2015 | Kantipur

Back to list

;