s

रेमिट्यान्समा महिलाको योगदान बढ्दो

मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने रेमिट्यान्समा महिलाको योगदान बढ्दै गएको छ। कामको खोजीमा बिदेसिने महिलाको संख्यासँगै उनीहरूले पठाउने रेमिट्यान्स हिस्सासमेत बढ्न थालेको हो। पुरुषको तुलनामा महिलाले बढी बचत गर्दा घरपरिवारमा मात्रै नभएर मुलुकलाई नै फाइदा पुग्दै गएको अर्थविद्को भनाइ छ।

विभिन्न अध्ययनअनुसार महिलाले पुरुषको तुलनामा अधिक बचत गर्ने देखाइसकेको छ। रोजगारदाता मुलुकले पनि पछिल्ला वर्षमा महिला कामदारको माग गर्न थालेका छन्। काममा लगानशील र इमानदारीले महिला कामदारको माग बढ्न थालेको हो। नेपालबाट कुल बिदेसिने कामदारमध्ये महिलाको हिस्सा ११ प्रतिशत छ।

सरकारी तथ्यांकमा कुल बिदेसिने कामदारसंख्यामा महिला साढे तीन प्रतिशत हाराहारीमा मात्र रहेको देखाइएको भए पनि विभिन्न स्वतन्त्र अध्ययनले महिलाको संख्या ११ प्रतिशत देखाएको छ।

सरकारले आधिकारिक तवरबाट मात्र बिदेसिनेको तथ्यांक राख्ने भएकाले वास्तविक विवरण आउन नसकेको हो। कुबेत, जोर्डन, इराक, अफगानिस्तानसहित खाडीका केही मुलुकमा काम गर्न गएका महिलाको विवरण सरकारसँग छैन। कुबेत, जोर्डनलगायतका मुलुकमा सरकारले महिला कामदार पठाउन प्रतिबन्ध लगाएको भए पनि गैरकानुनी रूपमा जानेक्रम रोकिएको छैन। यसकारण सरकारी तथ्यांक नमिलेको हो।

सरकारी तथ्यांकअनुसार हाल करिब ३१ लाख नेपाली विदेशमा काम गर्न गएका छन्। त्यसमध्ये एक लाख ४० हजार मात्र महिला छन्। यसलाई आधार मान्ने हो भने कुल बिदेसिने कामदारमध्ये महिलाको हिस्सा साढे तीन प्रतिशत हाराहारीमा मात्र हुन आउँछ।

मुलुक भित्रिने कुल रेमिट्यान्समा पनि महिलाको योगदान ११ प्रतिशत नै देखिएको छ। गत आर्थिक वर्षमा चार खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। यसमा ११ प्रतिशत महिलाको कमाइ हो। कुल गार्हस्थ्य उत्पादनमा हिसाब गर्दा रेमिट्यान्सको योगदान २३ प्रतिशत छ।

प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा महिलालाई आर्थिक रूपमा सबल र सक्षम बनाउन रोजगारका अवसर दिनुपर्ने बताउॅँछन्। सरकारले केही वर्षयता लैंगिक उत्तरदायी बजेट बनाउन थालेपछि महिला सशक्तीकरणका पक्षमा थुप्रै काम भएको उनको ठम्याइ छ। अझै महिला सबलीकरणका लागि थुप्रै काम गर्न बाँकी छ, उनी भन्छन्। लैंगिक पक्षलाई ध्यान दिएर बजेट निर्माण गर्नेमा बाँस्कोटाको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ।

मुलुकभित्र पर्याप्त रोजगारको अवसर सिर्जना नभएकाले वैदेशिक रोजगारमा गएर भए पनि महिलाले आफ्नो र परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने प्रयत्न गर्दैछन्। यसले महिला सशक्तीकरण निकै बढाएको छ। विकट ग्रामीण क्षेत्रका बेरोजगार महिलाले विदेशमा रोजगार पाएका छन्। थोरै भए पनि सीप सिकेका छन्। यसबाट महिलाको आत्मविश्वास बढाउन सहयोग पुगेको छ।

वैदेशिक रोजगारका विज्ञ डा. गणेश गुरुङ वैदेशिक रोजगारका कारण महिला आर्थिक रूपमा सबल हुँदै गएको बताउँछन्। 'विदेशमा गएका महिलाले पैसासँगै धेरैथोरै भए पनि सीपसमेत भित्र्याएका छन्', उनी भन्छन्।

रेमिट्यान्समा महत्त्वपूर्ण योगदान पुर्‍याए पनि खाडीमुलुकमा पुगेका महिलाले थुप्रै समस्या झेल्दै आएका छन्। कतिपय महिला कामदारले कार्यस्थलमा शारीरिक र मानसिक यातना भोग्नुपरेको छ। विदेश गएर फर्किएका महिलालाई समाज र परिवारले हेर्ने दृष्टिकोण नकारात्मक छ।

सामाजिक चेतना विकास गरी काम गरेर फर्केका महिलाप्रति समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक सुधार ल्याउन जनचेतना जागृत गराउने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको वैदेशिक रोजगारका विज्ञ बताउँछन्।

बिदेसिने अधिकांश महिला अदक्ष छन्। महिला कामदारलाई तालिम दिएर दक्ष बनाएर पठाउन आवश्यक छ। महिला कामदारलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने सुझाउ विज्ञले दिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको अवस्था छ। एक पटक विदेश गएर फर्किएका महिला कामदारलाई स्वदेशमै काम दिनका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ।

Published on: 8 March 2014 | Annapurna Post

 

Back to list

;