s

रेमिट्यान्स बढ्यो

प्रतीक्षा काफ्ले
  
युवाहरू बिदेसिने क्रमसँगै यो वर्ष जिल्लामा रेमिट्यान्स पनि ह्वात्तै बढेको छ । जिल्ला तथ्यांक कार्यालयका अनुसार वैदेशिक रोजगारीमा गएकाहरूको संख्या ५० हजार ४ सय ७६ पुगेको छ भने दैनिक २ करोड ३० लाख हाराहारी रेमिट्यान्स भित्रिने गरेको छ । 
 
सहरी तथा ग्रामीण भेगमा पनि रेमिट्यान्सको कारोबार हँुदै आएको छ । बजार क्षेत्रमा रहेका वाणिज्य, विकास बैंक, सहकारी र लघुवित्तहरूले समेत कारोबार गर्दै आएका छन् । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख महेन्द्र गुरुङका अनुसार वाणिज्य बैंकले दैनिक एक लाखको कारोबार गर्दै आएको छ । त्यस्तैगरी विकास बैंकहरूले दैनिक ५० लाखभन्दा बढी, सहकारी र लघुवित्तहरूले पनि दैनिक २० लाखभन्दा बढी कारोबार गर्ने गरेको तथ्यांकले देखाउँछ । नेपाल बैंक लिमिटेडले समेत दसैंको अवसरमा मात्र ३० लाख बराबरको रेमिट्यान्स कारोबार भएको जनायो । 
 
‘रेमिट्यान्स बढेसँगै वाणिज्य बैंकले भुक्तानीका लागि रेमिट्यान्स विभाग नै स्थापना गरेको छ,’ गुरुङले भने, ‘विकास बैंक, वाणिज्य बैंक र धेरै सहकारी भए पनि आर्थिक कारोबार बढेपछि कहिलेकाहीँ घटबढ पनि हुन्छ तर दसंैतिहारको अवसरमा निकै बढेको छ ।’ वैदेशिक रोजगारमा रहनेहरूले प्रतिव्यक्ति मासिक सरदर ८ हजारदेखि २ लाख रुपैयाँसम्म आर्जन गर्दै आएको अनुमान गर्न सकिन्छ । उनीहरूमार्फत मासिक ८ अर्ब १७ करोड रेमिट्यान्स भित्रिने गरेको छ भने त्यस्तो रकम शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रका लागि करिब २ अर्ब रुपैयाँ बिदेसिने गरेको जिल्ला तथ्यांक कार्यालयले बताएको छ । 
 
‘जिल्लामा भित्रिएको रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा सदुपयोग हुन सकेको छैन,’ जिल्ला सहकारी संघका उपाध्यक्ष संघ ताम्राकारले भने, ‘छोराछोरी श्रीमान्–श्रीमती वैदेशिक रोजगारमा गएपछि अन्य परिवारका सदस्यहरू सहर केन्द्रित हुने प्रवृत्ति बढेको छ । त्यसैले भित्रिएको रेमिट्यान्स खानपिनमा र रमाइलोमा सकिने गरेको देखिन्छ ।’ ०६८ को जनगणनाअनुसार २ लाख ८९ हजार १ सय ४८ जनसंख्या रहेको यो जिल्लामा ४६ हजार २४ पुरुष र ४ हजार ४ सय ५१ महिला वैदेशिक रोजगारीमा छन् । दैनिक सरदर ५० जना युवाहरू यो जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा बिदेसिने गरेको जिल्ला तथ्यांक कार्यालयको तथ्यांकले देखाएको छ ।
 
Published on: 25 October 2016 | Kantipur

Back to list

;