s

रेमिटयान्स बढ्दो

गएको दस महिनामा रेमिटयान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिटयान्स ७ प्रतिशतले बढेको हो । पछिल्ला केही महिना रेमिटयान्स वृद्धिदर बढ्दै गएको छ ।
 
उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रेमिटयान्स बढ्दै गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो । गत वर्षको दस महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो ।
 
गत वैशाखसम्म मुलुक भित्रिएको रेमिटयान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो । चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो ।
 
महँगी ४.१ प्रतिशत
 
बजारमा उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने रकममा कमी नआए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा बजार भाउ घटेको देखिन्छ । ‘मूल्य वृद्धिदरमा चाप पर्ने संकेतका बाबजुद केही उपभोग्य वस्तुहरूको मूल्यमा भएको गिरावटका कारण ०७५ वैशाखमा उपभोक्ता मूल्य वृद्धिदर ४.१ प्रतिशत छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ । गत चैतमा यस्तो मूल्य वृद्धिदर ५.३ प्रतिशत थियो । चालु आर्थिक वर्षको १० महिनासम्मको तथ्यांक हेर्दा वार्षिक औसत मूल्य वृद्धिदर प्रक्षेपित सीमाभन्दा न्यून रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
 
धेरै वर्षपछि गत वर्ष वार्षिक मूल्य वृद्धिदर राष्ट्र बैंकको लक्ष्यित सीमाभित्र रहेको थियो । चालु आर्थिक वर्षको वार्षिक मूल्य वृद्धिदर ७ प्रतिशतभित्रै कायम राख्ने राष्ट्र बैंकको लक्ष्य छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरले आउँदा दिनमा मूल्य वृद्धिदर दरमा चाप पर्ने सम्भावना पनि छ ।
 
Published on: 11 June 2018 | Kantipur

Back to list

;