s

रेमिट्यान्स बढ्दा र आयात घट्दा पनि सुध्रिएन विदेशी मुद्रा सञ्चिति

यज्ञ बञ्जाडे

काठमाडौँ — रेमिट्यान्समा वृद्धि र आयातमा कमी हुँदा पनि मुलुकको विदेशी मुद्रा सञ्चिति घटेको छ । अघिल्लो साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स करिब २० प्रतिशतले बढेको र आयात करिब १३ प्रतिशतले कमी आउँदा पनि विदेशी मुद्रा सञ्चिति करिब १८ अर्ब रुपैयाँले घटेको बिहीबार सार्वजनिक राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको हो ।

गत भदौमा मात्र सरकारले विदेशी मुद्रा सञ्चितिमा सुधार भएको भन्दै त्यसअघि रोक्का गरिएका चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे/कुरमुरे/लेज, रंगीन टीभी, हीरालगायत ६ प्रकारका वस्तुको आयात खुलाएको थियो । तर गत असारको तुलनामा साउनमा कुल विदेशी विनिमय सञ्चिति करिब १८ अर्ब रुपैयाँले घटेको छ ।

प्रतिवेदनका अनुसार गत साउनमा कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो १.५ प्रतिशतले घटेको हो । गत असारमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति ०७९ असारमा ९ अर्ब ५४ करोड रहेकामा ०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ ।’

गत आर्थिक वर्षमा भएको केही आयातको बाँकी भुक्तानी साउनमा भएकाले पनि रेमिट्यान्स बढ्दा र आयात घट्दा पनि विदेशी मुद्रा सञ्चितिमा कमी भएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले स्विकारे । ‘गत साउनमा मात्र करिब १७ अर्ब रुपैयाँ बराबरको उधारो आयातको भुक्तानी भएको छ,’ उनले भने, ‘यसकारण विदेशी विनिमय सञ्चिति घटेको देखिएको हो ।’ गत साउनमा अर्थतन्त्रको अवस्थामा सीमान्त सुधारको संकेत देखिए पनि जोखिम अझै बाँकी रहेको उनले बताए । ‘अर्थतन्त्र थप बिग्रिएको छैन, आशातित रूपमा सुधार पनि भएको छैन,’ उनले भने, ‘साउनमा जस्तै आउँदा महिनामा पनि आयात नियन्त्रण भएको अवस्थामा अर्थतन्त्रका सूचक सकारात्मक हुने सम्भावना छ ।’

गत भदौमा सरकारले व्यापारीसँगको सौदाबाजीमा चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे/कुरमुरे/लेज, रंगीन टीभी, हीरालगायत वस्तुको आयात खुला गरेको छ । यो निर्णयले आयात बढ्ने भएकाले आउँदा महिनामा विदेशी विनिमय सञ्चितिमा सुधारको सम्भावना न्यून रहेको अर्का एक विज्ञको भनाइ छ । ‘अहिले विदेशी मुद्रा सञ्चितिमा सुधार गर्ने महत्त्वपूर्ण विकल्प आयात नियन्त्रण र रेमिट्यान्स आप्रवाहमा वृद्धि हो । तत्काल निर्यात बढाउन सक्ने सम्भावना छैन,’ उनले भने, ‘यसकारण चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे/कुरमुरे/लेज, रंगीन टीभी, हीरालगायत वस्तुको आयात खोल्न सरकारले हतार गर्नु हुँदैनथ्यो ।’

सरकारले केही विलासी वस्तुको आयात रोक्का गरेको, राष्ट्र बैंकले करिब १४ सय वस्तुको आयातका लागि खोलिने प्रतीतपत्र (एलसी) मा कडाइ गरेको, कर्जा विस्तारमा संकुचनकारी नीति लिएको लगायत कारण गत असारसम्ममा अर्थतन्त्रका सूचकमा सुधारका संकेत देखिएको थियो । आयात घटेपछि गत साउन मसान्तसम्मको कुल विदेशी मुद्रा सञ्चितिले ८ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ । ‘आर्थिक वर्ष ०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ राष्ट्र बैंकले भनेको छ ।

२० प्रतिशतले बढ्यो रेमिट्यान्स

गत साउनमा रेमिट्यान्समार्फत ९२ अर्ब २१ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब २०.३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको साउनमा ७६ अर्ब ६२ करोड रुपैयाँ बराबर

रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु वर्षको सोही अवधिमा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढ्नु र गत वर्षको साउनमा थोरै रेमिट्यान्स आउनुले गत साउनमा रेमिट्यान्स वृद्धिदर उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ सय २२.८ प्रतिशतले बढेर ४४ हजार ५ सय ४० पुगेको छ । सोही अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७५.४ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको साउनदेखि चैतसम्म रेमिट्यान्स लगातार घटिरहेको थियो । तर वैशाखदेखि रेमिट्यान्सको वृद्धिदर सकारात्मक हुन थालेको हो । यसअनुसार गत वैशाखमा ०.२ प्रतिशत बढेको रेमिट्यान्स जेठमा ३.८ प्रतिशत र असारमा ४.८ प्रतिशतले वृद्धि भएको थियो । गत आर्थिक वर्षमा रेमिट्यान्समार्फत १० खर्ब ७ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो ।

शोधनान्तर घाटा २२ अर्ब

मुलुकको शोधनान्तर स्थिति गत साउनमा २२ अर्ब २३ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा थियो । ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति गत साउनमा १७ करोड ७७ लाखले घाटामा रहेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा १ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति गत असारसम्म करिब २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा थियो । गत आर्थिक वर्षको पहिलो महिनादेखि नै शोधनान्तर घाटा निरन्तर बढिरहेको थियो । यद्यपि गत वैशाखदेखि शोधनान्तर घाटाको वृद्धिदरमा कमी आउन थालेको हो । आयात नियन्त्रण र रेमिट्यान्समा सुधार हुन थालेपछि ती सूचकमा सीमान्त रूपमा सुधारको संकेत देखिन थालेको थियो ।

मूल्य वृद्धि लक्ष्यभन्दा बढी

राष्ट्र बैंकका अनुसार गत साउनमा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर औसत ८.२६ प्रतिशत छ । साउनको मूल्य वृद्धि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा तय गरेको लक्ष्यभन्दा बढी हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा औसत ७ प्रतिशतभित्र मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य तय गरेको छ । गत आर्थिक वर्षको साउनमा यस्तो मूल्य वृद्धिदर ४.३५ प्रतिशत थियो । गत साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ९.१८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

०७८ साउन महिनाको तुलनामा गत साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेलको मूल्य वृद्धि १९.५८, फलफूलको १८.७९, रेस्टुरेन्ट तथा होटलको ११.८४, मदिराजन्य पेय पदार्थको १०.२४ र दुग्ध पदार्थ तथा अन्डाको १०.१९ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातको २३.८८, स्वास्थ्यको १०.५४, फर्निसिङ तथा घरायसी उपकरणको ९.०४, शिक्षाको ८.११ र घरायसी उपयोगका वस्तुहरूको ७.८६ प्रतिशत छ ।

विश्व बजारमा जस्तै नेपालमा पनि मूल्य वृद्धिले निरन्तर नयाँ रेकर्ड बनाउन थालेको छ । गत आर्थिक वर्षको असोजदेखि हरेक महिना उकालो लागिरहेको मूल्य वृद्धि दर असारसम्ममा आइपुग्दा ८.०८ प्रतिशत पुगेको थियो । विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्यवस्तुको मूल्य वृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले पछिल्ला महिनामा मूल्य वृद्धि चापमा रहेको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

Published on: 16 September 2022 | Kantipur

Link

Back to list

;