s

रेमिट्यान्स बढ्दा अर्थतन्त्रका बाह्य सूचकमा सुधार

काठमाडौँ — रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि भएको र आयात केही मात्रामा घटेपछि अर्थतन्त्रका बाह्य सूचकमा सुधार देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको वित्तीय विवरणअनुसार मासिक औसत ९९ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

फागुनमा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । साउनदेखि फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.३ प्रतिशत बढी हो । अमेरिकी डलरमा भने यो आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढेर ६ अर्ब ९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा १.३ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या बढेकाले रेमिट्यान्समा सुधार देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘विदेश जानेको संख्या बढेको छ, बैंकहरूले पनि रेमिट्यान्समा १ प्रतिशत बढी ब्याज दिने गरेका छन् । यसले रेमिट्यान्स बढेको देखिन्छ,’ उनले भने । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५५९ पुगेको छ ।

विदेशी मुद्रा आर्जनको अर्को क्षेत्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भने निरन्तर घटिरहेको छ । बाह्य क्षेत्रका अनेक सूचकमा सुधार देखिँदा प्रत्यक्ष वैदेशिक लगानी भने घटेको हो । चालु आर्थिक वर्षको फागुनसम्म जम्मा १ अर्ब १७ करोड रुपैयाँ बराबर मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । जब कि गत वर्षको यस अवधिमा १६ अर्ब ३० करोड रुपैयाँ बराबर भित्रिएको थियो । प्रत्यक्ष वैदेशिक लगानी घट्दा पनि रेमिट्यान्समा आएको वृद्धिकै कारण शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) र विदेशी मुद्रा सञ्चिति बढेको हो ।

फागुन मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो । अमेरिकी डलरमा १ अर्ब १२ करोडले शोधनान्तर स्थिति बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति सुधार गर्न राष्ट्र बैंकलाई १४ महिना लागेको गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘शोधनान्तर स्थिति ऋणात्मक हुँदा हामी टाट पल्टिने अवस्थामा पो पुग्छौं कि भन्ने संशय थियो, अहिले यसमा सुधार देखिएको छ,’ मंगलबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

विदेशी मुद्रा सञ्चिति पनि असार मसान्तको तुलनामा १५.२ प्रतिशतले बढेको छ । असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तसम्म १४ खर्ब १ अर्ब २१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १२.१ प्रतिशतले बढेर १० अर्ब ६९ करोड कायम भएको छ । यस सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने अनुसन्धान विभाग प्रमुख श्रेष्ठको भनाइ छ ।

अर्थतन्त्रमा बेलाबेलामा समस्या देखिने गरेको र तिनलाई तत्कालै राष्ट्र बैंकले विभिन्न उपायमार्फत समाधान गर्दै आएको उनको दाबी छ । गत माघको तुलनामा मूल्यवृद्धि पनि फागुनमा केही संकुचनमा देखिएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार उक्त महिना उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत छ । असारसम्म वार्षिक मुद्रास्फीति ७ प्रतिशतमा झर्ने अपेक्षा गरिएको उनले बताए । बैंकहरूको ब्याजदर भने बढेको छ ।

प्रतिवेदनअनुसार ०७८ फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.९८ प्रतिशत रहेकामा यो फागुनमा १०.६४ प्रतिशत पुगेको छ । निक्षेपको भारित औसत ब्याजदर ६.९३ प्रतिशतबाट बढेर ८.३७ प्रतिशत पुगेको छ भने कर्जाको भारित औसत दर १०.६० प्रतिशतबाट बढेर १३.०३ प्रतिशत पुगेको छ । फागुनदेखि नै निक्षेप र कर्जा दुवैको ब्याजदर घट्न थालेकाले आगामी दिनमा क्रमिक सुधार हुने श्रेष्ठले जनाए ।

Published on: 12 April 2023 | Kantipur

Link

Back to list

;