s

रेमिट्यान्स अन्यत्रै

चन्द्रशेखर अधिकारी
  
वैदेशिक रोजगारीको आकर्षक मुलुक मानिएको इजरायलमा नेपालीका नाममा नेपालीभाषी आउन थालेपछि यहाँ रहेका नेपाली कामदारमा चिन्ता छाएको छ । यसले नेपालमा भित्रिने रेमिट्यान्स अन्य मुलुकमा गइरहेकाले यहाँका नेपालीहरू चिन्तित बनेका हुन् । सन् २००१ देखि वैधानिक रूपमा इजरायलमा नेपाली कामदार आउन थाले पनि त्यसको ३/४ वर्षपछि नै रोकिएको थियो । 
 
त्यस बीचमा अरू मुलुकका निकै धेरै नेपालीभाषी यहाँ आए । लामो प्रयासपछि वैशाखदेखि सरकारी स्तरबाटै नेपालीहरू इजरायल भित्रिन थालेका हुन् । 
 
पहिले आएकाहरूले ‘दलाल’ लाई मोटो रकम तिरेको भन्दै उजुरी गरेका थिए । उनीहरूको उक्त विषय अदालतसम्म पुगेपछि नेपालबाट सरकारी स्तरमा मात्र ल्याउन पाउने निर्णय अदालतले गरेको थियो । जुन इजरायल सरकारका लागि समेत नौलो निर्णय थियो । जसले गर्दा सरकारी स्तरबाट ल्याउने काममा ढिलाइ भयो र नेपालीले पाउने काममा अन्यको पहुँच बढ्दै गयो । लामो कूटनीतिक पहलपछि प्रक्रिया अघि बढेर अहिले पहिलो लटको १४ नेपाली कामदार इजरालय आइसकेका छन् । छानिएका ५९ मध्ये उनीहरू आइपुगेका हुन् । बाँकी ४५ जना जेठ महिना भरिमै आउने हुनाले उनीहरूलाई दिइने काम र स्थान छान्ने काम इजरायली सरकारको एजेन्टले गरिरहेको दूतावास अधिकारीहरूले बताए । 
 
यसरी सरकारी स्तरबाट भएको उक्त कामको पहिलो प्रयास सुरु भए पनि त्यो मोडल सफल हुने या नहुने अझै टुंगो लागेको छैन । तर, अन्य मुलुकबाट यहाँ नेपालीले गर्ने जस्तै कामका लागि आइरहेका छन् । फिलिपिन्स, भारत, थाइल्यान्ड र श्रीलंकाबाट कामदारहरू आइरहेका छन् । 
 
तर, नेपालबाट सरकारी स्तरमा ल्याउने भएकाले पनि सोचे अनुरूपको कामदार आउन पाएका छैनन् । धेरै खर्च गरेर भए पनि नेपालीहरू आएका थिए तर अहिले खर्च नलाग्ने भए पनि आउन भने नपाउँदा रकम गुमेको चिन्ता उनीहरूमा छ । 
 
यसरी उनीहरूले चिन्ता लिनुको मुख्य कारण हो यहाँको कमाइ । इजरायलमा कार्यरत नेपाली कामदारहरू अधिकांश आफ्नो काममा मात्र होइन उनीहरूको कमाइमा समेत सन्तुष्ट देखिएका छन् । सिन्धुपाल्चोक स्थायी घर भएकी रश्मि केसीले यहाँको काम र कमाइ राम्रो रहेको बताइन् । ‘महिनामा एक लाखभन्दा बढी सबै नेपालीले बचाउन सक्छन् । राम्रै खर्च गर्नेहरूले पनि,’ उनले भनिन् । 
 
वैदेशिक रोजगारीको क्रममा आठ वर्षदेखि इजरायलको कार्फसभा (हर्जेलिया) नजिकै रहेकी केसीको काम बोल्नै नसक्ने वृद्धाको स्याहार गर्ने हो । त्यस्तै जेरुसेलममा भेटिएकी उमा कार्की बताउने एक नेपालीभाषीले राष्ट्र संघ कार्यालय नजिकको बाटोमा ह्वील चियरमा एक वृद्धलाई ल्याउँदै थिइन् । उनले पनि आफू यहाँको काममा सन्तुष्ट रहेको बताइन् । धेरै बोलिरहने एक इजरायली वृद्धालाई हेर्ने जिम्मेवारी उनको रहेछ । उनले पनि ती वृद्धाले भनेको र यहाँको निकायले छुट दिएको कार्यमा संलग्न हुने, घुमाउने, खुवाउने, नुहाउने जस्ता कार्य गरिदिनुपर्ने बताइन् । 
 
काठमाडौं नैकापकी माला खनाल विगत १० वर्षदेखि इजरायलको तेलअविवमा केअर गिभरका रूपमा कार्यरत छिन् । उनले पनि आफ्नो काम र कमाइप्रति खुसी व्यक्त गर्दै भन्छिन्, ‘म मेरो काम र कमाइमा गुनासो गर्दिनँ ।
 
वृद्धालाई स्याहार गर्नुपर्ने भनेर आएको र त्यही काम गरेको छु । यसमा म सन्तुष्ट छु ।’ यसरी केयरगिभरमा काम गर्ने नेपालीहरू इजरायलमा वैधानिक तवरले ६ हजारजति छन् । अन्य बाटोबाट नेपाली भनेर आएका समेत जोड्ने हो भने ९ हजारभन्दा बढी पुग्छन् । 
 
Published on: 17 May 2016 | Kantipur

Back to list

;