s

रेमिट्यान्स आप्रवाह बढ्दो दरमा : चालू आवमा १३ खर्ब नाघ्ने संकेत

विदेशबाट नेपालीले कमाएर पठाउने रेमिट्यान्स (विप्रेषण) आप्रवाह बढ्दो क्रममा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भित्रिएको रेमिट्यान्सकै हाराहारीमा चालू आवको १० महिनामा रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षमा १० खर्ब सात अर्ब ३१ करोड रेमिट्यान्स आएको थियो । चालू आर्थिक वर्षको वैशाखसम्म १० खर्ब पाँच अर्ब १८ करोडबराबरको रेमिट्यान्स नेपालमा भित्रिएको छ ।

केन्द्रीय बैंकको १० महिनाको प्रतिवेदनअनुसार साउनदेखि वैशाखसम्म भित्रिने रेमिट्यान्स लगातार बढिरहेको छ । गत साउनमा २०.३ प्रतिशतले बढेको रेमिट्यान्स वैशाखसम्म आइपुग्दा २३.४ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले मात्रै बढेको थियो ।

कोभिड–१९ को संक्रमणकालमा विश्व अर्थतन्त्र शिथिल बन्दै जाँदा उद्योग–व्यवसाय समस्यामा पर्ने र रोजागारी गुम्दै जाने कारणले रेमिट्यान्स घट्न थालेको थियो । तर, अहिले कोभिडको असर न्यून हुँदै गइरहेकाले नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा समेत वृद्धि भइरहेको तथ्यांकले देखाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई चार लाख २१ हजार दुई सय ७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई दुई लाख ३८ हजार नौ सय ७६ पुगेको छ । चालू आर्थिक वर्षको सुरुवातमा मासिक ९० अर्बको हाराहारीमा रेमिट्यान्स वृद्धि भइरहेकोमा गत मंसिरयता मासिक एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । यही दरमा रेमिट्यान्स भित्रिरहे असारसम्ममा १३ खर्ब नाघ्ने देखिन्छ ।

विदेशी मुद्रामा सहजता

रेमिट्यान्स बढिरहेको, शोधनान्तर स्थितिसमेत बचतमा गइरहेको र आयातसमेत घटिरहेको समयमा विदेशी मुद्रा सञ्चितिलाई सहज बनाएको छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्बले बचतमा छ । गत आर्थिक वर्षको यही अवधिमा यो दुई खर्ब ८८ अर्बले घाटामा थियो ।

विदेशी मुद्रा बाहिरिने माध्यमका रूपमा रहेको आयातमा समेत कमी आइरहेको छ । यस अवधिमा आयात १६.८ प्रतिशतले घटेको छ । रेमिट्यान्स बढ्दै जानु, शोधनान्तर स्थिति बचतमा रहनु र आयात घट्दै जानुले विदेशी मुद्रामा सहजता दिएको अर्थशास्त्रीहरूको बुझाइ छ ।

रेमिट्यान्स बढ्दै जाँदा यसले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार ल्याएको अर्थशास्त्री केशव आचार्यको भनाइ छ । उनले भने, ‘अहिलेसम्म हामीलाई बचाएको भनेकै रेमिट्यान्सले हो । बीचमा केही समय रेमिट्यान्स घटेर बाह्य क्षेत्र प्रभावित भएको थियो, तर अब लय समात्न थालेको छ ।’

नेपाली मुद्रा अवमूल्यन हुँदा लाभ

कोभिडपछि विश्व बजारमा अमेरिकी डलर बलियो हुँदै गएको देखिन्छ । अहिले अमेरिकी डलरको खरिद दर १३१.६५ रुपैयाँ छ भने बिक्रीदर १३२.२५ रुपैयाँ छ । एक वर्षअघि मात्रै डलरको मूल्य १२३ रुपैयाँआसपास थियो । विदेशमा काम गर्ने नेपालीले विदेशी मुद्रामा रेमिट्यान्स पठाउँछन् । डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ ।

यसले रेमिट्यान्स आयमा पनि वृद्धि भइरहेको छ । त्यस्तै, डलरको भाउ बढ्दा निर्यात र पर्यटन आयमा समेत टेवा पुगेको छ । तर, पछिल्लो समय माग कमजोर भएकै कारण उत्पादन प्रभावित भएकाले निर्यात पनि खस्किँदै गइरहेको छ । १० महिनामा निर्यात २४.५ प्रतिशतले घटेको छ । नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ । तर, भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्ने विज्ञहरू बताउँछन् ।

Published on: 12 June 2023 | Naya Patrika

Link

Back to list

;