s

रेमिटयान्स ३३ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको पहिलो महिनामा ३३.१ प्रतिशतले रेमिटयान्य वृद्धि भएको छ ।गत साउनमा रेमिटयान्समार्फत ७३ अर्ब ९५ करोड रुपैयाँ भित्रिएको हो । सोही अवधिको तुलनामा यो वर्ष ३३.१ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको साउनमा रेमिटयान्स वृद्धि ७ प्रतिशत मात्रै थियो । पछिल्ला दुई वर्षयताका प्राय: महिना रेमिटयान्स वृद्धिदर घटदो क्रममा थियो । तर, चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिटयान्स आप्रवाह वृद्धिदर उच्च देखिएको छ ।

अमेरिकी डलरको विनिमय दर बढ्नु, भारत र कोरियाबाट भित्रिने रकम बढेपछि समग्र रेमिटयान्स आप्रवाह वृद्धिदर बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्याकअनुसार गत साउनमा अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह २४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.८ प्रतिशतले बढेको थियो । यो वर्ष नेपाली मुद्रा (नेरु) सँग अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपालमा भारतबाहेक सबै राष्ट्रबाट आउने रेमिटयान्स अमेरिकी डलरमा आउँछ । यसकारण डलरको विनिमय दर बढेपछि रेमिटयान्स आप्रवाह बढ्छ र घट्दा रेमिटयान्स पनि घट्छ ।

गत आर्थिक वर्षमा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको छ । त्यसमध्ये करिब डेढ खर्ब रुपैयाँ भारतबाट मात्र आएको छ । अघिल्ला वर्षहरूमा भारतबाट निकै कम रकम मात्र वैधानिक बाटोबाट आउने गथ्र्यो । भारतमा बैंकबाहेक रेमिटयान्स कम्पनीहरू पनि सक्रिय बन्न थालेपछि वैधानिक बाटोबाट आउने रेमिटयान्स बढेको हो ।

साउनमा रेमिटयान्स वृद्धि देखिए पनि श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानको संख्या ३३.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले घटेको थियो । उक्त अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च गिरावट आएको राष्ट्र बैंकले जनाएको छ ।

मुलुक साढे २५ अर्ब घाटामा 
चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुक २५ अर्ब ३८ करोड रुपैयाँले घाटामा छ । मुलुकबाट बाहिरिने र भित्रिने रकमबीचको अन्तर देखाउने शोधनान्तर गत साउनमा करिब साढे २५ अर्ब रुपैयाँले घाटामा गएको हो । निरन्तर तीव्र गतिमा बढदै गएको आयातसँगै मुलुकको बाहय क्षेत्र अपेक्षित रूपमा सुधार नहुँदा शोधनान्तर ऋणात्मक बनेको हो ।

अघिल्ल्ला सात महिना निरन्तर घाटामा रहेको शोधनान्तर गत असारमा करिब १ अर्ब रुपैयाँले बचतमा थियो । त्यो अवस्था एक महिनाभन्दा बढी टिकेन । यही कारण चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा शोधनान्तर ऋणात्मक बन्यो ।

गएका दुई वर्षयता शोधनान्तर स्थितिमा दबाब पर्दै आएको छ । यही कारण अघिल्ला दुई वर्षका अधिकांश महिनामा चालु खाता र शोधनान्तर स्थिति घाटामा रहयो । पछिल्लो महिनामा रेमिटयान्स आप्रवाहमा सुधार आएको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर बढेपछि रेमिटयान्स आप्रवाहमा सुधार आएको हो ।

आयातमा भएको उच्च वृद्धिका कारण गत साउनमा चालु खाता घाटा बढेर २५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५ अर्ब ९८ करोड रुपैयाँ थियो । अमेरिकी डलरको आधारमा अघिल्लो वर्षको पहिलो महिना अमेरिकी डलर ५ करोड ८३ लाख रहेको चालु खाता घाटा गत साउनमा अमेरिकी डलर २३ करोड ४ लाख पुगेको छ ।

मूल्य वृद्धिदर ४.२ प्रतिशत
गत साउनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.२ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर २.३ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा वृद्धि भएका कारण समीक्षा अवधिमा समग्र मूल्य वृद्धिदर बढेको राष्ट्र बैंकले जनाएको छ ।

साढे २९ करोड एफडीआई
चालु आर्थिक वर्षको पहिलो महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) २९ करोड ५७ लाख रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६१ करोड थियो । यस्तै साउनमा पुँजीगत ट्रान्सफर १ अर्ब ७० करोड छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ४७ लाख रुपैयाँ थियो ।

Published on: 29 September 2018 | Kantipur

Back to list

;