s

रेमिट्यान्स १.७ प्रतिशत घट्यो

कान्तिपुर संवाददाता 

काठमाडौँ — चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १.७ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार साउनदेखि फागुनसम्म कुल ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले कमी हो ।

गत वर्ष यसै अवधिमा रेमिट्यान्स आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने रेमिट्यान्स ३ प्रतिशतले कमी आएको छ । ८ महिनामा कुल ५ अर्ब २८ करोड डलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । फागुनमा रेमिट्यान्समा केही सुधार आउँदा गिरावट दर केही खुम्चिएको हो । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ५ खर्ब ४० अर्ब रुपैयाा रेमिट्यान्स भित्रिएको थियो । फागुनमा मात्रै ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । ८ महिनाको अवधिमा २ लाख २७ हजार ९ सय अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

Published on: 13 April 2022 | Kanitpur

Link

Back to list

;