s

रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुपअन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताए । ‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ,’ उनले भने, ‘विदेशमा रहेका नेपालीको कमाइ सुरक्षित रूपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनीहरू बनिरहेका छन् ।’

रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए । हुन्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट विदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको उनले प्रशंसा गरे ।आर्थिक वर्ष ०७९/८० को बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशितातर्फको प्रस्थान भएकाले मुलुकको वर्तमान आर्थिक अवस्थालाई बिस्तारै समाधान गरी अघि बढ्ने उनले बताए । उनले औद्योगिक वस्तु र कृषिउपजसँगै सेवा क्षेत्रको समेत निर्यात थालनी गर्ने गरी बजेट आएको बताए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रूपान्तरण गरेको बताए । गाँस, वास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउँदा दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘रेमिट्यान्सको पैसा व्यक्तिगत खपतमा बढी प्रयोग हुने गरेको देखिन्छ । पहिले त गाँस, वास र कपासको व्यवस्थापन नै गर्ने हो,’ उनले भने, ‘आउँदा दिनमा भने रेमिट्यान्सको पैसा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा आइएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट सुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिए । उनले बजेटमा आएका विषयहरू कार्यान्वयनमा जाने हो भने देशको आर्थिक गतिविधि बढ्ने सुझाव दिए ।

Published on: 13 June 2022 | Naya Patrika

Link

Back to list

;