s

रेमिट्यान्सले गरिबी निवारणमा मद्दत गरेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं — अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । रेमिट्यान्स कम्पनी आईएमईको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ’ उनले भने, ‘बिदेशमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनी बनिरहेका छन् ।’ रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए । हुण्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट विदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको उनले प्रशंसा गरे ।

आर्थिक वर्ष ०७९–८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उनको भनाइ छ । ‘बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । आर्थिक वर्ष ०७९–८० को बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ प्रस्थान गरेको उनले बताए । औद्योगिक वस्तु र कृषि उपजसँगै सेवा क्षेत्रको समेत निर्यात थालनी गर्नेगरी बजेट आएको उनको भनाइ छ । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले गाँस, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउादा दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा आईएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट सुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिए ।

Published on: 13 June 2022 | Kantipur

Link

Back to list

;