s

रेमिट्यान्स ऊर्जा क्षेत्रमा लगानी गर्छौं : प्रधानमन्त्री

चन्द्रशेखर अधिकारी

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा रहेका नेपालीको कमाइ ऊर्जामा लगानी गर्ने प्रतिबद्धता गरेका छन् । युनाइटेड अरब इमिरेट्स (यूएई) को आबुधाबीमा नेपाली कामदार तथा व्यवसायीमाझ आइतबार उनले वैदेशिक रोजगारीबाट प्राप्त पुँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजिरहेको बताए । 

दसौं विश्व भविष्य ऊर्जा सम्मेलन २०१७ मा सहभागी हुन शनिबार त्यहाँ पुगेका प्रधानमन्त्री दाहालले आबुधाबीस्थित दूतावासमा ऊर्जा सम्मेलन नेपालका लागि महत्त्व रहेको बताए । ‘जलविद्युतको प्रचुर सम्भावना भएर पनि हामीले सदुपयोग गर्न सकेका छैनौं,’ उनले भने, ‘अहिले हाम्रो ध्यान यसमै छ ।’ 

उनले आफूले विकासका कामलाई केन्द्रमा राखेर आयोजनाहरूको अनुगमन गरिरहेको जानकारी बताए । राजनीतिक विवादमा अल्झिएर विकासलाई उपेक्षा गरिँदै आएकाले मुलुक पछि परेको भन्दै अब सबै मिलेर अघि बढ्नुपर्ने बताए । ‘देश विकासका लागि हामी सबै मिलेर केही गर्नैपर्छ । अब ढिलो गर्नु हुन्न । जति अलमल हुने हो भइसकेको छ,’ उनले भने ।  

राहदानीको नवीकरण शुल्क घटाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘सरकारले विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएको छ । विदेशी भूमिमा हासिल अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला हो । तपाईंहरूले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ,’ दाहालले भने । 
प्रधानमन्त्री दाहालले संविधानको सफल कार्यान्वयनका लागि राजनीतिक सहमति कायम गर्न संवाद भइरहेको जानकारी दिए ।

‘संविधानमा सबैका भावना छन्, राष्ट्रिय एकता हासिल गर्नु छ, कसैलाई पेलेर वा ठेलेर समस्याको हल हुँदैन । सरकार सबैसँग समान रूपले संवादमा छ । संवाद सकारात्मक दिशामा छ, राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार छ,’ प्रधानमन्त्री दाहालले भने । उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको र त्यसलाई संस्थागत गर्दै लगेको बताउँदै भने, ‘मित्र मुलुकहरूमा यस प्रकारको भ्रमणहरू जरुरी छ ।’   

आबुधाबीबाट दुबईतर्फ दुईपक्षीय भेटघाटमा जानुअघि उक्त अन्तरक्रिया भएको दूतावासले जनाएको छ । दूतावास भने राजदूतविहीन छ । दाहाल सरकारमा गएको पाँच महिना भइसकेको छ तर उनले राजदूत नियुक्तिको सिफारिस गर्न सकेका छैनन् । परराष्ट्रमन्त्री प्रकाशशरण महतले कतार पुगी दुईपक्षीय भेटघाट गरेका छन् । तर, त्यहाँ पनि राजदूत छैनन् । राजदूतले जुन हैसियतमा काम गर्न सक्छन् त्यो हैसियतको काम कार्यवाहकले गर्न सक्दैनन् । कार्यवाहक नवनियुक्त अधिकृत वा उपसचिव रहने गरेका छन् । 

दाहाल आइतबार दुबईमा दुईपक्षीय भेटघाट र घुमघाममै व्यस्त भए । साइड सिन र भेटघाटपछि उनी सोमबार आबुधाबी पुग्ने र सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । दाहाल मंगलबार साइडलाइन भेटवार्तापछि स्वदेश फर्कने छन् । 

ऊर्जा सम्मेलन भाेली
युनाइटेड अरब इमिरेट्स (यूएई) का वातावरणमन्त्री थानी विन अहमद अल जायेदीले उद्घाटन भाषण गरेर सुरु हुने ऊर्जा सम्मेलनमा कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल मात्र सहभागी हुँदैछन् । प्रधानमन्त्री दाहालझैं विशेष वक्ताका रूपमा कोस्टारिकाका राष्ट्रपति लुइस गुलेरमो सोलिस, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला एमिन अब्दुल गयुम, पाराग्वेका राष्ट्रपति होरासियो कार्टिज र मोन्टेनेग्रोका राष्ट्रपति फिलिप भुजानोभिकको सहभागिता रहनेछ । सबैलाई विशेष वक्ता भनिएको छ । 

प्रधानमन्त्री दाहाल यूएईका युवराज तथा सुरक्षा मामिला उपप्रमुख शेख मोहम्मद विन जैयद अल नाह्यदको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । नेपाल र यूएईबीच कार्यकारी स्तरको भ्रमणसमेत नभएको अवस्थामा यो भ्रमण परराष्ट्र अधिकारीहरूले महत्त्वका साथ गराएका हुन् । 

Published on: 16 January 2017 | Kantipur

Back to list

;