s

रेमिट्यान्स : उपयोगिता, आवश्यकता वा विलासिता

राजु पौडेल

नेपाली समाजको एक तह रेमिट्यान्सले विलासिता बढाएको गुनासो गरिरहन्छ । विशेषतः प्राज्ञिक वर्ग जसलाई नेपाली अर्थतन्त्रको धरातल थाहा छ, गुनासोका स्रोत उनै हुन् । राष्ट्रिय ढुकुटीमा थपिने क्रयशक्तिको मुख्य आधार रेमिट्यान्स राष्ट्रको जनशक्तिले सीमापारिको श्रम बजारमा आर्जन गरेको धन हो, तसर्थ गुनासा पनि अस्वाभाविक होइनन् । त्यसो भए दुई सय वर्षभन्दा बढीको इतिहास बोकेको रेमिट्यान्सलाई त्यतिखेरदेखि नै विलासिता बढाएको आरोप लाग्थ्यो त ? हामी यो बहसलाई नियाल्ने प्रयास गर्नेछौँ ।

उपयोगिता

हामीमध्ये धेरै छौँ, जो जन्मघरको छाना र बाल्यकालको नाना बदल्न रेमिट्यान्सको ब्यग्र प्रतीक्षा गरेर बस्यौँ । पैसाको अभावमा मन कुँडिएर छिया–छिया हुँदा कम्पनी (चलनचल्तीको भाषामा भारतीय रुपैयाँलाई ‘कम्पनी’ भनिन्थ्यो) घरमा भित्रिँदा त्यो कुँडिएको मनमा भित्रिने उमंग तपाईं आफैँ स्मरण गर्नुहोस् ! आधारभूत वित्तीय आवश्यकतासँग रेमिट्यान्सको निक्कै गहिरो र प्रगाढ सम्बन्ध भेट्नु हुन्छ । जुन मूलतः उपयोगितासँग सम्बन्धित छन् । वर्षौंदेखि चुहिँदै आएका घर टाल्न, घरपरिवारको वरापरी (लत्ताकपडा, पश्चिम नेपालमा प्रयोग हुने चलनचल्तीको भाषामा लत्ताकपडालाई ‘वरापरी’ भनिन्छ) बदल्न, विभिन्न सांस्कारिक एवं सांस्कृतिक पर्व मनाउन, बिहेबारी गर्न, साहु र ऋणीबीचको सम्बन्धलाई कायम राखिराख्न, तिरो (लालपुर्जामा कायम जग्गा जमिन/घर चर्चेबापत सरकारलाई बुझाउनुपर्ने कर) तिर्न र अन्य घरायसी प्रयोजनका लागि रेमिट्यान्स मुख्य स्रोत थियो । तत्कालीन समयमा सहर वा सहरोन्मुख बजारमा मात्र व्यापार–व्यवसायका सीमित क्षेत्र उपलब्ध थिए ।

विनिमयमा आधारित तत्कालीन आर्थिक प्रणाली लेकबाट झारेका आलु बेँसीमा उत्पादन हुने धानसँग साटिन्थे । पारस्परिक मेल र सद्भाव नेपाली समुदायको परम्परागत विशेषता हो । एकापसको आवश्यकता यसैगरी परिपूर्ति हुन्थे । कृषिमा आधारित ग्रामीण क्षेत्रमा नगद प्रवाहको सहायक माध्यम ढिकुटी हुन्थ्यो । शिक्षण पेसामा संलग्न स्थानीय शिक्षक, धेरै जग्गा जमिन हुने स्थानीय साहु महाजन र ‘लाहुरे’ परिवारका सदस्यहरू ढिकुटीमा आबद्ध हुन्थे । यसबाट यो पनि पुष्टि हुन्छ कि, परम्परागत ग्रामीण आर्थिक प्रणालीमा समेत रेमिट्यान्सको प्रभाव थियो ।

विश्वव्यापी रूपमा बढ्दै गएको निर्वाध पुँजीवादी अभ्यासबाट नेपाली उपभोक्ताहरूसमेत प्रभावित बन्दै आएका छन् । परम्परागत वस्तु विनिमयको पद्धति अहिले गाउँ–गाउँबाट समेत विस्थापित भइरहेको छ । खर्चका शीर्षक बढेका छन् । शिक्षा, स्वास्थ्य र पोषणजस्ता कुराले उच्च प्राथमिकता पाउन थालेका छन् । आम्दानीका स्रोतहरू घट्दै एवं खर्चका शीर्षकहरू बढ्दै जाँदा घरमूलीलाई खर्चको स्रोत व्यवस्थापन हम्मेहम्मे पर्छ ।

यस्तै पीडाबाट बहुसंख्यक नेपाली युवायुवती प्रवासिन बाध्य छन् । यसरी प्रवासिने श्रमशक्तिले अन्तर्राष्ट्रिय श्रम बजारमा आर्जन गरेको धनले पछिल्लो समयमा रेमिट्यान्समा निर्भर परिवारको भरणपोषण मात्र गरेको छैन, देशका कर्णधार बालबालिकाहरूको गुणस्तरीय शिक्षा, स्वास्थ्य र पोषणयुक्त खानेकुराको आपूर्तिमा समेत योगदान पुर्‍याएको छ । यसर्थ चाहेर वा नचाहेरै भए पनि रेमिट्यान्सको उपयोगिता झनै व्यापक बन्दै गएको निष्कर्ष निकाल्न सकिन्छ ।

आवश्यकता

व्यक्तिगत वा पारिवारिक दृष्टिले रेमिट्यान्सको उपयोगिता जे–जसरी हुँदै आएको छ मुलुकको आयात धान्न पछिल्लो समयमा रेमिट्यान्स त्यसरी नै प्रयोग हुँदै आएको छ । अतः रेमिट्यान्स मुलुकको आयात धान्ने मुख्य स्रोत हो । मौलाउँदो किनी खाने संस्कृतिमा अब रेमिट्यान्सको आवश्यकताका विषयमा थप दोहोर्‍याइरहनु नपर्ला ।

अघिल्लो आर्थिक वर्षमा ७ खर्ब ७६ अर्ब रेमिट्यान्स आप्रवाह भयो । जुन कुल गार्हस्थ उत्पादनको झन्डै एक तृतीयांशबराबरको रकम हो । आर्थिक वर्ष ०७३/७४ को तुलनामा आर्थिक वर्ष ०७४/७५ मा आप्रवाह भएको रेमिट्यान्स झन्डै–झन्डै ९ प्रतिशतले बढी हो । गत भदौमा नेपालको केन्द्रीय बैंकले संसद्को अर्थ समितिलाई यस्तै विवरण पेस गर्दैगर्दा माननीय सांसदहरूले रेमिट्यान्सले मात्रै देश समृद्ध बन्छ ? भन्ने प्रश्न गर्दै विवरण सन्तोषजनक रहेको प्रतिक्रिया दिएका समाचार सार्वजनिक भएका थिए ।

रेमिट्यान्सले देश समृद्व बन्दैन । बन्ने भए हामी मात्र होइन, विगत पाँच दशकदेखि रेमिट्यान्स अर्थतन्त्रमा निर्भर फिलिपिन्स समृद्ध बनिसकेको हुन्थ्यो । देशको श्रम देशकै भूगोलमा उपयोग गर्ने सुस्पष्ट नीति र व्यावहारिक कार्यान्वयन नभएसम्म देश समृद्ध बन्दैन । अन्यथा रेमिट्यान्स आमउपभोक्ता तथा राष्ट्रको तात्कालीक आवश्यकता परिपूर्ति गर्ने माध्यम मात्र हो । जुन नेपालले दुई सय वर्षभन्दा बढी समयदेखि अनुभव गरिरहेको छ ।

चालिसको दशकदेखि हामी बिस्तारै खाद्यान्न निर्यात गर्ने मुलुकको सूचीबाट ओझेल पर्दै गयौँ । छिमेकी मित्रराष्ट्र भारतसँगको व्यापार घाटा मात्रैको आकलन गर्ने हो भने पनि हाम्रो आयात संस्कृति कसरी बढेको छ प्रस्टै हुन्छ । आयात गर्नलाई विदेशी विनिमय सञ्चिति आवश्यक पर्छ । अर्थतन्त्रको स्थायित्वका लागि विदेशी विनिमय सञ्चिति मौज्दात राख्ने प्रचलन हुन्छ । देशको आपत्कालीन अवस्थामा अत्यावश्यक सेवा तथा वस्तुको आयात धान्न विदेशी विनिमय सञ्चिति हरेक राष्ट्रका केन्द्रीय बैंकको एक प्रमुख काम हो । नेपालको हकमा यसको मुख्य स्रोत रेमिट्यान्स नै हो । यसर्थ, विदेशी विनिमय सञ्चितिका लागिसमेत रेमिट्यान्स आवश्यक मानिन्छ ।

हामीले जतिसुकै आर्थिक समृद्विको वकालत गरे पनि आखिर रेमिट्यान्समाथिको निर्भरता कम भएको छैन । मुलुकको चल पुँजीको मुख्य स्रोत रेमिट्यान्स हो । बैंक तथा वित्तीय संस्थाहरूको बाक्लिँदो संरचना थेग्न पनि रेमिट्यान्स आवश्यक छ । अन्यथा, बैंक तथा वित्तीय संस्थाको ढोकासम्मको पहुँच स्थापित गर्ने स्रोत तत्कालका लागि अर्को देखिँदैन । संघीय संरचनाअनुसार राज्यका तिनै तहसम्म बैंक तथा वित्तीय संस्थाको पहुँच स्थापित गर्ने सरकारी योजनालाई सघाउनसमेत रेमिट्यान्स आवश्यक देखिन्छ ।

विलासिता

रेमिट्यान्स आर्जन गर्ने व्यक्ति वा प्राप्त गर्ने घरपरिवारको सदस्य अहिलेसम्म क्यासिनो गएको सुनिएको देखिएको वा पढिएको छैन । पढिएको छ, रेमिट्यान्सले विलासिता बढायो । विलासिता होइन, सक्रिय श्रम क्षमतालाई निष्क्रिय तुल्यायो । यसमा रेमिट्यान्स मात्र जिम्मेवार छैन । दायित्वबोध गर्नुपर्ने धेरै निकाय छन् । रेमिट्यान्समा आश्रित परिवारका सदस्यलाई कुटिर आयमूलक कार्यमा सरिक गराइदिने हाम्रो नीति भएको भए श्रम निष्क्रिय हुँदैनथ्यो । रेमिट्यान्स पनि बचतमा आकर्षित हुन्थ्यो र रेमिट्यान्स आर्जन गर्ने व्यक्तिको सात समुद्रपारिको तनाव पनि कम हुन्थ्यो ।

प्राज्ञिक वर्गको अलावा रेमिट्यान्सले विलासिता बढायो भन्ने अर्को पनि तप्का छ । मध्यमस्तरको पितृसत्तात्मक परम्परागत सामन्ती संस्कार, जसले सीमित समाजलाई मात्र आधारभूत, तर पक्षपातपूर्ण ढंगले बुझेको छ । घरमूली पुरुष वैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा हुँदा घर चलाउने महिला भएका छन् वा नेतृत्व तहमा महिलाको उल्लेख्य उपस्थिति भेटिन्छ । जन्तीदेखि मलामीसम्मको भूमिकामा महिलाको सहभागिता हुँदै आएको छ । समतामूलक र सन्तुलित समाजका उपज यी रेमिट्यान्सको कारणले समाजमा स्थापित हुने मौका पाएका हुन् ।

अहिले देशव्यापी जग्गाको स्वामित्वमा परिवर्तन आएको छ । धेरैथोरै आर्थिक स्वतन्त्रता मान्छेमा उपलब्ध हुँदा युगअनुसारको क्रियाकलापलाई मान्छेले अनुसरण गर्छ । हिजो समाजमा आर्थिक हैसियत कम भएको भनेर चिनिएका परिवारका बालबालिकाहरू हिजो उच्च आर्थिक हैसियत भएका भनेर ठानिनेका बालबालिकाहरूसँगै टाई लगाएर बोर्डिङ स्कुल जान थालेका छन् । अब त्यो परम्परागत शक्तिले अर्को उदाउँदो शक्तिमा रेमिट्यान्स उम्लेको वा रेमिट्यान्सले विलासिता बढाएको देख्छ ।

निष्कर्ष

दसैँ–तिहार विशेषतः चाडपर्वको समयमा पंक्तिकारले दैनिक यस्ता थुप्रै प्रश्नको प्रतिउत्तर फर्काउनुपर्ने हुन्छ जहाँ सोधिन्छ ‘चाडपर्व मनाउन रेमिट्यान्सको आप्रवाह बढेको छ, तपाईंकोमा कति प्रतिशतले बढेको छ ? हामी रेमिट्यान्समा यति धेरै निर्भर भइसकेका छौँ कि, रेमिट्यान्सविना अब हामीले हाम्रा परम्परागत मौलिक चाडपर्वसमेत उल्लासमय ढंगले मनाउन कठिन छ ।

पैसाले उपभोक्ताको क्रयशक्ति निर्धारण गर्छ । पैसा जति सजिलोसँग प्राप्त हुन्छ त्यति नै विलासितामा प्रयोग हुने हो । आफ्नो जीवनसँग साटेको रेमिट्यान्स विलासितामा प्रयोग गर्ने सुविधा हामी कसैलाई छैन । हरेक क्षेत्रमा रेमिट्यान्सको बढ्दो प्रयोगलाई प्रतिस्थापन गर्ने विधि भनेकै स्थानीय स्रोत, साधन र श्रमलाई ढिला नगरी उत्पादनमा लगाउने हो ।

लामो समयदेखि रेमिट्यान्समा निर्भर रहिआएको अवस्थालाई बिस्तारै कम गर्दै जाने चुनौती एकातिर हामीसँग छ भने अर्कोतिर आन्तरिक स्रोतका विकल्पमा ध्यान दिई देशको सीमाभित्रै प्रशस्तै रोजगारीका अवसर सिर्जना गर्ने मौका पनि छ । पर्यटन, ऊर्जा र कृषिको क्षेत्रमा विद्यमान सम्भावनालाई उजागर गरी रेमिट्यान्समा आश्रित नेपाली अर्थतन्त्रलाई आफ्नै मौलिक स्रोतमा फर्काउन सम्भव छ ।

Published on: 12 March 2019 । Nayapatrika

Back to list

;