s

रेमिट्यान्स कम्पनीबाट ६० हजारभन्दा बढी नगद पठाउन नपाइने

कमल नेपाल 

रेमिट्यान्स कम्पनीबाटै व्यवस्थाको दुरुपयोग

अब स्वदेशमै एक ठाउँबाट अर्को ठाउँमा रेमिट्यान्स कम्पनीमार्फत दैनिक ६० हजारभन्दा बढी नगद पठाउन र झिक्न नपाइने भएको छ। एक पटक वा दैनिक ६० हजारभन्दा बढी नगद पठाउन र झिक्न नपाइनेगरी राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको नगद कारोबारमा कडाई गरेको हो।

६० हजारभन्दा बढी रकम एकै पटक पठाउनु परेको खण्डमा बैंक खातामार्फत पठाउनुपर्नेछ। अथवा अर्को दिन पुनः ६० हजार रुपैयाँसम्मकै रकम रेमिट्यान्स कम्पनीमार्फत पठाउन सकिनेछ। यसअघिसम्म दैनिक वा एक पटकमा १ लाख रुपैयाँसम्म नगद पठाउन र झिक्न पाइने व्यवस्था थियो। २ लाखसम्मको कारोबार व्यवस्थालाई वैशाखदेखि १ लाखमा झारिएको थियो। यो रकम पनि बढी भएको भन्दै राष्ट्र बैंकले अहिले ६० हजारमा झारेको हो।

नगद कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले आन्तरिक रेमिट्यान्समा यस्तो व्यवस्था गरिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए। 'सर्वसाधारणलाई बैंकिङ कारोबारमा प्रोत्साहन गर्न र नगद कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले यो व्यवस्था गरिएको हो' ढकालले सेतोपाटीसँग भने।

ठूलो कारोबार बैंकिङ प्रणालीबाटै गर्नुपर्नेमा उनले जोड दिए। यदी रेमिट्यान्स कम्पनीबाटै सोभन्दा बढी रकम पठाउन वा झिक्नु परेको खण्डमा अर्को दिन कारोबार गर्न सकिने उनले बताए। यो व्यवस्थालाई रेमिट्यान्स कम्पनीहरुले पनि सहयोग गर्ने बताएका छन्। आइएमई रेमिट्यान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यो व्यवस्थाले नगदको दुरुपयोग घटाउने विश्वास व्यक्त गरे। चोरिने, हराउने वा नष्ट हुने समस्यालाई पनि यसले घटाउने उनको भनाई छ।

आन्तरिक रुपमा एउटा व्यक्तिले पठाउने रेमिट्यान्स रकम धेरै नहुने भएकाले ६० हजारको सीमा कम नभएको उनले बताए। ठूलो रकम पठाउन परेमा सर्वसाधारण बैंकतिर जानुपर्ने हुँदा रेमिट्यान्स कम्पनीको व्यवसाय घट्ला नि ? भन्ने प्रश्नमा उनले भने 'व्यवसायमा केही असर पर्ला, तर राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्न भनेर ल्याएको व्यवस्थालाई कार्यान्वयन गर्नु हाम्रो दायित्व पनि हो।' रेमिट्यान्स कम्पनीहरु पनि नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल प्रणालीको विकास गर्नुपर्ने पक्षमा रहेको उनले बताए। 'यही कारण अहिले रेमिट्यान्स कम्पनीहरुले मोवाइल वालेटको विकास गर्ने क्रम बढेको छ, अन्य डिजिटल प्रणालीको विकास हुँदै गएको छ' उनले भने।

रेमिट्यान्स कम्पनीबाटै व्यवस्थाको दुरुपयोग

एक पटकमा ६० हजारसम्म पठाउन पाउने व्यवस्थाको दुरुपयोग झनै बढ्ने भएको छ। यसअघि १ लाख रुपैयाँसम्मको व्यवस्था हुँदा पनि त्यसको दुरुपयोग हुने गरेको थियो। रेमिट्यान्स कम्पनीहरुले नै यो व्यवस्थाको दुरुपयोग गर्ने गरेको पाइन्छ। रेमिट्यान्स कम्पनीहरुले धेरै रकम भएको खण्डमा आफ्नै कर्मचारीको सहयोगबाट धेरै रकम पठाउने र प्रदान गर्ने काम गर्दै आएका छन्। 'पठाउनेतिर हाम्रै नामबाट र रकम झिक्नेतिर त्यहाँ भएका कर्मचारीको नाममा पठाइदिन्छौँ, तपाईहरुले त्यहाँका कर्मचारीबाट रकम लिन सक्नुहुन्छ' रेमिट्यान्स कम्पनीमा कार्यरत एक कर्मचारीले भने।

यस्तो दुरुपयोग राष्ट्र बैंकलाई भने थाहै छैन। यदी रेमिट्यान्स कम्पनीका कर्मचारीहरुले त्यस्तो गरेको पाइएमा कारबाही हुने राष्ट्र बैंकले जनाएको छ। 'कर्मचारीको सहयोगमा व्यवस्थाको दुरुपयोग गर्नु अपराध हो, त्यस्तो गरेको पाइएमा कारबाही हुन्छ', ढकालले भने। यस्ता दुरुपयोग हटाउनतिर नभई राष्ट्र बैंक सीमा घटाउनतर्फ मात्रै केन्द्रित भएको देखिन्छ। कागजमा नयाँ व्यवस्था बनाउँदै जाने, व्यवहारिक कारोबारमा भने व्यवस्थाको दुरुपयोग हुँदै जानुले नियामकको कार्य कुशलताप्रति नै प्रश्नचिन्ह खडा भएको छ।

विदेशबाट पठाउने र झिक्ने रकममा भने पुरानै व्यवस्था

विदेशबाट रेमिट्यान्स रकम पठाउनेहरुको हकमा भने सीमा तोकिएको छैन। पठाउनेको रकममा सीमा नतोकिए पनि झिक्नेले भने रेमिट्यान्स कम्पनीबाट दैनिक १ लाखभन्दा बढी नगद पाउने छैनन्। एक लाखभन्दा बढी रकम आएको खण्डमा रेमिट्यान्स कम्पनीहरुले बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था छ। अथवा अर्को दिन त्यति नै रकम नगदमार्फत भुक्तानी हुनेछ।

विदेशबाट आएको रेमिट्यान्स रकम नगदमा झिक्न पाइने अहिलेको सीमा भने कम भएको पोखरेलले बताए। 'विदेशबाट आउने रकम ठूलो हुन्छ, तसर्थ यो १ लाख रुपैयाँ कमी हो, यसलाई बढाउन हामीले सुझाव दिएका छौँ' उनले भने।

Published on: 4 February 2019 । Setopati

Back to list

;