s

राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा योजना

विदेशबाट फर्केका युवा, विद्यार्थी, दलित, महिला तथा भूकम्पपीडितलाई ३.६६ प्रतिशत ब्याजमा ५ करोडसम्म ऋण

राष्ट्रिय वाणिज्य बैंकले ५ करोड रुपैयाँसम्मको सहुलियत कर्जा दिने भएको छ । वाणिज्य बैंकले सरकारी नीति तथा राष्ट्र बैंकको निर्देशनअनुसार विनाधितो सहुलियत कर्जा दिने भएको हो । बैंकले ३.६६ प्रतिशत ब्याजदरमा विभिन्न परियोजनाका लागि विनाधितो कर्जा दिने घोषणा गरेको छ । जसअन्तर्गत व्यावसायिक कृषि, शिक्षित युवा, वैदेशिक रोजगारीबाट फर्केका युवा, दलित समुदाय व्यवसाय, भूकम्पपीडितको निजी आवासलागतयमा बैंकले कर्जा प्रवाह गर्नेछ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा अधिकतम सीमा ५ करोडसम्म दिनेछ । अन्य कर्जा भने अधिकत १० लाख रुपैयाँसम्म उपलब्ध गराउने जनाएको छ । 

सरकारले कृषि तथा पशुपक्षीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरूलाई मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न, विदेशबाट फर्केका युवालाई विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपभोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशीलताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण एवं प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न र आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरूलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनको लागि शैक्षिक ऋण उपलब्ध गराउन सहुलियत कर्जासम्बन्धी कार्यविधि बनाएको थियो । सरकारी नीतिअनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्रवाहका निर्देशन दिएको थियो । केन्द्र बैंकको निर्देशनअनुसार राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थालेको हो ।
 
कति ब्याजमा कति ऋण लिन सकिन्छ ?
 
यस्तो कर्जाका लागि सरकारले ५ प्रतिशत ब्याजअनुदान दिन्छ । वाणिज्य बैंकले आफ्नो आधार दरमा २ प्रतिशत थप गरेर ब्याज लिने जनाएको छ । हाल राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.६६ प्रतिशत रहेको छ । यसमा बैंकले २ प्रतिशत थप गरेर ८.६६ प्रतिशत ब्याज तोक्नेछ । तोकिएको ब्याजमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिनेछ । अर्थात, ऋण लिन चाहने लक्षित युवा, वर्ग तथा समुदायले ३.६६ प्रतिशत ब्याजदरमा ऋण लिन सक्नेछन् ।
 
बैंकले व्यावसायिक कृषि तथा पशुपक्षीका लागि ५ करोडसम्म र शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाखसम्म र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा ३ लाखसम्म उपलब्ध गराउनेछ । त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा र दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म उपलब्ध गराउने बैंकले जनाएको छ ।
 
कसरी लिने सहुलियत कर्जा ?
 
सहुलियत कर्जा लिन चाहने लक्षित वर्ग, समुदाय तथा युवाहरूले १० लाखसम्मको लागि साधारण र १० लाखभन्दा बढीका लागि विस्तृत परियोजना पेस गर्नुपर्ने हुन्छ । परियोजनाको बिमा गराउनुपर्नेको हकमा बिमाको पोलिसी बैंकमा पेस गरेपछि मात्र कर्जा दिइने बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि बढीमा ५ वर्षका लागि हुनेछ । बैंकले किस्ताबन्दीमा कर्जा उपलब्ध गराउनेछ । 
 
Published on: 8 January 2019 । Naya Patrika

Back to list

;