s

रसुवामा कामदारको ज्याला निर्धारण

अनु आचार्य

रसुवामा कामदारको ज्याला, ढुवानी एवं निर्माण सामग्रीको दररेट निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले कामदारको ज्याला, ढुवानी एवं निर्माण सामग्रीको दररेट निर्धारण गरेको हो । जिल्लाभरि ज्यालामा एकरूपता ल्याउन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको जिल्ला दररेट निर्धारण समिति रसुवाले जनाएको छ ।

जिल्लाको कालिका गाउँपालिका क्षेत्रमा डकर्मी, सिकर्मी, बज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकारलगायतका दक्ष कामदारका लागि दैनिक नौ सय १० रुपैयाँ ज्याला कायम गरिएको छ । त्यस्तै, ज्यामिका लागि ६ सय १० रुपैयाँ, अर्धदक्ष कामदारका लागि सात सय ८५ रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।
 
त्यस्तै, धुन्चेभन्दा उत्तरी क्षेत्रमा विभिन्न क्षेत्रका दक्ष कामदारका लागि एक हजार ५० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, ज्यामीका लागि सात सय ३५ र अर्धदक्ष कामदारका लागि सात सय ८५ रुपैयाँ कायम गरिएको छ । गोसाइकुण्ड क्षेत्रका दक्ष कामदारका लागि एक हजार ६ सय ८६ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, ज्यामीका लागि एक हजार दुई सय ७७ र अर्धदक्ष कामदारका लागि एक हजार चार सय ७४ रुपैयाँ कायम गरिएको छ ।
 
पाँचदेखि १५ प्रतिशतसम्म वृद्धि
 
जिल्ला दररेट निर्धारण समितिका अनुसार गत वर्षको दररेटमा यस वर्ष पाँचदेखि १५ प्रतिशतसम्म वृद्धि भएको छ । जिल्लाको दररेटमा उल्लेख भएको निर्माण सामग्रीबाहेक अन्य निर्माण सामग्रीको हकमा काठमाडौंको दररेटलाई आधार मानेर मूल्य कायम गरिएको समितिले जनाएको छ ।
 
त्यस्तै, वर्षात्को समयमा काम गर्दा ज्याला तथा ढुवानीमा २० प्रतिशत र जटिल र जोखिमपूर्ण कार्य गराउँदा बढीमा ५० प्रतिशतसम्म ज्याला दिनुपर्ने भएको छ । त्यस्तै, विभिन्न कार्यालयले जिपकार पाँच दिनका लागि भाडामा लिँदा इन्धन र जनशक्तिबाहेक आठ हजार रुपैयाँ भाडा तिर्नुपर्ने नियम बनाइएको समितिले जनाएको छ ।
 
Published on: 29 July 2018 | Naya Patrika

Back to list

;