s

रसुवाका २६ मजदुरको संखुवासभाबाट उद्धार

अनु आचार्य

 

रसुवाको कालिका गाउँपालिकाले संखुवासभामा अलपत्र परेका २६ जना मजदुरको उद्धार गरेर जिल्ला ल्याएको छ। 

लकडाउन सुरु हुनुअघि नै संखुवासभा पुगेका २६ मजदुरको उद्धार गरिएको गाउँपालिकाका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले जानकारी दिए। गाउँपालिकाले मजदुरको उद्धारका लागि बा.५ख ८६९२ नम्बरको बस शुक्रबार संखुवासभा पठाएको थियो। 

संखुवासभाको खाँदबारीबाट कालिका गाउँपालिकाका २१ जना, उत्तरगया गाउँपालिकाका एक र काठमाडौंका चार गरी २६ जना मजदुरको उद्धार गरिएको पौडेलले बताए। ‘रोजगारीका लागि संखुवासभा पुगेका मजदुर लकडाउन सुरु भएपछि थुनिएर एउटा होटेलमा बसेको अवस्थामा उद्धार गरेका हौँ,’ पौडेलले भने। 

उद्धार गरिएका मजदुर आइतबार ५ बजेसम्ममा रसुवा आइपुग्ने उनको भनाइ छ। जिल्ला ल्याइएका मजदुरलाई १४ दिनसम्म कालिका गाउँपालिकाले कालिका हिमालय माविमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखिनेछ। 

क्वारेन्टाइनमा स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी खटिएका छन्। क्वारेन्टाइनमा बसेकाहरूलाई खाजा र खानाको व्यवस्था गाउँपालिकाले नै गर्ने पौडेलले जानकारी दिए।

Published on: 26 April 2020 | Nayapatrika

Link

Back to list

;