s

राष्ट्रपतिले गरिन् युएईमा रहेका नेपालीलाई सम्बोधन, इमान्दार नेपालीको पहिचान बचाइराख्न आह्वान

लक्ष्मण खनाल
 
राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार नेपालीको पहिचान जोगाइराख्न युएईमा कार्यरत नेपालीलाई आह्वान गरेकी छिन् ।
 
युएईको चारदिने औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले बुधबार नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममार्फत त्यहाँ रहेका नेपालीलाई यस्तो आग्रह गरेकी हुन् । ‘नेपाली इमान्दार हुन्छन् भन्ने कुरा विश्वले बुझेको छ । यहाँ कार्यरत नेपालीले पनि इमान्दार हुन्छन् भन्ने पहिचान बनाउनुभएको छ । त्यो पहिचानलाई जोगाइराख्नुस्, नेपालीको पहिचान बचाइराख्नुस्,’ राष्ट्रपतिले भनिन् ।
 
अबुधावीमा रहेको इन्टर कन्टिनेन्टल होटलमा बुधबार साँझ आयोजित कार्यक्रममा आपूर्तिमन्त्री जयन्त चन्द, युएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, व्यवसायी उपस्थित थिए ।
 
राष्ट्रपति भण्डारीले युएईसँगको द्वैत्य सम्बन्ध स्थापनाको ४०औ“ वर्षको अवसरमा युएई सरकारको निमन्त्रणामा आफूले भ्रमण गरेको भन्दै भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको पनि बताइन् ।
 
मृत्युदण्डको सजाय पाएर विगत १४ वर्षदेखि युएईको जेलमा रहेका अमरबहादुर बमको विषयमा बोल्दै भण्डारीले बम निर्दोष रहेको नरहेको आफूले स्पष्ट भन्न नसके पनि सो विषयमा संवाद भएको जानकारी गराइन् ।
 
युएईका युवराज, प्रधानमन्त्री र सभामुखसँगको सम्बादमा नेपाल र नेपालीको हितका विषयमा छलफल भएको जानकारी दिँदै उनले इमान्दार नेपालीको पहिचानलाई निरन्तरता दिन नेपाली समुदायलार्य आह्वान गरिन् । दूतावासका द्वितीयसचिव कृष्ण अर्यालले सञ्चालन गरेको कार्यक्रममा कार्यवाहक राजदूत नेत्रबहादुर टंडनले स्वागत गरेका थिए ।
 
अन्तर्राष्ट्रिय स्वास्थ्यसम्मेलन उद्घाटन
 
राष्ट्रपतिले बुधबारै बिहान ‘अन्तिम पाइलासम्मको यात्रा, संक्रमित रोगहरूको निराकरणका लागि सहयात्रा’ भन्ने मुलनारासहित सुरु भएको अन्तर्राष्ट्रिय स्वास्थ्यसम्मेलनको उद्घाटन गरेकी थिइन् ।
 
उनले बुधबारै युएईका प्रधानमन्त्री तथा दुबई राज्यका राजा शेख मोहमद विन रसिद अल मोक्तुमसँग भेटवार्ता गरिन् । भेटको क्रममा दुवैले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । 
राष्ट्रपति भण्डारी बिहीबार नेपाल फर्कने कार्यक्रम छ ।
 
Published on: 15 November 2017 | Naya Patrika

Back to list

;