s

रसुवागढी जलविद्युत् आयोजनाले निकालेपछि घर हिँडेका मजदुर बिचल्लीमा

अनु आचार्य

 

रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा काम गर्नेे मजदुर बिचल्लीमा परेका छन् ।

१ सय ११ मेगावाट क्षमताको निर्माणाधीन आयोजनामा काम गर्ने मदजुरलाई आयोजनाले नराखेपछि उनीहरू पैदल यात्रा गरेर आफ्नो पुर्ख्याैली थलोतर्फ जाँदै थिए ।

तर, नुवाकोट प्रहरीले फर्काएपछि अहिले उनीहरू बिचल्लीमा परेका छन् ।

एक साताअघि चिनियाँ ठेकेदार कम्पनी सिडब्ल्युईले काम नभएकाले कामदार राख्न नसक्ने भन्दै हातमा चिठी थमाएपछि २६ जना मजदुर हिँडेरै बर्दियाको भुरी गाउँतर्फ लागेका थिए ।

दुई दिनको बाटो हिँडेर नुवाकोटसम्म पुगेका उनीहरूलाई नुवाकोट बट्टारबाट प्रहरीले फर्काएपछि स्थानीय प्रशासनको सहयोगमा उनीहरूलाई रसुवाको सदरमुकाम धुन्चेस्थित अस्थायी प्रहरी भवनमा राखिएको छ ।

चिसो भुइँमा एउटा कम्बलको भरमा रात बिताएको सात दिन भइसकेको उनीहरू बताउँछन् ।

दुई महिनाको कामको पैसा लिएर हिँडेको उनीहरूले अब खर्च गरेर सकिनै लागेको बताए।

अस्थायी प्रहरी चौकीमा रहेकामध्ये शंकर परियारले हिँड्दै जाने भनेर आँट गरेर हिँडेको र प्रहरीले फर्काएपछि खर्च सकिन लागेको बताए ।

उनले उता गाउँमा परिवार भोकै परेको र अलिअलि पैसा बचाएर लगेर अन्न किन्ने योजना रहेको बताए ।

दिलीप विकले कार्यरत आयोजनाले चिठी दिएर निकालेर आफूहरूलाई अमानवीय काम गरेको बताए ।

धुन्चेमा आएर बस्न थालेपछि भने उनीहरूको खानाको व्यवस्था जलविद्युत् आयोजनाले गर्न थालेको छ ।

बिचल्लीमा परेका उनीहरूलाई पुनः कम्पनीमा लैजान कम्पनीलाई आग्रह गरे पनि लैजान अस्वीकार गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

Published on: 13 May 2020 | Nayapatrika

Link

Back to list

;