s

राष्ट्रपतिसमक्ष सिँगटीवासीले भने, 'हामीलाई सुरक्षित स्थानमा सारिदिनुपर्यो्'

भूकम्प प्रभावित क्षत्रको अवलोकनका लागि दोलखाको उत्तरी २२ गाविसको केन्द्रबिन्दुका रूपमा रहेको सिँगटी बजारमा पुगेका राष्ट्रपति डा. रामवरण यादवलाई स्थानीयबासीले सुरक्षित स्थानमा स्थानतरणका लागि माग गरेका छन्।
 
वर्षायाम सुरु भइसक्दा पनि सरकारले सुरक्षित स्थानमा सार्ने सुरसार नगरेको भन्दै स्थानीयले राष्ट्रपतिसँग गुनासो गरेका हुन्। जिल्ला दैवी प्रकोप उद्धार समितिले सिँगटीलगायत उत्तरका १४ गाविसलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने भन्दै गृह मन्त्रालयमा पत्र पठाइसकेको छ।
 
सिँगटी पुगेका राष्ट्रपति यादवलाई उत्तरी क्षत्रको नागरिक समाजका तर्फबाट नौबुँदे माग राख्दै तत्काल सुरक्षित स्थानमा सार्न माग गरेका हुन्। हेलिकोप्टरमार्फत सिँगटी पुगेका राष्ट्रपति यादवले बजार अनुगमन गरेका थिए। त्यस क्रममा केही समय स्थानीयबासीसँग पनि छलफल गरेका थिए।

राष्ट्रपतिसमक्ष मागपत्र पेस गर्दै उत्तरी क्षेत्र नागरिक समाजका संयोजक पुष्प बस्नेतले आफूहरू बसेको स्थानमा निरन्तर पहिरो झरिरहेको र घरहरू पूर्ण रूपमा ध्वस्त भएकाले तत्काल सुरक्षित स्थानमा स्थातरण गर्न आग्रह गरे।
 
बस्नेतले सिँगटी बजारमा बसोबास गर्नेलाई हालसम्म राहत नदिएको, भुटानी शरणार्थीका रूपमा हेरेको, सिँगटी क्षेत्र पहिराको उच्च जोखिममा रहेकाले उनीहरूले इच्छाएको ठाउँमा बसोबासका लागि व्यवस्था गरिदिनुपर्ने, असोजसम्म सम्पूर्ण सुरक्षा निकायलाई राख्नु पर्ने, विद्युत् आपूर्ति तत्काल गर्नुपर्ने, भूगर्भविद् पठाएर जाँच गर्नुपर्नेसहित नौबुँदे माग पेस गरेका थिए।
 
यस्तै दोलखा उद्योग वाणिज्य संघ सिँगटी शाखाका अध्यक्ष सुन्दर श्रेष्ठले पनि दसबुँदे मागपत्र पेस गरेका छन्। उनले पहिरो रोकथाम र नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्था तत्काल सञ्चालन गर्नुपर्ने, च्छोरोल्पा हिमतालमा अत्याधुनिक प्रविधिसहितको साइरन जडान गरिदिनुपर्ने, अवरुद्ध सडक सञ्चालनका लागि उपकरण पठाउनुपर्ने, जोखिमपूर्ण घर तत्काल भत्काउनुपर्ने, बन्द शिक्षण संस्था र स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण गर्नुपर्ने, उत्तरी क्षत्रको एकमात्र अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने र तामाकोसी जलविद्युत् आयोजना सञ्चालनका लागि पहल गुर्नपर्नेलगायका माग पेस गरेका हुन्।
 
स्थानीयको माग सुनेपछि राष्ट्रपति यादवले प्राकृतिक विपत्तिले को ठूलो को सानो भन्ने नछुट्याएको भन्दै सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरे। 'तपाईंहरूको माग जायज छ, यो माग सरकारले तत्काल समधान गर्नुपर्छ र गर्न आग्रह पनि गर्छु', राष्ट्रपतिलाई उद्‌धृत गर्दै एक उच्च कर्मचारीले भने।
 
राष्ट्रपति यादवसँगै सिँगटी आएका सहरी विकासमन्त्री डा. नारायण खड्कालाई स्थानीयको मागका विषयमा ध्यानाकर्षणसमेत गराए थिए। वैशाख २९ गते गएको भूकम्पले सबैभन्दा बढी क्षति सिँगटी आसपासमा गरेको थियो।
 
त्यस क्षेत्रबाट ५३ जनाको शव फेला परेको थियो भने केही हराइरहेका छन्। सरकारले उपकरण पठाउन नसक्दा केही शव अझै झिक्न सकिएको छैन।
 
सिँगटी जानुअघि राष्ट्रपति यादवले सदरमुकाम चरीकोटमा राजनीतिक दलसँग र प्रशासनसँग जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका थिए। राष्ट्रपतिसँगै राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, तमोलोपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए।

Published on: 6 June 2015 | Annapurna Post
 

Back to list

;