s

रसाए सबैका आँखा

वसन्तप्रताप सिंह
 
बझाङबाट महेन्द्रनगर जाने गाडी महिला र बालबालिकाले घेरिएको थियो। गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका थिए। कोही एकअर्कालाई अँगालो हालेर रुवाबासी गरिरहेका थिए। कोही ढोगभेट गरिरहेका थिए। ३६ यात्रुको टिकट काटेको महाकाली यातायातको गाडीभित्र बसेका सबै यात्रु ५ वटा गाउँका मात्र थिए।
 
१६ जना जयपृथ्वी नगरपालिकाको खेइरा र बस्टी, ७ जना सुनिकोटको सेरागाँउ र ११ जना कैलाशको पिमी र २ जना कोटदेवलको डुंग्रीबाट कमाइका लागि भारततर्फ हिँडेका थिए। बाहिरको भीडमा उनीहरूलाई बिदाइ गर्न आएका आफन्तहरू थिए। यसरी हूल बाँधेर अधिकांश युवा भारततिर रोजगारीका लागि ओइरिन थालेपछि गाउँहरू पुरुषविहीन भएका छन्। तिहारपछि सुरु भएको भारत जानेको लर्काे अझै पनि रोकिएको छैन। 
 
‘मंसिरयता मात्र ५ सयभन्दा बढी मानिस यहाँबाट भारत गइसकेका छन्। कुनै–कुनै वडामा त एक जना पनि पुरुष भेटिँदैनन्,’ कैलाश गाविसका पूर्वअध्यक्ष सुरतबहादुर सिंहले भने, ‘कोही मर्दा लास उठाउने मान्छेसम्म गाउँमा छैनन्, १५/२० जना त परिवार र केटाकेटीसमेत लिएर हिँडेका छन्।’
 
यहाँबाट भारत जानेहरूमध्ये अधिकांशले कञ्चनपुरको सिमानाका वनबासा र केहीले कैलालीको गौरीफन्टा नाका प्रयोग गर्ने गर्छन्। ‘महाकाली यातायातको बसमा यात्रा गर्ने ७५ प्रतिशत यात्रु भारत जाने नै हुन्छन्,’ उक्त यातायातको सिमखेत काउन्टरका इन्चार्ज विनोद बमले भने, ‘कात्तिकदेखि नै इन्डिया जानेको लर्काे लागेको हो।’ उनका अनुसार यो वर्ष रोजगारीका लागि भारत जानेको संख्या गत वर्षको भन्दा दोब्बर छ। अधिकांशले श्रीमती र केटाकेटीसमेत लिएर जाने गरेको उनले बताए। 
 
६५ नाघिसकेका आमाबुबालाई ९ कक्षा पढ्ने बहिनीको जिम्मा लगाएर भारतको बेंग्लोर हिँडेका कोटदेवल–७ का प्रयाग रोकायाले गाउँमा काम नपाएपछि परिवार पाल्नका लागि भए पनि श्रीमतीसहित उता जान लागेको बताए। ‘खेतीपातीमा उब्जनी छैन, बहिनी पढाउनु छ, आमाबुबाको उपचार गर्नु छ,’ उनले भने, ‘सबैको पेट पनि पाल्नै पर्‍यो, गाउँमा काम पाइँदैन, इन्डिया नगएर के गर्नु?’ १३ वर्षको स्कुले छोरा र ब्याउने भैंसी छिमेकीको जिम्मामा छाडेर श्रीमतीसहित भारत हिँडेका कैलाशका कलु कामीले चामल किनेको ऋण तिर्न र लुगाफाटो जोर्न परदेश लाग्नुपरेको बताए। 
 
‘वैशाखमा भैंसी ब्याउने छ, त्यतिबेलासम्म फर्किहालौंला,’ उनले भने। श्रीमती र परिवारसहित गएकाहरू १/२ वर्ष बसेर फर्किने र एक्लाएक्लै गएका अधिकांश जेठको खेती लगाउने बेलासम्म आइपुग्ने गर्छन्। 
 
यसरी भारत जानेको संख्या यकिन नभए पनि तिहारपछि बझाङका विभिन्न गाउँबाट १० हजारभन्दा बढी गइसकेको अनुमान छ। भदौदेखिको खडेरीका कारण बर्खे बालीको उत्पादन घट्नुका साथै हिउँदे बालीसमेत खडेरीको चपेटामा परेपछि खाद्यान्नको समस्या टार्न पनि उनीहरू भारततिर लागेका हुन्। बझाङबाट गएकामध्ये अधिकांश भारतको बेंग्लोर, केरला, तामिलनाडु, दिल्ली, उत्तराञ्चल र उत्तरप्रदेशका विभिन्न ठाउँमा गएर दैनिक ज्यालादारी, चौकीदारी र कृषि मजदुरका रूपमा काम गर्छन्।
 
Published on: 29 December 2015 | Kantipur

Back to list

;