s

रंगेलीमा रोकिएका कैलालीका ३० मजदुर भन्छन्- हिँडेरै भए पनि घर जान चाहन्छौं

माधव घिमिरे

विराटनगर — कैलालीबाट आएर मोरङको पुरानो सदरमुकाम रंगेलीमा काम गर्दै आएका मजदुरहरुको बिचल्ली भएको छ । लकडाउन लागू भएपछि काम रोकिएको छ । भएको खर्च सकिएको उनीहरुको भनाइ छ । घर जान पाए हुन्थ्यो भनेर उनीहरु स्थानीय प्रहरी प्रशासनसँग आग्रह गरिरहेका छन् । 

रंगेलीस्थित पब्लिक माध्यमिक विद्यालयको भवन बनाउने काममा उनीहरु सहभागी थिए। फागुन १७ गते आएका ३० जना मजदुरमध्ये ५ जना महिला पनि छन्। उनीहरुले कतैबाट सवारी साधनको व्यवस्था भए त्यसैमा जाने बताए। नभए हिँडेरै भए पनि जाने तयारी गरिएको पुरन चौधरीले बताए। 

‘यति लामो समय भइसक्यो, काम बन्द छ’ उनले भने, ‘के गरेर बस्नु, घर जान पाए हुन्थ्यो, बिजोग भयो।’ हाल त्यहाँ रहेका ३० मध्ये दुईजना बस्ने र अरु २८ जना घर जाने सल्लाह गरेको उनको भनाइ छ। 

उनीहरुसँगै रहेकी सीमा चौधरीले घर र परिवारको सम्झनाले सताएको उल्लेख गर्दै यता काम नभएपछि घरमा पुर्याइदिए हुन्थ्यो भन्ने आग्रह गरेकी छन्। उनीहरुसँगै अशोक चौधरी, आस्था चौधरीलगायत कामदार रंगेलीमा बस्दै आएका छन्। 

‘लकडाउन कहिले सकिन्छ टुंगो छैन, कतिन्जेल काम नगरी यत्तिकै बस्नु?’ चौधरीले भनिन्, ‘बरु उतै गएर क्वारेन्टाइनमा बसेपछि घरमा जाऔंला भन्ने लागेको छ, जानु पो कसरी। ’ 

उनीहरुलाई हाल भवन निर्माणको काम पेटी ठेक्कामा लिएका ठेकेदारले खानपानको व्यवस्था गरिरहेको स्थानीय सञ्चारकर्मी केशव न्यौपानेले बताए। ‘खानपान त भइरहेको छ, यतिन्जेल उनीहरु बस्दै आए पनि लकडाउन लम्बिइरहेकाले समस्या भएको बताइरहेका छन्’ उनले भने, ‘दुई दिनयता भने उनीहरु घर जान पाइयोस् भनेर स्थानीय प्रहरी, प्रशासनसँग सहयोग मागिरहेका छन्।’ 

स्थानीय अगुवाहरुले प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिको सहयोगमा कुनै साधन जुटाएर घर पठाउने तयारी गरिरहेको न्यौपानेले बताए।

Published on: 22 April 2020 | Kantipur

Link

Back to list

;