s

राजमार्गमा पैदल यात्रुको विजोग: भन्छन्, ‘जीन्दगीमा नपाएको दुःख यसपालि पाइयो’

अर्जुन ओली 

 

नेपालगन्ज - कञ्चनपुर, लालझाडी–७ का प्रतापसिंह राना थारु ललितपुरबाट पैदल हिड्न सुरु गरेको एक हप्तापछि बिहीबार दिउँसो बल्लतल्ल बाँके आइपुगे। यहाँ आउँदासम्म उनका खुट्टा सुन्निएर चल्नै नसक्ने अवस्थामा छन्। 

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारीसम्म पैदल हिडेर मुस्किलले आइपुगेका उनको अवस्था निकै दयनीय देखिन्थ्यो। लकडाउनका कारण आफुले पाएको दुःख सुनाउँदै उनले नागरिकसँग भने, ‘जीन्दगीमा नपाएको दुःख यसपाली पाइयो, यो देशको नागरिक हुँ भन्ने अनुभूति नै भएन।’ 

प्रतापसिंह ललितपुरको एक चिनियाँ कम्पनीमा काम गर्र्थे। लकडाउनका कारण कम्पनीको काम अनिश्चितकालका लागि बन्द भएपछि घर फर्किनुपर्ने बाध्यता भयो, उनलाई। घर फर्किदा उनले दिनरात नभनेरै प्रायः पैदल यात्रा गरे। केही ठाउँमा भने छोटो दुरीका लागि गाडीमा चढ्न पाएका थिए।

सरकारले लकडाउनका नाममा आफ्ना जनतालाई दुःख दिएको उनको गुनासो छ। ‘यो लकडाउनमा नेता र मन्त्रीका मान्छेलाई समस्या नै छैन, तर हामी जस्ता गरिब, दुखी जनतालाई सरकारले भोकै मार्न खोज्दैछ, यो गर्मी मौसममा भोकै प्यासै पैदल हिड्दा जनतालाई कति सास्ती छ, भन्ने कल्पना नै गरेको छैन यो सरकारले,’ उनले भने। 

 ‘राजमार्गमा भोकै हिडेर दुःख पाइरहेका पैदल यात्रीलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाले भने आफ्नो क्षेत्रको सीमासम्म पु¥याउने ब्यवस्था मिलाएको छ।’  

आफुसँगै यात्रा सुरु गरेका केही साथीहरु घर पुगिसके पनि आफू हिड्न नसक्दा पछि परेको उनले सुनाए। प्रतापसिंहले थपे, ‘कम्पनीमा काम गर्ने धेरै थियौं, अरु चाहि घर पुगिसके, हामी १० जना चाही हिड्न नसकेर बिस्तारै आउँदा ढिलो भयो।’ उनीसहित कञ्चनपुर, कैलाली, बर्दिया, सुर्खेतका लागि हिडेका करिव ३० जनाको टोली थियो।

बाह्रबर्दिया नगरपालिका वडा नम्बर ७ का दिनेश बुढाथोकी मिस्त्री काम गर्न काठमाडौं गएका थिए। लकडाउन लम्बिदा बस्ने र खाने समस्या भएपछि उनी पनि डेराबाट निस्कन बाध्य भए। काठमाडौंबाट पैदल हिडेको ६ दिनपछि उनी बिहीबार दिउँसो बाँके आइपुगे। 

यात्राका क्रममा धेरै सास्ती खेप्नु परेको सुनाए। ‘दिनरात पैदल हिड्दा हिड्दा ६ दिनपछि बल्ल तल्ल बाँके आईपुग्यौं,’ उनले भने ‘यात्राको क्रममा बढी जसो पैदल हिडियो, कतै कतै खाली ट्रकमा पनि चढ्यौं।’ बाटोमा केही ठाउँमा खाना र पानी पाएपनि धेरै ठाउँमा भोकै हिड्नुपरेको बताए। ‘कसैले बाटोमा खाना र पानी दिएपछि खाइयो, नत्र भोकै आफ्नो गन्तब्यमा हिड्ने काम भयो,’ उनले भने। 

सरकारले गरेको लकडाउन कस्का लागि हो ? भन्दै दिनेशले उल्टो प्रश्न गरे। ‘सरकारले कोरोना भाइरसबाट बचाउन लकडाउन गरेको हो, भने यत्रो जनता यो गर्मि मौसममा आफ्नै देशभित्र भोकै प्यासै पैदल हिडिरहँदा सरकारलाई कत्तिपनि दया लागेन।’ सरकारले गरेको लकडाउन एक अर्थमा ठिक भएपनि अर्कोतिर बाटोमा अलपत्र परेका जनतालाई गन्तब्यसम्म पु¥याउने दायित्व सरकारको भएको उनी बताउँछन्। 

सरकारले जनतालाई कोरोना भाइरसबाट बचाउन चाहन्छ भने भोकै प्यासै सडकमा अलपत्र परेकालाई निश्चित गन्तब्यसम्म पु¥याउने ब्यवस्था मिलाउन आग्रह गरे। कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण पुर्व–पश्चिम राजमार्गमा अचेल दिनहुँ सयौंको संख्यामा सर्बसाधारण पैदल हिड्न बाध्य भएका छन्। कोही सामुहिक रुपमा हिडिरहेका छन्, भने हिड्न नसकेका ब्यक्ति समुहबाट एक्लिएका छन्। 

केहीदिन अघि पैदल यात्रा गरिरहेका बर्दियाको ठाकुरबाबा नगरपालिका निवासी एक ब्यक्ति बाँकेको राप्तीसोनारीबाट बेपत्ता भएका थिए। परिवारले खोजी गर्दापनि अझैपनि सम्पर्कमा आएका छैनन्। निकुञ्ज क्षेत्र रहेकाले उनी बाघको आक्रमणमा परेको हुन सक्ने स्थानीय र प्रहरीको आशंका छ। 

ज्याला मजदुरी, रोजगारी र पढ्ने शिलसिलामा काठमाडौं लगायत विभिन्न जिल्लामा पुगेका सर्बसाधारण नागरिक यतिबेला गर्मी मौसममा भोकै हिड्न बाध्य भएका हुन्। सरकारले बस्ने, खाने ब्यवस्था गर्न नसक्दा घर फर्किन बाध्य भएको र आफूहरुलाई गन्तब्यसम्म पु¥याउन सरकार उल्टो बाधक भइरहेको उनीहरुको गुनासो छ। 

राजमार्गमा भोकै हिडेर दुःख पाइरहेका पैदल यात्रुलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाले भने आफ्नो क्षेत्रको सिमासम्म पु¥याउने ब्यवस्था मिलाएको छ। गाउँपालिकाले पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमाक्षेत्र शिवखोलादेखी ढकेरीसम्म पु-याउने ब्यवस्था मिलाएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए। 

‘लकडाउनका कारण पैदल हिडेर दुःख पाइरहेका ब्यक्तिलाई संघिय सरकारले निश्चित गन्तब्यमा पु¥याइदिने ब्यवस्था मिलाउनुपथ्र्यो,’ उनले भने ‘हाम्रो गाउँपालिका क्षेत्रभित्र कसैले पनि भोकै प्यास पैदल हिडेर दुःख नपाउन भनेर मानवीय नाताले गाडीबाट सिमा कटाउने ब्यवस्था मिलाएका छौं।’ अलपत्र परेका ब्यक्तिलाई अन्य गाउँपालिका र नगरपालिकाले पनि यस्तो ब्यवस्था गरेर मानवीय सेवामा लाग्न अध्यक्ष थारुले आग्रह गरेका छन्। ‘जनताको स्वास्थ्य सुरक्षाकै लागि सरकारले लकडाउन गरेको छ, तर यही लकडाउनका कारण जनता भोकै प्यासै पैदल हिड्न बाध्य छन्, यसले गर्दा भोली अर्को घटना नहोला भन्न सकिदैन,’ उनले थपे। 

गाउँपालिकाले दाङको सिमाक्षेत्र कुसुममा हेल्थडेस्क स्थापना गरी पैदल यात्रुको स्वास्थ्य जाँच, खानपिन र आफ्नो सिमा क्षेत्रसम्म गाडीबाट पु-याउने सेवा सुरु गरेको अध्यक्ष थारुले बताए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले सुरक्षा निकायको सहयोगमा हेल्थ डेस्कमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए। ‘हेल्थडेस्कमा अब नियमित रुपमा स्वास्थ्यकर्मी रहन्छन्, पैदल हिडेर आएका ब्यक्तिलाई कोरोना भाइरस सम्बन्धी परामर्श दिएर उनीहरुको ब्यवस्थापन गरिन्छ,’ बस्नेतले भने। 

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत इलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) लक्ष्मण डाँगीले लकडाउन लम्बिएपछि राजमार्ग क्षेत्रममा पैदल यात्रुको चाप झनै बढेको बताए। ‘दिनरात हिडेको हिड्यै हुन्छन्, कसैले भात माग्छन्, कसैले पानी माग्छन्, बिचराहरुको अवस्था देखेर दया लाग्छ,’ डाँगीले भने।

सरकारले आफ्नै सरकारी साधन प्रयोग गरेर भएपनि अलपत्र यात्रुलाई गन्तब्यसम्म पु¥याउने ब्यवस्था मिलाउनुपर्ने यहाँका नागरिक अगुवाको सुझाव छ। ‘नेपाली सेना र सशस्त्र प्रहरीसँग रहेका ठुलो संख्याका सवारी साधन ब्यारेकभित्रै थन्केर बसेका छन्, बन्द अवस्थामा रहेका स्कुलका सवारी साधन पनि त्यसै थन्केका छन्, सरकारले यिनलाई परिचालन गरेर अलपत्र यात्रुलाई गन्तब्यमा पु-याउने ब्यवस्था मिलाउने हो भने जनताले राहत पाउने थिए,’ नागरिक समाजका अगुवा भन्छन्।

Published on: 16 April 2020 | Nagarik

Link

Back to list

;