s

राजमार्गमै सुतेर आन्दोलन गर्दै चिया मजदुर

लक्ष्मी काफ्ले, झापा

मजदुर आन्दोलन चर्किएपछि झापाका चिया उद्यमी काठमाडौंकेन्द्रित भएका छन् । चिया बगान र प्रशोधन कारखानाको काम ठप्प भएपछि आक्रोशित उद्योगी जिल्लाबाहिरै रहन थालेका हुन् । सरकारले श्रम ऐनमा तोकेको ज्याला र सेवासुविधा नपाएको भन्दै पूर्वका चिया मजदुर ३८ दिनदेखि आन्दोलनमा छन् । आन्दोलित चिया मजदुरले मंगलबार दिउँसो चर्को घाममै राजमार्गमै एक घन्टा सुतेर आन्दोलन गरेका छन् । आफ्नो आन्दोलनका विषयमा सरकार र उद्योगी गम्भीर नभएपछि मजदुरले भन्सार नाका ठप्प पार्ने, उद्योगीलाई मोसो दल्नेलगायतका कार्यक्रम पनि बनाएका छन् ।

मजदुरको यस्तो योजना थाहा पाएपछि उद्योगीहरू जिल्ला छोड्ने मनस्थितिमा पुगेका हुन् । सरकार आफैँले तोकेको ज्याला कार्यान्वयनमा ल्याउन तदारुकता नदेखाएको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाको भनाइ छ । उनले भनिन्, ‘हाम्रो आन्दोलन चर्को हुन थालेपछि उद्योगीहरू भागेर काठमाडौं गएका छन् ।’ १७ चैतबाट आन्दोलन सुरु भएको मजदुरहरूको आन्दोलन पाँचौँ चरण पूरा गरेर मंगलबारदेखि छैटौँ चरणमा प्रवेश गरेको छ । चिया मजदुरले स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइसकेका छन् । मुख्यमन्त्रीलाई भेटेर पनि आफ्नो समस्यासहित ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले तोकेको न्यूनतम ज्याला मात्र होइन, श्रम ऐन २०७४, श्रम नियमावली २०७५ र सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरूको माग छ । सरकारले ०७५ साल साउन १ गतेदेखि लागू हुने गरी चिया मजदुरको ज्याला दैनिक ३ सय ८५ रुपैयाँ तोकेको थियो । झापामा मात्र २८ वटा सिटिसी चिया उद्योगमा मजदुर कार्यरत छन् । उनीहरूले दैनिक ८ घन्टा काम गरे पनि २ सय ७८ रुपैयाँ मात्र पारिश्रमिक पाउँदै आएका छन् । ‘३८ दिनदेखि ज्याला पनि छैन, काम पनि छैन, हामी त भोकभोकै छौँ,’ चिया मजदुर ईश्वरीमाया दर्जीले भनिन्, ‘सरकारले तोकेको ज्याला नपाएसम्म हामी रोकिँदैनौँ, जसरी पनि सरकारले हामीलाई ज्याला दिलाउनुपर्छ ।’ पूर्वका झन्डै ४५ हजार चिया मजदुर एक महिनादेखि आन्दोलनमा उत्रिएका कारण एक सयभन्दा बढी चिया बगान र प्रशोधन कारखानाको काम ठप्प छ ।

दुई साताअघि अर्थमन्त्री युवराज खतिवडाले झापाको सुरुंगामा आयोजित एक कार्यक्रममा बोल्दै भनेका थिए, ‘दुवै पक्षको आ–आफ्नो अडानले मात्रै हुँदैन, यस विषयमा अविलम्ब चिया मजदुर र उद्योगी बसेर समस्याको समाधान निकाल्नुपर्छ ।’ गत वर्ष पनि ऐनअनुसारको ज्याला नपाएको भन्दै चिया मजदुर विरोधमा उत्रिएका थिए । राजनीतिक दलको आश्वासनका कारण दशैँअघि फिर्ता भएको आन्दोलन फेरि दोहोरिएको हो । ‘अब कुनै पनि बहानामा मजदुरको आन्दोलन रोकिँदैन,’ जिफन्ट प्रदेश–१ का उपाध्यक्ष सन्तकुमार राईले भने, ‘जसरी भए पनि हामीले ऐनले तोकेको ज्याला पाउनुपर्छ ।’

Published on: 8 May 2019 | Nayapatrika

Back to list

;