s

राजदूतको कार्यसम्पादन मूल्यांकन अब ग्रेडिङ प्रणालीमा

 काठमाडौं : परराष्ट्र मन्त्रालयले राजदूतहरूको ६/६ महिनामा कार्यसम्पादन मूल्यांकन गर्ने पद्दति सुरु गरेको छ।
 
राजदूतहरूको कार्यसम्पादन मूल्यांकन गर्न मन्त्रालयले विभिन्न सूचकलाई आधार मानेको छ । कार्यसम्पादन सूचक तयार गरी परराष्ट्रले विदेशस्थित दूतावास र महावाणिज्यदूतावास गरी ३२ वटै कुटनीतिक नियोग, राहदानी विभाग र कन्सुलर सेवा विभागमा पठाएको परराष्ट्र अधिकारीले जानकारी दिए।
 
राजदूतहरूले सम्बन्धित मुलुक र नेपालबीच राजनीतिक सम्बन्ध, आर्थिक सम्बन्ध र द्विपक्षीय सम्बन्ध सुदृढ गर्न गरेका प्रगतिलाई कार्यसम्पादन सूचकका रुपमा लिइएको छ।
 
त्यस्तै राजदूतहरूले नियोगको प्रसाशनिक व्यवस्थापन र नियोगमार्फत हुने राहदानी वितरण तथा कन्सुलर जन्य काम प्रभावकारी बनाउन सञ्चालन गर्ने गतिविधिलाई पनि सूचक मानिएको छ ।
 
राजदूतहरूले हरेक सूचकमा ‘ए, बि, सि र डि’ गरी चार प्रकारका ग्रेड प्राप्त गर्नेछन् । कुनै राजदूतले कार्यसम्पादन सूचकमा अति राम्रो प्रगति गर्नसके ‘ए’ग्रेड पाउनेछन् । कुनै राजदूतले कार्यसम्पादन सूचकमा मध्यम प्रगति गरेको भए ‘बि’ ग्रेड प्राप्त गर्नेछन् ।
 
कार्यसम्पादन सूचकमा कुनै प्रगति हासिल गर्न नसकेको पाइए ‘डि’ ग्रेड दिइने छ । ‘डि’ ग्रेड पाउने राजदूतले दुुई पटकसम्म गरी एक वर्षसम्म सुधार गर्न मौका पाउनेछन् । पटक—पटक राजदूतहरूले ‘डि’ ग्रेड पाएको खण्डमा राजदूतको कार्यसम्पादन अत्यन्तै फितलो र कमजोर ठहर गरिने भएको छ ।
 
राजदूतका कार्यसम्पादन मूल्यांकनका लागि परराष्ट्र सचिवको संयोजकत्वमा परराष्ट्रका सहसचिव, सम्बन्धित नियोग गर्ने डिभिजन प्रमुख र कन्सुलर सेवा विभाग र राहदानी विभागका महानिर्देशकसदस्य रहने समिति बनाइएको छ ।
 
समितिले राजदूतका गतिविधिको नियमित अनुगमन गर्नेछ । नियमित अनुगमनका आधारमा तयार गरिएको प्रतिवेदन ६/६ महिनामा परराष्ट्रमन्त्री समक्ष पेश गर्नेछ ।
 
परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले निर्धारण गरिएका सूचकहरू बमोजिम राजदूतहरूको कार्यसम्पादन मूल्यांकन गर्ने प्रक्रिया सुरु भइसकेको अन्नपूर्णलाई जानकारी दिए।
 
हाल कार्यरत राजदूतहरूलाई कार्यसम्पादन सूचक बारे जानकारी गराइएको र उनीहरूको प्रतिक्रियाका आधारमा त्यसमा सुधार गर्दै लगिने पोखरेलले बताए । इतिहासमै पहिलोपटक परराष्ट्रले राजदूतहरू को कार्यसम्पादन मूल्यांकन गर्न विभिन्न सूचकहरू निर्धारण गरेको हो ।
 
परराष्ट्रमन्त्री कमल थापाले राजदूतहरूको कार्यसम्पादन मूल्यांकन पद्दति सम्बन्धी फाइल एक साताअघि सदर गरेका हुन् । ‘मन्त्रीस्तरीय निर्णयसँगै राजदूतहरूको कार्यसम्पादन पद्दति कार्यान्वयनमा आएको छ’ प्रवक्ता पोख्रेलले भने ।
 
परराष्ट्र मन्त्रालयले ३२ वटै नियोगमा काम गर्ने राजदूतका लागि यसअघि नै कार्यविवरण तयार गरी लागू गरिसकेको छ । राजदूत नियुक्त भएर सम्बन्धित मुलुकमा जानुअघि परराष्ट्रले उनीहरूलाई कार्यविवरण दिने गरेको छ ।
 
राजदूतहरूले कार्यविवरण अनुसार काम गरे नगरेको पनि नियमित रुपमा अनुगमन गरिने छ । परराष्ट्र प्रसाशन तथा विदेशस्थित कुटनीतिक नियोगका सुधारका लागि परराष्ट्र सचिव शंकर दास बैरागीले बिभिन्न प्रयास अघि सारेका थिए । तिनै प्रयासको परिणामस्वरुप यतिबेला राजदूतको कार्यसम्पादन मूल्यांकन, नियोगको सुधार र सुदुढीकरण, मन्त्रालयको आन्तरिक सुधारलगायतका काम अघि बढेका हुन् ।
 
राजदूत र नियोग प्रमुखको कार्यसम्पादन मूल्यांकनमा प्रगति भए बिदेशस्थित नियोगको समेत प्रभावकारीता बढ्ने परराष्ट्र अधिकारीको भनाई छ । विदेशस्थित नेपाली राजदूतले नियमित रुपमा परराष्ट्र मन्त्रालयलाई पठाउने प्रतिवेदनका आधारमा राजदूतको कामको प्रगति मूल्यांकन गरिने भएको हो।
 
राजनीतिक दलको कोटा या परराष्ट्र सेवाबाट राजदूत नियुक्त भएर कार्यभार सम्हाल्न विदेशी मुलुकमा गएपछि राजदूतले गर्ने काम कारवाहीका सम्बन्धमा ठोस रुपमा अनुगमन तथा मूल्यांकन गर्ने पद्दति हालसम्म पनि थिएन ।
 
राजदूत नियुक्त भएर विदेश गएपछि राजनीतिक या कुटनीतिक सुविधा उपयोग गर्ने या धन कमाउने अवसरका रुपमा भन्दा उक्त पदलाई मुलुकको हितका लागि काम गर्ने अवसरका रुपमा लिनुपर्ने मान्यतालाई जोड दिँदै राजदूतहरूको कार्यसम्पादन मूल्यांकन आवश्यक देखिएको परराष्ट्र अधिकारीहरूको भनाई छ।
 
राजनीतिक पहुँचका आधारमा राजदूत नियुक्त भएका अधिकांश राजदूतको कार्यसम्पादन निकै कमजोर देखिने गरेको पाइन्छ । परराष्ट्र सेवाबाट राजदूत भएका सहसचिवमध्ये कतिपयले विशुद्ध जागिर या धन कमाउने अवसरका रुपमा यो पदमा लिइरहेको पाइन्छ ।
 
राजनीतिक नियुक्तिबाट बन्ने राजदूतमा कुटनीतिक ज्ञान तथा ब्यवहारको कमी हुने गरेको पाइन्छ । परराष्ट्र सेवाबाट राजदूत भएकामा कुटनीतिक ज्ञान र ब्यवहारको राम्रो अनुभव भएपनि निर्णय क्षमतामा कमजोरी देखिने गरेका छन् ।
 
सामान्यतयाः सरकारले चार वर्षका लागि विदेशस्थित नियोगमा राजदूत नियुक्ति गर्ने गरेको छ। परराष्ट्र सचिव बैरागीका अनुसार नयाँ राजदूत नियुक्तिको सिफारिस चाँडै हुनसक्ने भएकाले राजदूत छनौटका लागि नयाँ मापदण्ड पनि बनाउने तयारी भइरहेको छ ।
 
Published on: 24 January 2016 | Annapurna Post

Back to list

;