s

राजदूत सिफारिस चाँडै

काठमाडौं: सररकारले विभिन्न मुलुकमा रिक्त रहेका राजदूत पदमा नियुक्तिको सिफारिस गर्न गृहकार्य थालेको छ। 
 
सरकारले २१ देशमा राजदूत नियुक्ति सिफारिस गर्न गृहकार्य अघि बढाएको हो।इजिप्ट, जर्मनी, बेलायत, कतार, श्रीलंका, जापान, बंगलादेश, ओमन, बहराइन, ब्राजिल र साउदी अरेबियामा राजदूत रिक्त छन्। 
 
परराष्ट्र मन्त्रालयका अनुसार डेनमार्क, इजरायल, पाकिस्तान, रूस, बेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, म्यानमार, संयुक्त अरब इमिरेट्समा रहेका नेपाली राजदूतहरूको पदावधि आगामी असारमा सकिँदैछ।
 
हाल श्रीलंका, इजिप्ट, ओमन, बहराइन र ब्राजिलमा कूटनीतिक सेवाका नायब सुब्बा र अधिकृतले कार्यवाहक राजदूतको जिम्मेवारी समालिरहेका छन् । जर्मनी, बेलायत, कतार, जापान र साउदी अरेबियामा उपसचिव तहका कर्मचारी कार्यवाहक राजदूतका रूपमा छन्।
 
प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले राजदूत नियुक्तिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।'प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच राजदूत सिफारिस गर्ने विषयमा पनि छलफल भएका छन्। यही विषयमा मात्र गृहकार्यचाहिँ भएको छैन', खनालले भने। 
 
उनले योग्य, सक्षम र कूटनीतिको ज्ञान भएका व्यक्तिलाई मात्र राजदूत सिफारिस गरिने बताए।'सक्षम र कूटनीतिको राम्रो ज्ञान भएका व्यक्तिलाई राजदूत सिफारिस गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ', उनले भने। 
 
खनालका अनुसार सत्तारूढ दलमध्ये कसको कोटामा कतिजना राजदूत सिफारिस गर्ने भन्ने विषयको टुंगो चाँडै लाग्नेछ।परराष्ट्र सचिव शंकर बैरागीले राजदूत नियुक्ति सिफारिसलाई प्राथमिकतामा राख्न दुई महिनाअघि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई सुझाव दिएका थिए।
 
'विदेशस्थित नियोगमा लामो समयसम्म राजदूत रिक्त राख्दा राम्रो सन्देश जाँदैन भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ। त्यसैले राजदूत सिफारिसका लागि चाँडै गृहकार्य अघि बढ्छ', खनालले भने।
 
भारतले लगाएको नाकाबन्दीका कारण मुलुकमा संकट उत्पन्न हुँदा सरकारले राजदूत नियुक्तिको सिफारिस प्रक्रिया अघि बढाउन नसकेको अधिकारीहरूको भनाइ छ। सरकार प्रधानमन्त्रीको भारत र चीन भ्रमणको तयारीमा लागेकाले राजदूत नियुक्तिमा ध्यान दिन नसकेको दाबी अधिकारीहरूले गरेका छन्।
 
स्रोतका अनुसार राजनीतिक भागबन्डामा राजदूत सिफारिस गर्दा एमालेबाट पाँच, एमाओवादीबाट तीन, राप्रपा नेपालबाट तीन, मधेसी जनाधिकार फोरमबाट एक र साना दलबाट तीनजना पर्ने सम्भावना छ। त्यस्तै परराष्ट्र मन्त्रालयका ६ जना सहसचिव राजदूत सिफारिस हुने स्रोतको भनाइ छ।
 
एमालेबाट राजदूतको आकांक्षीमा नारद भारद्वाज वाग्ले, अञ्जान शाक्य, मिलनराज तुलाधर, सुरेश कार्की र शिवमाया सम्बाहाम्फेलगायत छन् । राप्रपा नेपालबाट सुरेश आचार्य, भरत रायमाझीलगायतको नाम चर्चामा छ। परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार मोहन श्रेष्ठले राप्रपा नेपालबाट योग्य व्यक्तिलाई राजदूत सिफारिस गरिने बताए।
 
‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका सचिवालयमा राजदूत बन्न पाऊँ भन्दै बायोडाटा बुझाउन आउनेको लर्को छ। कतिपयले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई प्रत्यक्ष भेटेर बायोडाटा बुझाएका पनि छन्', एक सरकारी अधिकारीले भने।
 
परराष्ट्र सेवाबाट सहसचिवहरू ताराप्रसाद पोख्रेल, रमेश खनाल, प्रकाशकुमार सुवेदी, सेवा लम्साल अधिकारी, लोकबहादुर थापा र दुर्गाबहादुर सुवेदी राजदूतको दाबेदार देखिएका छन्।परराष्ट्र मन्त्रालयका अनुसार डेनमार्कस्थित राजदूत मुक्तिनाथ भट्टको पदावधि आगामी वैशाख १६ मा, इजरायलस्थित राजदूत प्रह्लादकुमार प्रसाईंको जेठ ४ मा, पाकिस्तानस्थित राजदूत भरतराज पौड्यालको वैशाख १९ मा पदावधि सकिँदैछ।
 
यस्तै रूसका लागि राजदूत रविमोहन सापकोटाको वैशाख २६ मा, बेल्जियमस्थित राजदूत राममणि पोख्रेलको वैशाख २५ मा, अस्ट्रेलियास्थित राजदूत रुद्रकुमार नेपालको वैशाख २८ मा पदावधि सकिनेछ।दक्षिण कोरियाका राजदूत कमानसिंह लामाको वैशाख २२ मा पदावधि सकिँदैछ भने म्यानमारका पारस घिमिरेको असार १ गते कार्यकाल सकिँदैछ।
 
सरकारले पदावधि सकिन लागेका चीनका लागि नेपाली राजदूत महेश मास्केको कार्यकाल चार महिना थपेको थियो। तर अन्य राजदूतको पदावधि थप नहुने सरकारी अधिकारीहरूले बताए। सत्ता साझेदार दलबीच भागबन्डा नमिल्दा पूर्ववर्ती सुशील कोइराला सरकारले भारत र अमेरिकाबाहेक अन्य मुलुकमा राजदूत नियुक्त गर्न सकेको थिएन।
 
Published on: 17 January 2016 | Annapurna Post

Back to list

;