s

राजधानीमा घरेलु कामदारको शंकास्पद मृत्यु, परिवारले बुझेन शव

अस्मिता खड्का

घरेलु कामदारका रुपमा राजधानीको एक घरमा काम गर्ने युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो। युवतीको परिवारले उनको आत्महत्या नभइ हत्या भएको दाबी गर्दै शव बुझ्न अस्वीकार गरेका छ। घटनाको निष्पक्ष छानबिन गदिदिन माग गर्दै मृतकका बाबुआमाले प्रहरी गुहारेका छन्। उनीहरूले बलात्कारपछि हत्या भएको दाबीसहित घरबेटीमाथि कारबाहीको माग गरेका छन्।

के हो घटना ?

दोलखा भिमेश्वर नगरपालिका १ कि २० वर्षीया सुनिता थामी काठमाडौंको धापासीस्थित आफू काम गरिरहेको घरमा शनिबार बिहान मृत अवस्थामा भेटिएकी थिइन्। होटल व्यवसायी सुमित मैनालीको घरमा घरेलु कामदारको रुपमा चार वर्षदेखि काम गर्दै आएकी उनी घरको छतमा राखिएको पानी ट्यांकीमुनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्। शनिबार बिहान मैनालीकी ८८ वर्षीया आमा र उनका छोराछोरीमात्र घरमा थिए। मैनालीका छोराछोरीले मृत अवस्थामा सुनितालाई फेला पारेका थिए। हजुरआमाको सहयोगमा उनीहरूले छिमेकीलाई खबर गरेका र छिमेकीले प्रहरी बोलाएका थिए।

युवतीको मृत शरीर भेटिएको दिन सुमित र उनकी श्रीमती भने घरमा थिएनन्। छिमेकीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। युवतीको शव सोही दिन पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। तर, घटना शंकास्पद भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। युवतीका बाबुआमाले घटनाको निष्पक्ष छानबिन गदिदिन भन्दै मंगलबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार घटनाको अनुसन्धान जारी छ। ‘परिवारले छानबिन गरिदिन माग गरेर निवेदन दिनुभएको छ।

पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान थाल्छौँ’, उनले भने। सुनिताका बुबा पुष्करबहादुर थामी र आमा बुद्धमाया थामीले छोरीको मृत्यु शंकास्पद रहेकाले दोषीलाई कारबाहीको माग गरे। घटना थाहा पाएलगत्तै श्रीमानसहित दोलखाबाट काठमाडौं आएकी सुनिताकी आमा बुद्धमायाले छोरीको मुखभरी निलडाम रहेको, नाक र शरीरको तल्लो भागमा रगत देखेको बताइन्। सूचना पाएलगत्तै घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक प्रसाईँले शव उठाउँदा रगत देखेको पुष्टि गरे। 'रगत देखिएको हो तर कुनै भेजिनल इन्जुरी (योनीमा चोट) नभएको चिकित्सकको रिपोर्ट छ', उनले भने, 'परिवारले शंका गर्नु स्वभाविक हो तर पोस्टमार्टम रिपोर्ट आएपछिमात्र केही भन्न सकिन्छ।' आफूले पटकपटक छोरीलाई घर पठाइदिन आग्रह गर्दापनि घरबेटीले नमानेको आमा बुद्धमायाको गुनासो छ। ‘गरिबीका कारण चिनेको छिमेकीको भरमा छोरीलाई काम गर्न काठमाडौं पठाएँ। स्तो देख्नु पर्‍यो, बरु केही बिगार गरेकी भए घरबाट निकालिदिएको भए हुन्थ्यो’, मंगलबार महाराजगञ्ज प्रहरीमा भेटिएकी उनले भनिन्।

अभियुक्त भन्छन्- छोरीजस्तै मानेको थिएँ

काठमाडौंको धापासी निवासी होटल व्यवसायी समेत रहेका सुमित मैनाली सुनितालाई आफूले छोरीसरह व्यवहार गरेको बताउँछन्। ‘हामीले सुनितालाई आफ्नै छोरीसरह माया गरेर राखेका थियौँ’, उनले भने, ‘घटनाले हामी पनि दु:खी छौँ।’ सुमितका अनुसार सुनिता महिनावारी भएकी थिइन्। व्यवहार सामान्य व्यक्तिभन्दा फरक थियो। ‘कान नसुन्ने, एक्लै बर्बराउने र डिप्रेस्ड थिई,’ उनले भने, ‘यही कारण आत्महत्या गरेको हुन सक्छ।’ सुनितालाई काम लगाइदिन आफूले काठमाडौं ल्याएको दोलखा भिमेश्वर नगरपालीका २ कि कमला शिवाकोटी बताउँछिन्। उनले सुमितको घरमा काम लगाइदिएकी थिइन्। यसअघि पनि आफूले सुनिता जस्तै दोलखाका दुई बालिकालाई घरमा काम लगाइदिन काठमाडौँ ल्याएको उनले बताइन्। कमला दोलखामै किराना पसल चलाउँछिन्।

Published on: 29 May 2019 | Annapurna Post

Back to list

;