s

रेलबाट हामफालेका साथी बचाउन खोज्दा..

शिबराज भट्ट

भारतको बेंगलोरमा गुडिरहेको रेलबाट हामफालेका साथीको खोजी गर्न झरेका दार्चुलाका तीन जनाको रेलले किचेर ज्यान गएको छ । कामका लागि बेंगलोर गएका दार्चुलाको अपी नगरपालिकाका–४ कोटका ५९ वर्षीय देवदत्त भट्ट, सोही गाविसको वडा नं. ५ कोटकौतलीका ३५ वर्षीय किसनसिंह कुवँर र सोही ठाउँका २५ वर्षीय लालसिंह कुवँरको मंगलबार विहान ४ बजे रेलले किच्दा मृत्यु भएको किसनका दाजु कम्मानसिंह कुवँरले जानकारी दिए ।

उनीहरुसँग गएका अपी–७ काटैका मन्या लोथ्यालले गुडिरहेको रेलबाट मंगलबार विहान ४ बजेतिर, भारतको जलापुरमा हामफालेका थिए । साथीले हामफालेको खबर टिटिलाई गराएपछि ८ किलोमिटर टाढा गएर रेल रोकिएको थियो ।

‘बुवा विरामी भएपछि उपचारका लागि रकम ल्याएर एक हप्ताअघि घर आएको हुँ’, उनले भने, ‘साथीका लागि जुट्दा त्यस्तो भयो’

रेलमा सुितरहेका लोथ्यालले, मलाई मार्योक, पिट्यो भन्दै अत्तालिएर हाम फालेको कम्मानले बताए । ‘राति नराम्रो सपना देखेर अचानक उठेछ, अनि समात्न खोज्दा खोज्दै हाम फालेछ’ कम्मानले भने । तीनैजना हामफालेका साथीलाई खोज्न विहान ४ बजे रेलबाट झरेर खोजीमा निस्किएका थिए ।

रेलको पटरी भएर हिँडिरहेका तीनै जनालाई विपरित दिशाबाट आएको रेलले किचेको बेंगलोर प्रहरीले खबर गरेको कम्मानले बताए । ‘जलापुर भन्ने स्थानमा आकाशे पुलमा रहेको रेलको पटरी भएर हिँडिरहेका रहेछन’, उनले भने, ‘विपरित दिशाबाट रेल आएछ, भाग्ने ठाउँ नहुँदा तीनै जनालाई किचेछ ।’

५९ वर्षीय देबदत्त विरामी थिए । बेंगलोरमा रहेका छोरा नवराजले उनलाई उपचारका लागि बोलाएका थिए । ‘आइतबार दिउँसो २ बजे दिल्लीको बसमा धार्चुलाबाट गएका हुन्, बुढा विरामी थिए’, कम्मानले भने, ‘बेंगलोरमा रहेको छोराकहाँ बसेर उपचार गराउन गएका थिए ।’

बेंगलोरमा रहेका छोरा नवराजले बुवाको अन्तेष्टि गरेका छन । ‘दार्चुलाबाट बेंगलोर पुग्न चार दिन लाग्छ’ कम्मानले भने, ‘त्यसैले त्यहीँ भएका आफन्तहरुले शव बुझेर विहीबार अन्तेष्टि गरेका छन् ।’

किसनका तीन छोरी र पत्नी छन् । अर्का मृतक लालसिंह कुवँरकी पत्नी र १ छोरी बेंगलोरमै छन् । किसन पनि बेंगलोरमा काम गरेर एक महिना अघिमात्रै घर आएका थिए ।

‘घरमा वर्खे खेतीपातीको काममा लागि आएको थिएँ’, कम्मानले टेलिफोनमा भने, ‘तर अहिले यस्तो सुन्नुपर्यो ।’ रेलबाट हाम फालेका लोथयाल भने गम्भीर घाइते भएका छन् ।

उनको जलापुरको अस्पतालमा उपचार भइरहेको महाराष्ट्रमा रहेका मृतक किसनसिंह कुवँरका आफन्त कैलाश कुवँरले जानकारी दिएको कम्मानले बताए ।

बेंगलोरमा सँगै काम गर्ने कैलाशलाई महाराष्ट्र प्रहरीले फोन गरेपछि मात्रै घटना थाहा भएको कम्मानले जानकारी दिए ।  एकै गाउँका तीन जनाको ज्यान गएपछि गाउँ शोकमा डुबेको छ ।


Published on: 11 July 2015 | Annapurna Post
 

Back to list

;