s

राहतमा वितरण नहुँदा विपन्न परिवार समस्यामा

राजेन्द्र कार्की

जाजरकोट : वडा समितिका पदाधिकारीले राहत वितरण गर्ने सूचीमा मापदण्ड विपरीत 'आफ्ना मान्छे' सिफारिस गरेपछि भेरी नगरपालिकाको राहत वितरण कार्य अलपत्र परेको छ । लकडाउन भएको लामो समय बितिसक्दा पनि राहत वितरण हुन नसकेपछि असंगठित श्रमिक र विपन्न नागरिक समस्यामा परेका छन् । 

राहत वितरणका लागि साँचिकै समस्यामा परेका नागरिकको लगत संकलनका लागि वडा समितिलाई जिम्मा दिएको थियो । वडा समितिले विपन्न र ज्याला मजदुरका साथै आफ्ना कार्यकर्ता र नातागोता समेत मिसाएर राहत वितरणको सूची तयार पारेपछि विवाद हुने भन्दै नगरपालिका राहत वितरण गर्न बाट पछि हटेको हो । 

राहत वितरणका लागि नगरभित्रका १३ वटा वडाबाट ८ हजार ४ सय ९० परिवारको सिफारिस आएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । वडाबाट सिफारिस आएका नाममा नगरकार्यपालिकाको बैठकमा छलफल हुँदा वास्तविक पीडितभन्दा अन्य व्यक्तिहरुको धेरै सूची आएपछि नगरपालिका तत्काल राहत वितरण नगर्ने निर्णयमा पुगेको प्रमुख प्रशाकिय अधिकृत घर्तीले बताए । 

उनले वडा समितिलाई पुनः तीन दिनभित्र नेपाल सरकारले जारी गरेको राहत वितरण कार्यविधि २०७६ अनुसार वास्तविक समस्या परेका नागरिकको सूची तयार गरी पेश गर्ने कार्यपालिकाले निर्देशन गरेको बताए । 

कार्यपालिकाले त्यसरी विवरण तयार पार्न दिएको तीन दिनको समायावधिभित्र ५ वटा वडाले मात्र पुनः लगत संकलन गरेर पठाएका छन् । अन्य ८ वडाले वितरण नपठाउँदा राहत वितरण गर्न सकिएको छैन उनले भने, 'केही परिवार साँच्चिकै समस्यामा छन् तर वडा समितिले अनावश्यक मानिसको लगत पठाउँदा राहत वितरण ढिलाइ भएको हो ।' 

नगरभित्र दुईदेखि तीन हजारको हाराहारीमा लकडाउनकै कारण चुल्हो बल्न नसकेको नगरकार्यपालिकाको निश्कर्ष छ तर सूची चार गुणा बढेर आउँदा समस्या भएको हो । राहत वितरणको सूची तयार गर्न जिम्मेवारी दिएका वडा सदस्यको बदमासीले गर्दा अनावश्यक रुपमा संख्या बढाइएको एक वडाध्यक्षले बताए । धेरैजसो वडा सदस्यले कार्यकर्ता र आफन्त खुसी पार्न विपन्न तथा मजदुरको सूचीमा उनीहरुलाई घुसाएको नगरपालिकाले जनाएको छ । 

राहत नपाउँदा विपन्न परिवार समस्यामा 

भेरी नगरपालिका ४ कि चन्द्रकला नेपालीको घरमा आगो बल्न छोडेको छ । खानेकुरा केही नहुँदा उनी धेरै दिनदेखि भोकभोकै छन् । 'दैनिक ज्यालामजदुरी गरेर आफू र परिवारको पेट पाल्दै आएकी थिए । लामो लकडाउनले निकै समस्या भयो,' उनले भनिन, 'छोराछोरी भोक लाग्यो भन्छन् । के खुवाउँ ? रोगले भन्दा भोकले मरिएला जस्तो भो ।' 

उनीजस्तै सोही ठाउँका दिलसरा शाही र रत्नबहादुर खड्काको अवस्था पनि उस्तै छ । उनीहरुको चुह्रो बल्न छोडेको छ । बिहान बेलुका हातमुख जोर्न समस्या भएपनि राहत कसैले नदिएको र आफूहरुको पीडा कसैले नबुझेको उनीहरुको गुनासो छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले लडकडाउन गरेको तीन साता विति सकेको छ । यस अवधिमा दैनिक ज्यालामजदुरी गरी गुजरा चलाउँदै आएका परिवार काममा निस्कन पाएका छैनन् । 

जसका कारण उनीहरुको चुल्हो समेत बल्न छोडेको छ तर खाद्यन्न व्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकारले समयमा राहत नबाँड्दा विपन्न तथा ज्याला मजदुरी गर्ने परिवार निकै समस्यामा परेका छन् ।भेरी नगरपालिकाका विपन्न तथा ज्यालामजदुर गर्ने परिवारले कुनै पनि ठाउँबाट राहत पाएका छैनन् । उनीहरुले आफूहरु भोकभोकै परिरहेको गुनासो गरिरहेका छन् ।

Published: 27 April 2020 | Annapurna Post

Link

Back to list

;