s

राहतले धानिँदै मजदुर

प्रदेश ब्युरो 

बुटवल — भुइँमा चामल, दाल, नुन, तेल र तरकारीका थुप्रा । कोहलपुर नगरपालिका–१२ दाउन्नाकी लालसरी बाटाले १५ किलो चामलको बोरा जुरुक्क उठाइन् । उनका कान्छा नातिले नुनको पोको टिपे । माइला नातिले दुई किलो मसुराको दाल समाए । साइला नातिको भागमा बन्दागोभी र आलु पर्‍यो । केही दिनअघि राहतमा खाद्यान्न प्राप्त गरेपछि लालसरीको परिवार खुसी थियो । राहत सामग्री बोकेर हजुरआमासँग लुटपुटिँदै घर फर्किए । उनीहरू चामल देखेर दंग थिए । कान्छा नाति कालेले बज्यैको मुख हेर्दै भने, ‘आमै आज भात पकाऊ है ।

’उनीहरूको भान्सामा केही दिनदेखि भात पाकेको थिएन। गहुँका रोटीले लकडाउन कटाइरहेका उनीहरू चामल पाउँदा हर्षित देखिए। आफ्ना दुई छोरी र तिनका सन्तान गरी सात जनाको परिवार पाल्दै आएकी लालसरी एकल हुन्। श्रीमान्को एक दशकअघि मृत्यु भइसकेको छ। एक्लै ज्याला मजदुरी गरेर परिवार धान्दै आएकी थिइन्। लकडाउनपछि आम्दानी ठप्प भयो। लकडाउका लागि उनले २० किलो चामल, तीन किलो दाल जोडेकी थिइन्। तर उक्त खाद्यान्न एक साता पनि टिकेन। पसलबाट उधारोमा पिठो ल्याएर तीन दिन कटाइन्। लामो अवधिको लकडाउनले उनी जस्ता यहाँका मजदुर मर्कामा परेका छन्। काम नगरी चुलो बल्दैन।

कोहलपुर–११ स्थित एकीकृत बस्तीका गन्धर्व लकडाउनमा बेखर्ची बनेका छन्। सारंगी रेट्दै जीविकोपार्जन गरिरहेका गन्धर्व घरमै बस्न बाध्य छन्। ‘सारंगी थन्कियो, पेट कसरी पाल्ने,’ ६८ वर्षीय वीरबहादुर गन्धर्वले भने, ‘जति लकडाउन बढ्यो, उति गाह्रो हुन्छ।’ समस्यामा परेपछि मंगलबार उक्त बस्तीका २५ घरलाई खाद्यान्न वितरण गरियो। कोहलपुर–११ का वडाध्यक्ष कर्णबहादुर थापाले सबैभन्दा संकटमा गन्धर्व समुदाय परेको बताए।

दैनिक ज्याला मजदुरी गर्नेलाई समस्या भएपछि पाल्पामा पाँच हजार परिवारलाई राहत वितरण गरिएको छ। जिल्लाका १० स्थानीय तहले मापदण्ड बनाएर राहत दिएका हुन्। ज्याला मजदुरी गर्ने, घरमा अन्नको जाहो गर्न नसक्ने परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गरिएको स्थानीय तहले जनाएका छन्। तानसेन नगरपालिकामा १ हजार २ सय ७० र रामपुर नगरपालिकामा १ हजार ६६ जनालाई राहत वितरण गरिएको छ।

निस्दी गाउँपालिकामा ३ सय ३२, रैनादेवी छहरामा तीन सय, रम्भामा १ सय ६०, पूर्वखोलामा २ सय ४९, माथागढीमा ६ सय परिवारले राहत पाएका छन्। तिनाउले ३ सय ८५, बगनासकालीले ३ सय ८० र रिब्दीकोटले २ सय ८ परिवारलाई राहत वितरण गरेको छ। 

विभिन्न वडाका २ सय ८४ परिवारका साथै ४८ जना सडक तथा भौतिक निर्माणका क्रममा अलपत्र परेकालाई समेत राहत वितरण गरिएको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान् अर्यालले जानकारी दिए। कामदारलाई चामल, दाल, नुन, तेल, साबुन, जिरा दिइएको छ। सामाजिक दूरी कायम गरी गाउँपालिकाले वडा कार्यालयको समन्वयमा वडावडाबाट राहत वितरण गरिएको अध्यक्ष मुक्तबहादुर सारूले बताए। माथागढीमा अति विपन्न श्रमिक, अपांगता भएका र संरक्षक नभएका ७० वर्ष माथिका ज्येष्ठ नागरिकको लगत संकलन गरी खाद्य सामग्री वितरण गरिएको अध्यक्ष सन्तोष थापाको भनाइ छ।

पूर्वखोला गाउँपालिकाले लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् भनी राहत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले बताए। ‘कोही विपन्न परिवार नदोहोरियोस् र नछुटोस् भनेर वडागत रूपमा तथ्यांक संकलन गरिएको छ,’ उनले भने, ‘प्रत्येक वडा कार्यालयले राहतस्वरूप खाद्यान्न वितरणका लागि वडाको पायक पर्ने पसलका लागि कुपन दिएको छ।’ गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार परिवारमा सात जनाभन्दा बढी सदस्य छन् भने ३० केजी चामल, तीन केजी दाल, दुई लिटर तेल, दुई पोका नुन र चार वटा साबुन दिइएको छ। राहत लिन आउँदा दुई मिटरको दूरी कायम गरी पसलबाट खाद्यान्न लिने दिने व्यवस्था मिलाइएको उनले बताए। रामपुर नगरपालिकाले टोलटोलमा पुगेर खाद्यान्न वितरण गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए।

लकडाउनको अवधि थपिएपछि रोल्पाका स्थानीय तहले विपन्न र मजदुरलाई खाद्यान्न वितरण गर्न थालेका छन्। उनीहरूले मजदुर र विपन्नलाई एक सातासम्म खान पुग्ने चामल, दाल र नुन बाँडेका हुन्। रोल्पा नगरपालिकाले नगरभित्रका १० वटै वडाका विपन्न र मजदुरलाई मंगलबारदेखि खाद्यान्न वितरण थालेको हो। हरेक व्यक्तिलाई तीन किलो चामल र दाल बाँडिएको नगर प्रमुख पूर्ण केसीले बताए।

सबै वडामा रहेका विपन्न र मजदुरको पहिचान गरेर खाद्यान्न बाँड्न थालिएको उनले जानकारी दिए। नगरले अति विपन्न, मजदुर र गरिबलाई लकडाउनका बेला आपत् नपरोस् भनेर खाद्यान्न बाँड्न थालेको रोल्पा–४ का वडाध्यक्ष नवराज आचार्यले बताए। ‘अति विपन्न परिवारलाई मुख्य प्राथमिकता दिएका छौं। उनीहरूको चुलो ननिभोस् भन्ने ठानेका छौं।’ 

रोल्पा सदरमुकाम रहेको यस वडामा धेरै विपन्न र मजदुर छन्। लिबाङ बजार यसैमा पर्छ। जिल्ला विपद् समिति, सुरक्षा समिति र सर्वपक्षीय बैठकहरूमा समेत विपन्नलाई खाद्यान्न बाँड्न आवश्यक भएकोबारे छलफल भएपछि नगरले विपन्न र गरिबलाई खाद्यान्न बाँड्ने निर्णय गरेको हो। नगरले विपन्नको पहिचान गर्न जनप्रतिनिधिका अतिरिक्त दलका नेता, आमा समूहका सदस्य र स्थानीय भद्रभलाद्मीबीच बैठक गरेको थियो। सबै वडाका मजदुर र विपन्न परिवारको पहिचान गर्दा निश्चित मापदण्ड बनाइएको नगर प्रमुख केसीले बताए। पहिलो चरणमा केही मात्रामा चामल, नुन, तेल र दाल दिए पनि पछिसम्म बिर्सन नहुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको भनाइ छ। 

वितरणमै समस्या

बर्दियामा हुनेखानेको नाम राहत लिनेको सूचीमा परेपछि वितरणको काम रोकिएको छ। बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले निराश हुँदै सामाजिक सञ्जालमा स्टाटस लेखे, ‘राहत प्राप्तिका लागि आकांक्षी धेरै भएका कारण बढैयाताल गाउँपालिका–३ र ४ मा वितरण कार्य रोकिएको हो। साँझ–बिहानको चुलो निभेकाहरू अहिले मर्कामा परेका छन्। सबैको सहयोगको अपेक्षासहित राहत लिनेको सूची तयार गर्न वडाध्यक्षहरूलाई जिम्मा दिइएको थियो। तर दुई छाक सहजै खान पुग्नेहरूले विरोध जनाए। जसका कारण साँझ–बिहान चुलो बाल्न समस्या भइरहेका परिवार अन्यायमा परेका छन्।’

एउटै वडाबाट दुई–चार सय परिवारले राहत मागेपछि स्थानीय सरकारलाई राहत वितरणमा समस्या परेको हो। विवाद नभएपछि उक्त पालिकाको वडा ७ र ५ मा भने राहत वितरण भइसकेको छ। ‘हाम्रो उद्देश्य भनेको अहिले दुई छाक खान चुलो बाल्न नसक्ने परिवारका लागि राहत बाँडिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘तर थुप्रै राहत लिन उभिए। यसले पाउनुपर्ने परिवारले पनि राहत पाउन सकेनन्।’ अति विपन्न परिवारलाई २५ किलो चामल, दुई किलो दाल, आलु, नुन र एक लिटर तेल सहयोग गरिएको उनले बताए।

बाँसगढी नगरपालिका–४ मा राहत लिनका लागि चार सय परिवारको नाम पुगेपछि वितरणमा विवाद भएको हो। एउटै वडामा यतिको संख्या देखिएपछि नगरपालिकालाई राहत वितरणमा समस्या भएको हो। अन्य वडामा पनि उस्तै समस्या छ। एउटा वडाबाट ३०/४० परिवार दुई छाक चुलो बाल्न नसक्ने अवस्थाका रहेको अनुमान गरिएको थियो। वडाध्यक्षलाई घरमै पुगेर पारिवारिक अवस्था बुझ्न भनिएको छ। ‘तर समस्या भने उल्झेको छ। राहत लिनका लागि धेरैले नाम लेखाइरहेका छन्। यस्तो अवस्थामा राहत वितरणमा समस्या परेको हो,’ बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर खत्रीले भने, ‘वडाध्यक्षहरूलाई वास्तविक विवरण लिएर राहत वितरण गर्न अनुरोध गरेका छौं। खान पुग्नेहरूको नाम हटाएर राहत वितरण हुन्छ।’

अन्य वडामा पनि हुनेखानेहरूले पनि राहत लिन नाम लेखाएको उनको भनाइ छ। ठाकुरबाबा नगरपालिकामा पनि राहत वितरणमा उस्तै समस्या छ। आवश्यकभन्दा बढीले नाम लेखाउँदा विपन्न परिवार समस्या परेका छन्। वडा २ मा विवादका कारण राहत वितरण गर्न नसकिएको नगरपालिका प्रमुख घननारायण श्रेष्ठले बताए। वडाध्यक्षलाई वास्तविक विपन्न छनोट गर्न दिएको उनले जनाए। ‘घरभित्रै पुगेर खाद्यान्नको अवस्था के छ बुझ्न भनेका छौं,’ उनले भने। अन्य वडामा पनि राहतका लागि विवाद भए पनि अहिले सुल्झिएको छ। बारबर्दिया नगरपालिकाले एउटा वडामा ३० देखि ७० परिवारलाई राहत वितरण गरिरहेको छ। 

राहतमा ढिलाइ 

नेपालगन्ज उपमहानगर–१२ मुस्लिम टोलकी सुधामा बाडिया राहत लिन वडा कार्यालय पुगिन्। बिहान् दुई घण्टा पर्खेर पनि उनले राहत पाइनन्। राहतका लागि वडा कार्यालय पुग्नु अनि रित्तो हात फर्कनु उनको दैनिकी बनेको छ। पतिको मृत्युपछि एक स्कुलमा सहयोगीको काम गरिरहेकी उनी स्कुल बन्द भएपछि काममा जान पाएकी छैनन्। 

‘छाक टार्न मुस्किल भयो,’ राहत थाप्न हातमा झोला बोकेर आएकी बाडियाले भनिन्, ‘गरिबको मर्का कसैले बुझेनन्।’ उनका दुई छोरी छन्। उनीसँगै आएकी चाँदनी बाडियाको पनि उस्तै समस्या छ। पति कारागारमा छन्। उनी भेरी प्राविधिक शिक्षालयको क्यान्टिनमा काम गर्छिन्। लकडाउनका कारण क्यान्टिन बन्द छ। दुई छोरासँगै मुस्लिम टोलमा बस्दै आएकी उनलाई छोराहरूको भोक मेटाउन मुस्किल परेको छ। 

‘घरबाट बाहिर निस्कन पाइनँ। कसैले घरमा समेत काम गर्न दिँदैनन्,’ उनले भनिन्, ‘छोराहरूको भोक मेटाउन पनि मुस्किल छ।’ उनीहरूसँगै वडाले राहत दिने भनेकाले वडा कार्यालयमा हूल बाँधेर महिलाहरू पुगेका थिए। ‘अरू वडामा राहत बाँडिए पनि यहाँ पाइएको छैन,’ पप्पु चिडीमारले भने, ‘थारै भए पनि केही राहत बाँड्नुपर्ने हो।’ उनका अनुसार केही दिनयता राहतका लागि मान्छे आउने र फर्किने गरेका छन्। वडा कार्यालय छेउमा घर भएकी राजकुमारी कशौधनले राहत वितरणका लागि वडालाई भनिरहेको बताइन्।

Published on: 14 April 2020 | Kantipur

Link

Back to list

;